News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेत्री वर्षा सिवाकोटी नयाँ फिल्म 'गंगा रानी' को मुख्य भूमिकाका लागि अनुबन्धित भएकी छन् ।
- निर्माण पक्षले फिल्मका अन्य आवश्यक पात्रहरूका लागि आगामी २० जेठसम्म आवेदन दिन आह्वान गरेको छ ।
- राजबहादुर सानेको निर्देशन रहने उक्त फिल्मको छायाङ्कन आगामी भदौ दोस्रो सातादेखि शुरू हुनेछ ।
काठमाडौं । अभिनेत्री वर्षा सिवाकोटी नयाँ फिल्म ‘गंगा रानी’मा अनुबन्धित भएकी छन् । वर्षालाई ‘लिड फिमेल’ मा कास्ट गरिएको जानकारी दिँदै निर्माताले अन्य रोलका लागि अडिसन आह्वान गरेका छन् ।
निर्माताले टिजर पोस्टर पनि सार्वजनिक गरेका छन्, जसमा वर्षालाई रातो पहिरनमा आकर्षक देख्न सकिन्छ । टिजर पोस्टरमा उनी आत्मविश्वासी र आकर्षक अवतारमा प्रस्तुत भएकी छन् । उनको हेराइ र अभिव्यक्तिले प्रेम, रहस्य र संघर्षको संकेत दिन्छ ।
पोस्टरको अगाडि एक पुरुष पात्रको कालो छायाँ देखाइएको छ, जसले कथामा कुनै गहिरो रहस्य वा भावनात्मक सम्बन्ध रहेको अनुमान लगाउन सकिन्छ । ती व्यक्ति को हुन त्यो खुलाइएको छैन् ।
पृष्ठभूमिमा पुराना घरहरू र बस्तीको परिवेश देखाइएको छ । सुनौलो तथा मधुरो प्रकाशको प्रयोगले पोस्टरलाई भावनात्मक र रहस्यमय बनाएको छ ।

आहा फिल्मस्को प्रस्तुतिमा बन्ने फिल्मका निर्माता कमलप्रसाद शर्मा हुन् । पटकथा लेखन तथा निर्देशन राजबहादुर सानेको हुनेछ । यससँगै निर्माताले कास्टिङ कल गरेका छन् । मुख्य पात्रमा ४ महिला र ४ पुरूष आह्वान गरिएको छ ।
पुरूष २० वर्षदेखि ४० वर्ष उमेर समूह र महिलाको लागि १८ वर्षदेखि ३५ वर्ष उमेर समूहका कलाकारलाई आवेदन दिन सकिने पोस्टरमा उल्लेख गरिएको छ । निर्माण टिमका अनुसार इच्छुक कलाकारले आफ्नो परिचय भिडियो वा पोर्टफोलियो सहित दिइएको इमेल मा आवेदन पठाउन सक्नेछन् ।
२० जेठसम्म इच्छुकले आवेदन दिन सक्ने उल्लेख छ । छायांकन भदौ दोस्रो सातादेखि सुरु हुने उल्लेख छ ।
प्रतिक्रिया 4