+
+
Shares

कन्सल्टेन्सीहरूमा भइरहेको अनुगमनप्रति फेकनको समर्थन

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ४ गते १९:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्वतन्त्र शैक्षिक परामर्श संघ, नेपालले नेपाल प्रहरीले गरिरहेको अनुगमन प्रक्रियालाई सकारात्मक रूपमा स्वागत गरेको छ।
  • संघले कानुनी प्रक्रिया पूरा गरेका व्यवसायीहरूलाई अनावश्यक समस्या नपर्नेगरी संवेदनशीलता र समन्वयका साथ अनुगमन गर्न सरकारसँग आग्रह गरेको छ।
  • संघले अनुसन्धानमा रहेका व्यवसायीहरूको व्यक्तिगत विवरण सार्वजनिक नगर्न प्रशासन र सञ्चारमाध्यमसँग अनुरोध गरेको छ।

४ जेठ, काठमाडौं । स्वतन्त्र शैक्षिक परामर्श संघ, नेपाल (फेकन) ले शैक्षिक परामर्श संस्थाहरूमा नेपाल प्रहरीले गरिरहेको अनुगमन तथा निगरानी प्रक्रियालाई सकारात्मक रूपमा लिँदै स्वागत गरेको छ ।

साथै, कानुनी प्रक्रिया पूरा गरेका व्यवसायीहरूलाई अनावश्यक रूपमा समस्या नपर्नेगरी संवेदनशीलता र समन्वयका साथ अनुगमन गर्न सरकारसँग आग्रह गरेको छ ।

फेकनले एक प्रेस विज्ञप्ति जारी गर्दै शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित, पारदर्शी, मर्यादित र विश्वसनीय बनाउन प्रभावकारी अनुगमन र नियमन आवश्यक रहेको आफ्नो धारणा दोहोर्‍याएको छ ।

संघका अनुसार यस क्षेत्रका व्यवसायीहरूले नैतिक अभ्यास (इथिकल प्राक्टिस) अवलम्बन गर्दै विद्यार्थी तथा अभिभावकको विश्वास कायम राख्नुपर्छ ।

विदेश अध्ययनका क्रममा विद्यार्थीहरूले बुझाउने ट्युसन फि तथा अन्य शुल्कहरू नेपाल सरकारबाट नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) प्राप्त गरी बैंकिङ प्रणालीमार्फत विद्यार्थी स्वयंले सम्बन्धित शैक्षिक संस्थामा पठाउने भएकाले धरौटी वा अनावश्यक अतिरिक्त शुल्कका विषयमा भ्रम सिर्जना गर्नु उचित नहुने उल्लेख गरिएको छ ।

संघले कतिपय शैक्षिक परामर्श संस्थाहरूले सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरे पनि प्रदेश सामाजिक विकास मन्त्रालय, शिक्षा सम्बन्धी निकाय तथा अनुमति दिने सरकारी कार्यालयहरूबाट समयमै नवीकरण, दर्ता तथा स्वीकृतिपत्र प्राप्त गर्न नसक्दा व्यावसायिक कठिनाइ भोग्नुपरेको जनाएको छ ।

यस्तो अवस्थामा सम्बन्धित निकायहरूसँग यथार्थ बुझेर मात्र थप समन्वयका साथ अनुगमन गर्न प्रहरी प्रशासनलाई आग्रह गरिएको छ ।

त्यस्तै, अनुसन्धान वा सोधपुछको प्रक्रियामा रहेका व्यवसायीहरू अदालत वा सम्बन्धित निकायबाट दोषी प्रमाणित नभएसम्म उनीहरूको व्यक्तिगत विवरण, तस्वीर वा संस्थागत पहिचान सार्वजनिक नगर्न संघले प्रशासन र सञ्चारमाध्यमसँग अनुरोध गरेको छ ।

यसले व्यवसायीहरूको गोपनीयता, प्रतिष्ठा र मनोबलमा असर पर्ने फेकनको भनाइ छ ।

फेकनका अध्यक्ष उमेश कुश्वार र महासचिव दीपेन्द्र पोख्रेलले जारी विज्ञप्तिमा शैक्षिक परामर्श क्षेत्रलाई अझ जिम्मेवार, व्यवस्थित, पारदर्शी तथा विद्यार्थीमैत्री बनाउन सरकार, सरोकारवाला निकाय र व्यवसायीहरूसँग सहकार्य गर्न संघ प्रतिबद्ध रहेको उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?