३ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रसुवामा नयाँ जिल्ला समिति गठन गरेको छ । यसअघि समितिलाई भंग गरेको रास्वपाले शनिबार वसन्त भट्टको नेतृत्वमा नयाँ समिति बनाएको हो ।
उपसभापतिमा दावा लामा, सचिवमा रविन्द्र लोप्चन,सह सचिवमा रविन्द्र तामाङ चयन भएका छन् । सदस्यहरुमा निर्मन घले, सानुमाया तामाङ, सुशील खतिवडा, युवराज घले र कृष्णबहादुर घले छन् ।
नयाँ नेतृत्व चयनका लागि पार्टीले स्वस्तिका लामिछानेको नेतृत्वमा निर्वाचन समिति गठन गरेको थियो । तीन सदस्यीय निर्वाचन समितिका थप दुई सदस्यमा इन्दिरा गौतम र जानुका सुवेदी थिए ।
रसुवा जिल्ला भेला तथा तदर्थ समिति गठन गर्नका लागि केन्द्रीय तहका नेताहरु पुगेका थिए । महामन्त्री भूपदेव शाह सहित संगठन विभागका सचिव शंकर श्रेष्ठ, सांसद यज्ञमणि न्यौपाने, बागमतीका सभापति डा. अच्यृत्तम लामिछाने, बागमती महामन्त्री सुरेन्द्र भट्ट लगायतका नेताहरु रसुवा पुगेका थिए ।
भेलामा बोल्ने क्रममा महामन्त्री शाहले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वको सरकारले उत्कृष्ट सुरुवात गरेको दाबी गरे । ‘अहिले हामीले काम गरिराख्या छौं । म यो भन्दिन कि, हामी सफल भइसक्यौ । हामीले जनताका अपेक्षा पुरा गरिसक्यौ म भन्दिन तर त्यसको सुरुवात उत्कृष्ट भएको छ,’ शाहले भने ।
देश विकासका लागि तीनै तहको सरकारमा रास्वपा हुनुपर्ने उनले बताए । ‘त्यही भएर आसन्न प्रदेश सभामा पनि राष्ट्रिय स्वतन्त्र पार्टीले सातवटै प्रदेशमा सरकार बनाउनु पर्ने आवश्यकता छ’, शाहले भने,‘स्थानीय तहमा पनि अधिकांश स्थानीय तहहरु जित्नुपर्ने हाम्रो आवश्यकता र यो देशको बाध्यता छ । त्यही भएर हामीले संघीय निर्वाचन मात्र जितेको हो देशले जित्न अझै बाँकी छ ।’
प्रतिक्रिया 4