News Summary
Generated by OK AI. Editorially reviewed.- मोरङको तीनवटा क्रसर र बालुवा प्रशोधन उद्योगले अनुमति विपरीत काम गरेको पाइएपछि जिल्ला अनुगमन समितिले कारबाही गरेको छ।
- कान्तिपुर वासिङ प्रालि उद्योगलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको र कर छली अनुसन्धानका लागि आन्तरिक राजस्व कार्यालयलाई पत्र पठाइएको छ।
- मोरङको लोहन्द्रा खोलामा अवैध गिटी बालुवा उत्खनन रोक्न मेसिन प्रयोगमा प्रतिबन्ध लगाइएको र अनुगमन समिति गठन गरिएको छ।
८ जेठ, विराटनगर । एउटा कामका लागि अनुमति लिएर अर्कै काम गरिरहेको पाइएपछि स्थानीय प्रशासनले मोरङका दुई वटा क्रसर उद्योग बन्द गरेको छ । एउटालाई जरिवाना गराएको छ ।
जिल्ला अनुगमन समितिले मापदण्ड विपरीत र अवैध रुपमा सञ्चालित जिल्लाका तीनवटा क्रसर तथा बालुवा प्रशोधन उद्योगमाथि कारबाही गरेको हो ।
बेलबारी र मिक्लाजुङ क्षेत्रमा सञ्चालित तीन उद्योगले अनुमति विपरीत काम गरिरहेको पाइएपछि कारबाही गरेको जिल्ला अनुगमन समिति मोरङले जनाएको छ ।
जिल्ला समन्वय अधिकारी जानुका न्यौपानेका अनुसार बेलबारीमा रहेको कान्तिपुर वासिङ प्रालि नामको क्रसर उद्योगलाई ५० हजार जरिवाना गरिएको छ । कर छली गरेको भेटिएपछि अनुसन्धानका लागि आन्तरिक राजस्व कार्यालयलाई पत्र पनि पठाइएको छ ।
बालुवा प्रशोधन (वासिङ)को मात्र अनुमति पाएको यो उद्योगले अवैध रुपमा क्रसिङ (गिट्टी निकाल्ने) काम गरिरहेको भेटिएपछि गत चैत ३० गते बन्द गराइएको थियो । औद्योगिक व्यवसायिक ऐन अनुसार ५० हजार रुपैयाँ जरिवाना पछि बालुवा वासिङका लागि सञ्चालन अनुमति दिएको छ ।
बैशाख ३१ गतेको जिल्ला अनुगमन समितिको बैठकले बालुवा प्रशोधनको काम मात्रै गर्न अनुमति दिएको उनले बताइन् । समितिले अनुमति बिना क्रसिङ गरी ढुंगागिटी उत्खनन गेर विक्री गरेको पाइएपछि छानविनका लागि आन्तरिक राजस्व कार्यालयलाई पत्र लेखेको उनले जानकारी दिइन् ।
यसैगरी मोरङको लेटाङमा रहेको महाभगवती क्रसिङ प्रालि दर्ता विना सञ्चालनमा रहेको पाइएपछि सो उद्योग बन्द गराइएको छ । सो उद्योगका सन्चालकले उद्योग विभाग र घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएको प्रमाण पेश गर्न नसकेको उनले बताइन् । उनका अनुसार अनुगमनका क्रममा यो उद्योगले पनि ठूलो परिणाममा ढुंगागिटी निकालेर बिक्री गरेको भेटिएको थियो ।
मोरङको मिक्लाजुङमा रहेको देवीथान कङ्क्रिट उद्योगले पनि अनुमति बिना क्रसिङ गरिरहेको पाइएको थियो । वैशाख २३ गतेको स्थलगत अनुगमनका क्रममा उद्देश्य विपरीत कार्य गरेको पाइएपछि त्यसलाई सिल गरेको जिल्ला समन्वय अधिकारी न्यौपानेले बताइन् ।

उद्योगसँग अनिवार्य हुनुपर्ने प्रारम्भिक वातावरणीय परीक्षण नगरी उत्खनन गरिरहेको भेटिएको थियो । कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता नभए पनि ढुंगागिटी प्रालिको नाममा बिल काटेर बिक्री गरेको थियो ।
यो उद्योगले पनि वासिङको मात्रै अनुमति लिएको थियो । बालुवा प्रसोधन, ह्युमपाइप निर्माण, विजुलीको पोल निर्माण, कंक्रिट इटा बनाउने अनुमति लिएको उद्योगले ढुंगागिटी उत्खनन गरेको भेटिएपछि बन्द गरेको हो ।
जिल्ला अनुगमन समितिले मोरङको लोहन्द्रा खोलाको ग्रामथान क्षेत्रमा गिटी बालुवा उत्खननका लागि मेसिन प्रयोगमा रोक लगाएको छ । अनुमति नलिइ जथाभावी उत्खनन गरेको गुनासो आएपछि मेसिनको प्रयोग गर्न रोक लगाएको मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले जानकारी दिए ।
लोहन्द्रा खोलाको ग्रामथान खण्डमा अवैध उत्खननको विषयमा रिपोर्टिङ गर्न पुगेका पत्रकारलाई दुर्व्यवहार गरेको विषय बाहिर आएपछि जिल्ला अनुगमन समितिले तत्काललाई मेसिन प्रयोग गर्न रोक लगाउँदै अनुगमन समिति पनि गठन गरेको उनले बताए ।
प्रतिक्रिया 4