News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंको अल शाहिद ओभरसिजमार्फत साउदी अरब पुगेका ७० जना नेपाली चालकहरू चार महिनादेखि काम र तलब नपाएर अलपत्र परेका छन् ।
- अलपत्र चालकहरूमध्ये केहीलाई सुरक्षा उपकरणविना श्रम कार्यमा लगाइएको छ भने कतिपयले खाना र बस्ने समस्या झेल्नुपरेको छ ।
- वैदेशिक रोजगारीका लागि लाखौँ रुपैयाँ बुझाएर साउदी पुगेका ती पीडितहरूले न्यायका लागि त्यहाँको श्रम अदालतमा मुद्दासमेत दायर गरेका छन् ।
१२ जेठ, काठमाडौं । वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका पाँच दर्जन बढी नेपाली ड्राइभर काम नपाएर झन्डै चार महिनादेखि अलपत्र परेका छन् ।
काठमाडौं महानगरपालिका–४ चण्डोलमा रहेको अल शाहिद ओभरसिजबाट साउदी पुगेका उनीहरू अलपत्र परेका हुन् । उक्त ओभरसिजले साउदीमा अनुभव भएका ५० जना र नेपाली लाइसेन्स भएका १५० जना चालकको माग ल्याएको थियो ।
कामदारसँग ‘करारनामा’ पत्र साउदीको मेहन ह्युमन रिसोर्स कम्पनीको प्रतिनिधिको रूपमा यहाँ अल शाहिद ओभरसिजले गरेको थियो ।
साउदीको मेहन ह्युमन रिसोर्सेस कम्पनीमा हेभी ड्राइभरको रूपमा गएका ६४ जनामध्ये अधिकांश नेपालीले काम पाएका छैनन् । गत फेब्रअरीमा श्रम स्वीकृति लिएर साउदी पुगेका उनीहरूले अहिलेसम्म काम नपाएको बताएका छन् ।
साउदीबाट अनलाइनखबरको सम्पर्कमा आएका उनीहरूले न काम, न त तलब पाएको भन्दै समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेका छन् ।
उनीहरूलाई समूह बनाएर विभिन्न ठाउँमा राखिएको छ । साउदी तथा खाडी देशको हेभी ड्राइभर लाइसेन्स भएका केहीलाई मात्रै काममा लगाइएको छ । तर, नेपाली लाइसेन्स भएका तथा साउदीको हलुका सवारी लाइसेन्स लिएकालाई समेत अहिलेसम्म काममा पठाइएको छैन ।
म्यानपावरले राखेको विज्ञापनमा साउदी अरबको लाइसेन्स भएकाको हकमा मासिक तलब १ हजार ६ सय रियाल र ट्रिप भत्ताको व्यवस्था गरिएको उल्लेख छ । त्यस्तै नेपाली लाइसेन्स भएकाहरूको हकमा १ हजार २ सय साउदी रियाल र ट्रिप भत्ताको व्यवस्था गरिएको उल्लेख छ । यसका लागि १३ जनवरीमा झापाको दमक र १४ जनवरी, २०२६ मा काठमाडौंमा अन्तर्वार्ता भएको थियो ।
दैनिक ८ घण्टा र महिनामा २६ दिन काम गर्नुपर्ने, ओभरटाइम गरेको खण्डमा थप भत्ता पाउने उल्लेख थियो । सोही अनुसार अन्तर्वार्ता तथा ट्रायल समेत दिएर साउदी पुगेका उनीहरूले अहिलेसम्म अलपत्र परेको बताएका छन् ।
‘हामीलाई काठमाडौंको अल शाहिद म्यानपावरले पठाउने बेला साउदीको लाइसेन्स निस्किने वित्तिकै अल मुबारक कम्पनीमा लगिन्छ र राम्रो तलब दिन्छ भनेर पठाएको थियो । साउदी पुगेपछि लाइसेन्स बन्यो । लाइसेन्स बनेको ४०/४५ दिन भइसक्यो । कतै पठाइएन, तलब पनि दिइएन । अस्तिसम्म खानाको पैसा दिइरहेको थियो । अहिले त खानाको पैसा पनि दिइएको छैन,’ एक श्रमिकले भने ।
काम गर्न भनेर आएको चार महिना हुन लाग्दा समेत काम नपाएको र तलब नपाउँदा ऋण गरेर विदेश आएका आफूहरू तनावमा रहेको बताए । ‘घरमा बालबच्चा पनि छन्, पैसा पठाउन नसक्दा ठूलो समस्या परेको छ’ उनीहरूले सामूहिक रुपमा भने । पैसा मागेमा काम नगर्दासम्म तलब नपाइने भन्दै हप्काउने गरेको उनीहरूको भनाइ छ ।
‘तलब देऊ भनेर हामी अफिसमा गएका थियौं । कुरा गर्दा जबसम्म काममा लाग्दैनौँ, तबसम्म तलब आउँदैन भनिरहेको छ,’ ती श्रमिकले भने ।
उनीहरूलाई मेहान लगायत विभिन्न सप्लाई कम्पनीमार्फत काममा लगाउने आश्वासन दिएको छ । तर, अहिलेसम्म काममा नलगाएको बताएका छन् । म्यानपावरका निर्देशक प्रदिप राउत श्रमिकको समस्या समाधान गर्ने भनेर साउदी नै पुगेका थिए । तरपनि अहिलेसम्म समस्या समाधान हुन नसकेको एक श्रमिकले बताए ।

‘१५/२० दिन पहिला डाइरेक्टर आए, २/३ दिनमा तलब आउँछ भनका थिए, अहिले २०/२५ दिन भइसक्यो, तलब पनि आएको छैन, अवस्था झन् जटिल बनिरहेको छ’ उनले भने । लाइसेन्स र अकामा (आवास तथा कामको अनुमतिपत्र) हामीले बनाइदिन्छौं भनेको थियो,’ ती श्रमिकले भने, ‘लाइसेन्स बन्ने बित्तिकै मुबारक कम्पनीमा काम गर्ने हो, त्यता काम थालेपछि तलब पनि उसैले दिन्छ भनेको थियो तर अहिले सबैको बिचल्ली बनाइदियो ।’
साउदीको कन्ट्र्याक कम्पनी अलमुबारकले खाडीबाट फर्किएकाहरूलाई मात्रै काममा लगाएको छ । नयाँ ड्राइभरलाई काममा लगाएको उनीहरूको भनाइ छ । नेपालमा म्यानपावरले लैजाने बेला सबैलाई राम्रो काम पाउने, खाना बस्नको समेत राम्रो व्यवस्था हुन्छ भनेर आश्वासन दिएको श्रमिक बताउँछन् ।
उनीहरूले ह्युमन रिसोर्समार्फत भएका कन्ट्रयाकका काममा कोही पनि नेपाली नआउन समेत अनुरोध गरेका छन् । अर्को क्याम्पमा राखिएका एक श्रमिकले नेपाली साथीहरूसँग खाना तथा पैसा मागेर खाइरहेको बताए ।
‘हाम्रो क्याम्पमा १०/१५ जना त्यत्तिकै बसिरहेका छौं । अबदेखि मेहन कम्पनीका लागि भनेर कोही पनि नेपाली नआउनुहोला । जुनसुकै भिसामा भएपनि नआउनुहोला । अफिसमा गयो भने म्यानपावरलाई भन भन्छ सबै जनाको हालत खराब छ’ ती श्रमिकले भने ।
उनीहरूलाई साउदीको अलमुबारक कम्पनीमा काम पाउने भनेर नेपालबाट लगेको थियो । तर, मेहन सप्लाई कम्पनीमार्फत उनीहरूमध्ये यसअघि साउदी तथा खाडीको अनुभव भएकाहरूलाई मात्रै काममा पठाइएको छ ।
त्यस्तै अर्को क्याम्पमा रहेका केही नेपाली ड्राइभरलाई दिनभर लेबरको काममा लगाउने गरिएको छ । ड्राइभरको भिसा लगाएर अहिले लेबरको काम गर्नु परिरहेको क्याम्पमा रहेका एक श्रमिकले बताए ।
‘एउटा लेबरलाई समेत काम गर्दा पूर्ण सेफ्टीका साथ काममा लगाउँछन्’ उनले भने ‘घामले तातेको फलामलाई पञ्जाविना समातेर लोड गरिरहनु परेको छ।’ मेहनले केहीलाई अलसुर्या कम्पनीमा पठाएर लेबरको रुपमा खटाइएको श्रमिकले बताए ।
साउदीको मेहन ह्युमन रिसोर्स कम्पनीको प्रतिनिधिको रूपमा अल शाहिद ओभरसिजले गरेको करारनामामा हेभी ड्राइभरको मासिक तलब १ हजार ८ सय साउदी रियाल, दैनिक ८ घण्टा र हप्तामा ६ दिन काम, एक दिन बिदा, करार अवधि २ वर्ष, खाना र बस्ने व्यवस्था कम्पनीले नै गर्ने लगायत उल्लेख थियो ।
नेपालमा आफ्ना समस्याबारे जानकारी गराउँदा म्यानपावरका निर्देशक राउतले समस्याको समाधान हुँदैछ भन्ने आश्वासन दिएको श्रमिक बताउँछन् ।
राउतले केही दिन अगाडि मात्रै श्रमिकलाई सबै व्यवस्था मिल्ने भन्दै ह्वाट्सएपमा अडियो म्यासेज पठाएका थिए । लाइसेन्स भएका साथीहरूको तलब ४र५ दिनभित्रमा आउने र नभएकाहरूको हकमा केही दिनमा काम सुरु हुने भन्दै अडियो म्यासेज पठाएका थिए । तर, अहिलेसम्म कुनै सुनुवाई भएको छैन ।
नेपालबाट २ लाखदेखि ३ लाख २० हजार रूपैयाँसम्म तिरेर गएको उनीहरू बताउँछन् । चार महिनासम्म काम नपाउँदा उनीहरूलाई ऋणको चिन्ता बढेको छ । घर परिवारको समेत घर खर्च चलाउन समस्या भइरहेको उनीहरूको भनाइ छ ।
लामो समयदेखि काम पनि नपाउने, तलब समेत नपाएपछि उनीहरूले साउदीस्थित श्रम अदालतमा मुद्धा समेत हालेका छन् । अदालतबाट हालसम्म कुनै सुनुवाई समेत नभएको उनीहरूको भनाइ छ ।
साउदीको लाइसेन्स निकाल्न नसक्दा समस्या : म्यानपावर
अनलाइनखबरको सम्पर्कमा आएका अल शाहिद ओभरसिजका निर्देशक प्रदीप राउतले उनीहरूका विषयमा प्रष्ट पारेका छन् ।
राउतका अनुसार अल शाहिद ओभरसिज मार्फत साउदी गएका जम्मा ६४ कामदारमध्ये अधिकांश काममा लागिसकेका छन् । तिनमा ३० जना, १२ जना र ८ जनाका छुट्टाछुट्टै समूह विभिन्न कम्पनीमा काम गरिरहेका छन् ।
समस्या देखिएको भनिएको समूहमा जम्मा ९ जनामात्र रहेको र तीमध्ये पनि केही व्यक्तिकै कारण समस्या सिर्जना भएको दाबी गरे ।
समस्यामा पर्नुको कारण उनीहरूले साउदीको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) निकाल्न नसक्नु रहेको बताए । ‘नेपाली फ्रेस ड्राइभरहरूलाई कम्पनीले तीन पटकसम्म लाइसेन्सका लागि पैसा तिरेर अवसर दिएको थियो तर केही भाइहरूले ७ पटकसम्म ट्रायल दिँदा पनि पास गर्न सकेनन्,’ राउतले भने ।
लाइसेन्स नभई साउदीको कानुन अनुसार गाडी चलाउन नमिल्ने र लाइसेन्स निकाल्न नसक्नेहरूलाई नै अहिले समस्या परेको उनले प्रष्ट पारे ।
लेबरको काम लगाएको आरोपको खण्डन गर्दै उनले त्यो नियमित काम नभई एक पटकको सहयोग मात्र भएको बताए । ‘त्यो ट्रान्स्पोर्ट कम्पनी हो, लेबर सप्लाई होइन, ग्यारेज सार्ने क्रममा एक दिनका लागिमात्र सामान लोड–अनलोड गर्न सहयोग मागिएको थियो,’ उनले भने, ‘तर, केही कामदारले त्यसैलाई इस्यु बनाएर भिडियो खिची मिडियामा गलत प्रचार गरे ।’
केहीले लाइसेन्स निकाल्न नसकेपछि विवाद झिक्ने र मुद्दा हाल्ने गरेको उनले बताए । ‘हामीले उनीहरूलाई काम गर्न नसक्ने भए नेपाल फर्काइदिन्छौं, केस फिर्ता लेऊ भन्दा पनि उनीहरू मानिरहेका छैनन्,’ उनले भने ।
खाना र तलबको विषयमा बोल्दै राउतले लाइसेन्स निकाल्न बाँकी रहेकाहरूलाई पनि कम्पनीले एड्भान्स पैसा दिइरहेको र रमजानपछि उनीहरूलाई काममा लगाउने तयारी भइरहेको बताए ।
म्यानपावरले साउदीस्थित आफ्नो टिमलाई विवादित श्रमिकसँग छलफल गर्न र समस्या समाधान गर्नतिर लागेको दाबी गरेको छ ।
प्रतिक्रिया 4