+
+
Shares

सगरमाथा आरोही कामिरिता र लाक्पा शेर्पालाई प्रधानमन्त्रीको बधाई

प्रधानन्त्री बालेन शाहले सर्वोच्च शिखर सगरमाथा आरोहणमा कीर्तिमान बनाएका कामिरिता शेर्पा र लाक्पा शेर्पालाई बधाई दिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ३ गते १६:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री बालेन शाहले कामिरिता शेर्पा र लाक्पा शेर्पालाई ३२औं र ११औं पटक सगरमाथा आरोहण सफलतापूर्वक पूरा गरेकोमा बधाई दिएका छन्।
  • कामिरिता शेर्पाले बिहान १०:१२ बजे र लाक्पाले बिहान साढे ९ बजे सगरमाथा आरोहण गरेका थिए।
  • प्रधानमन्त्री शाहले शेर्पा समुदायको हिमाल आरोहणमा योगदानलाई 'हिमालयका अदृश्य नायक' भनेका छन् र नेपालको पर्वतीय पर्यटनमा उनीहरूको योगदानलाई महत्व दिएका छन्।

३ जेठ, काठमाडौं । प्रधानन्त्री बालेन शाहले सर्वोच्च शिखर सगरमाथा आरोहणमा कीर्तिमान बनाएका कामिरिता शेर्पा र लाक्पा शेर्पालाई बधाई दिएका छन् ।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत ३२औं पटक सगरमाथाको सफल आरोहण गरेका कामिरिता र ११ औं पटक सगरमाथा आरोहण गरेकी लाक्पालाई बधाई दिएका हुन् ।

कामिरिताले आज बिहान १०:१२ बजे र लाक्पाले बिहान साढे ९ बजे सगरमाथा आरोहण गरेका हुन् ।

‘विश्वको सर्वोच्च शिखर सगरमाथा केवल एउटा भौगोलिक उचाइको अवयव मात्रै होइन, नेपालको आत्मसम्मान, साहस, धैर्य र हिमाली सभ्यताको सर्वोच्च प्रतीक हो। यही गौरवशाली हिमालमाथि आज नेपाली आरोहीहरूले पुनः इतिहास लेखेका छन्,’ बालेनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्,’निरन्तरको अदम्य साहस, कठोर आत्मअनुशासन र कर्मप्रतिको इमान्दार समर्पणले मात्रै यस्तो ऐतिहासिक सफलता प्राप्त हुन सक्दछ । खुसीको यो क्षणलाई सबैजनासँग साझा गर्दै दुबैजना आरोहीलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।’

उनले नेपालको पर्वतारोहण इतिहासमा शेर्पा समुदायको योगदान असाधारण रहेको भन्दै भनेका छन्, ‘हिमाललाई ईश्वरझैं पुजन गर्ने, जोखिमलाई जिम्मेवारीका रूपमा स्वीकार गर्ने, र विश्वभरका आरोहीलाई सुरक्षित रूपमा शिखरसम्म पुर्‍याउने शेर्पाहरू वास्तवमै हिमालयका अदृश्य नायक हुन् । उनीहरूको साहस, ज्ञान र श्रमबिना हिमालको गौरव अधुरो रहन्छ ।’

उनीहरूको आरोहणले नेपालको पर्वतीय पर्यटनलाई अझ विश्वसनीय र गौरवपूर्ण बनाउँदै अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान अझै उज्यालो बनाउने विश्वास लिएको बताएका छन् ।

कामिरिता सगरमाथाका शिखरमा सबैभन्दा धेरैपटक पुग्ने आरोही हुन् । त्यस्तै लाक्पा सबैभन्दा धेरैपटक सगरमाथा शिखरमा पुग्ने महिला आरोही हुन् । उनलाई एभरेष्ट क्वीनसमेत भनिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?