News Summary
Generated by OK AI. Editorially reviewed.- नेता झक्कुप्रसाद सुवेदीले सरकारले संसद्को सर्वोच्चतालाई अवमूल्यन गर्दै अध्यादेशमार्फत शासन सञ्चालन गर्न खोजेको आरोप लगाएका छन्।
- सुवेदीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेशको गणितीय र कानुनी त्रुटि भएको र शक्ति पृथकीकरणमाथि चुनौती थपिएको बताए।
- सुकुमवासी व्यवस्थापनमा सरकारले मानवीय संवेदना गुमाएको र डोजर चलाएर आतंक सिर्जना गरेको भन्दै मानवता विरोधी अपराधको संज्ञा दिएका छन्।
२८ वैशाख, काठमाडौं । राष्ट्रिय सभामा नेपाली कम्युनिस्ट पार्टीका संसदीय दलका नेता झक्कुप्रसाद सुवेदीले सरकारले संसद्को सर्वोच्चतालाई अवमूल्यन गर्दै अध्यादेशमार्फत शासन सञ्चालन गर्न खोजेको आरोप लगाएका छन् ।
राष्ट्रिय सभाको चालु अधिवेशनलाई सम्बोधन गर्दै नेता सुवेदीले जननिर्वाचित प्रतिनिधिहरूको सामूहिक विवेकलाई अपमान नगर्न सरकारलाई सचेत गराए ।
बैठकमा बोल्दै सुवेदीले संसद् अधिवेशन आह्वान भइसकेको अवस्थामा बैठक नै प्रारम्भ नभई हठात अध्यादेश ल्याइनु लोकतान्त्रिक मूल्य, मान्यता र बहुदलीय राजनीतिक प्रणालीको परम्परा विपरीत भएको बताए ।
नेता सुवेदीले संविधानको धारा ११४ ले तत्काल केही गर्न आवश्यक परेको अवस्थामा मात्र अध्यादेशको परिकल्पना गरेको स्मरण गराउँदै सरकारले शक्तिको दुरुपयोग गरेको बताए ।
विशेषगरी संवैधानिक परिषद् सम्बन्धी अध्यादेशको आलोचना गर्दै उनले ६ सदस्यीय परिषद्मा तीन जनालाई बहुमत मान्ने प्रावधान गणितीय र कानुनी रूपमै त्रुटिपूर्ण रहेको बताए ।
सरकारले न्यायपालिका र व्यवस्थापिकाको अधिकार समेत कार्यपालिकाले नै प्रयोग गर्न खोजेको भन्दै उनले शक्ति पृथकीकरणको सिद्धान्तमाथि चुनौती थपिएको बताए ।
उनले भने, ‘सदनलाई छलेर अध्यादेश ल्याउने प्रक्रिया लोकतन्त्रको खिलापमा छ । दुई तिहाइ बहुमतको समर्थन प्राप्त सरकारले गम्भीर विषयमा अध्यादेशको सहारा लिनुले नेपाली राजनीतिमा नयाँ प्रश्न उब्जाएको छ । दशौँ लाख सुकुम्बासीलाई रुवाएर देश हाँस्न सक्दैन, विस्थापन अघि उचित व्यवस्थापन गर्नु सरकारको दायित्व हो, तर सरकार दमनमा रमाएको देखिन्छ ।’
नेता सुवेदीले सुकुमवासी व्यवस्थापनका नाममा सरकारले मानवीय संवेदना गुमाएको टिप्पणी गरे ।
उचित विकल्प र व्यवस्थापन बिना नै डोजर चलाएर आतंक सिर्जना गरिएको भन्दै उनले यसलाई ‘मानवता विरोधी अपराध’ को संज्ञा दिए ।
बागमती किनारामा भएको मृत्यु र सुकुमवासीहरूको आत्महत्याका घटनाको जिम्मा सरकारले लिनुपर्ने उनको भनाइ छ ।
प्रतिक्रिया 4