News Summary
Generated by OK AI. Editorially reviewed.- आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार चालु आर्थिक वर्षमा नेपालको कुल उपभोग कुल गार्हस्थ उत्पादनको ९०.३ प्रतिशत रहने अनुमान गरिएको छ ।
- मुलुकको समग्र उपभोगमा निजी क्षेत्रको योगदान ९१.२६ प्रतिशत रहने र सरकारी क्षेत्रको योगदान ६.६२ प्रतिशतमा सीमित हुने देखिएको छ ।
- चालु आर्थिक वर्षको निजी उपभोगमा खाद्य वस्तुको हिस्सा ४८.३० प्रतिशत र सेवा क्षेत्रको हिस्सा ३३.२४ प्रतिशत रहने अनुमान छ ।
१३ जेठ, काठमाडौं । नेपालको अर्थतन्त्र अत्यधिक उपभोग केन्द्रित रहेको पाइएको छ । जहाँ कुल गार्हस्थ उत्पादन (जीडीपी) को ९० प्रतिशतभन्दा बढी हिस्सा उपभोगमै खर्च हुने गरेको छ ।
बुधबार सार्वजनिक आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार चालु आर्थिक वर्ष कुल उपभोगको अंश जीडीपीको ९०.३ प्रतिशत रहने अनुमान गरिएको छ ।
पछिल्लो एक दशकको प्रवृत्ति हेर्दा जीडीपीमा कुल उपभोगको औसत हिस्सा ९०.८ प्रतिशत रहँदै आएको सर्वेक्षणले देखाएको छ । गत आव ७.४ प्रतिशतको उच्च दरले बढेको कुल उपभोग वृद्धिदर चालु आव भने केही सुस्त भई ३.२ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरिएको छ ।
मुलुकको समग्र उपभोग प्रणालीमा सरकारी क्षेत्रको तुलनामा निजी क्षेत्रको वर्चस्व निकै उच्च देखिएको छ । कुल उपभोगमा निजी क्षेत्रको योगदान ९१.२६ प्रतिशत रहने अनुमान छ भने सरकारी क्षेत्र र गैरनाफामूलक संस्थाको योगदान क्रमश: ६.६२ र २.१२ प्रतिशतमात्र रहने देखिएको छ ।
जीडीपीकै अनुपातमा हेर्दा पनि निजी क्षेत्रको उपभोगको हिस्सा ८२.४० प्रतिशत छ भने सरकारी उपभोग ५.९८ प्रतिशत र गैरनाफामूलक संस्थाको उपभोग १.९२ प्रतिशत रहने अनुमान छ ।
गत आव यस्तो अनुपात क्रमश: ८२.८४, ८.३८ र १.८९ प्रतिशत थियो । पछिल्लो दशकको औसत तथ्यांक अनुसार निजी क्षेत्रको उपभोग ८१.१, सरकारी क्षेत्रको ७.९ र गैरनाफामूलक संस्थाको उपभोग १.७ प्रतिशत रहँदै आएको छ ।
निजी क्षेत्रले गर्ने उपभोग संरचनामा भने पछिल्लो समय केही परिवर्तनका संकेत देखिएका छन् । कुल निजी उपभोगमा खाद्य स्तुको अंश अझै पनि सबैभन्दा बढी रहे तापनि यो क्रमश: घट्दो क्रममा रहेको छ भने सेवा र गैरखाद्य वस्तुमा हुने खर्च बढ्दै गएको छ ।
चालु आव कुल निजी उपभोगमा खाद्य वस्तुको हिस्सा ४८.३० प्रतिशत, सेवा क्षेत्रमने ३३.२४ र गैरखाद्य वस्तुको हिस्सा १८.४६ प्रतिशत रहने अनुमान छ ।
गत आवमा खाद्यवस्तुको हिस्सा ४८.८४ प्रतिशत र सेवाको हिस्सा ३२.८२ प्रतिशत थियो । पछिल्लो एक दशकको औसत हेर्दा निजी उपभोगमा खाद्यवस्तुको अंश ४८.७५ प्रतिशत, गैरखाद्य वस्तुको १८.६७ र सेवा क्षेत्रको ३२.५८ प्रतिशत रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।
प्रतिक्रिया 4