२५ वैशाख, न्युयोर्क । अमेरिकाको ओहायोस्थित गैरआवासीय नेपालीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली मूलका नागरिकलाई विशेष डेस्कको व्यवस्था गरेकामा खुसी व्यक्त गरेका छन् ।
एसोसिएसन अफ नेपाली ओरिजिन(एएनओ) ले एक कार्यक्रमकाबीच नेपाल सरकारले काठमाडौं विमानस्थलको प्रस्थान र आगमन कक्षमा नेपाली मूलका नागरिकका लागि छुट्टै डेस्कको व्यवस्था गरेकामा सरकारलाई धन्यवाद दिएको छ ।
एएनओका अध्यक्ष डिल्ली अधिकारीले अमेरिकास्थित नेपाली कार्यवाहक राजदूत शरदराज आरणलाई समारोहका बीचमा धन्यवाद पत्र प्रदान गरेका छन् ।
नेपाल सरकारले गत चैत्र ८ मा निर्णय गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली मूलका नागरिकहरूका लागि छुटै डेस्क स्थापना गर्ने निर्णय गरेको थियो ।
‘एएनओको विशेष पहल र निवेदनलाई हृदयंगम गरी सरकारले चालेको यो कदमले विश्वभर छरिएर रहेका नेपालीमूलका समुदायमा मातृ तथा पितृभूमिप्रतिको भरोसा र अपनत्वलाई थप प्रगाढ बनाएको छ,’ धन्यवाद पत्रमा उल्लेख छ ।
यो सम्बन्ध केवल भौगोलिक सीमा वा राहदानीमा मात्र सीमित नहुने पत्रमा उल्लेख छ । ‘यो त हाम्रो पुर्खाको इतिहास, हाम्रो पहिचान र भावनात्मक अस्तित्वसँग जोडिएको अटुट बन्धन हो । विमानस्थलमा पाइला टेक्नासाथ आफ्नै देशले गरेको यो न्यानो स्वागत र सम्मानले हामीलाई केवल सुविधा मात्र दिएको छैन, बरु हामी जहाँ भए पनि, नेपाल हाम्रो साथमा छ भन्ने आत्मीय अनुभूतिसमेत दिलाएको छ,’ पत्रमा अगाडि भनिएको छ , ‘नेपाली मूललाई नेपालसँग जोड्ने हाम्रो साझा अभियानमा यो निर्णयले नयाँ ऊर्जा र प्रेरणा प्रदान गरेको छ । यसले भावी पुस्तालाई समेत आफ्नो जरा र माटोप्रति गर्व गर्ने वातावरण सिर्जना गर्ने छ भन्ने हाम्रो विश्वास छ ।’
समारोहमा गैरआवासीय नेपालीसम्बन्धी विधेयक २०८२ को पहिलो मस्यौदामा नेपाली मूलका नागरिकप्रति भेदभाव गरिएको भन्दै नेपाल सरकारको ध्यानाकर्षण गराइएको थियो ।
अध्यक्ष अधिकारीले कार्यवाहक राजदूतलाई त्यसबारे ध्यानाकर्षण पत्र नै हस्तान्तरण गरेका थिए । जसमा संसारको जुन मुलुकमा जन्मे पनि विश्वभरका नेपाली मूलका मानिसहरूलाई नेपाली मूलको परिचय पत्र नेपाल सरकारले भेदभाव नगरी दिनुपर्ने उल्लेख छ ।
प्रतिक्रिया 4