News Summary
Generated by OK AI. Editorially reviewed.- कोशी प्रदेश सभाको बैठकमा प्रतिपक्षी सांसदहरूले रोस्ट्रम घेराउ गरेपछि बैठक तनावपूर्ण बनेको छ ।
- पूर्वमुख्यमन्त्री राजेन्द्र राईले नीति तथा कार्यक्रम पारित गर्दा सभामुखले विधि मिचेको आरोप लगाए ।
- प्रतिपक्षी दलले पारित नीति तथा कार्यक्रमलाई ‘सर्वसम्मति’ नभनी ‘बहुमत’ बाट पास भएको उल्लेख गर्न माग गरेको छ ।
१३ जेठ, विराटनगर । सामान्य रूपमा सञ्चालन भइरहेको कोशी प्रदेश सभा बैठकमा बुधबार दिउँसो अनौठो दृश्य देखियो । प्रतिपक्षीको विरोधका बाबजुत सभामुख अम्बरबहादुर विष्टले बैठक अघि बढाउन खोजेपछि बैठक हल तनावपूर्ण बन्न पुग्यो ।
पूर्वमुख्यमन्त्री तथा प्रतिपक्षी सांसद राजेन्द्र राई दौडिएर रोस्ट्रममा पुगेपछि उनलाई बाहिर ल्याउन मर्यादा पालकलाई हम्मेहम्मे पर्यो । जबरजस्ती रोस्ट्रममा पुगेको भिडियो भाइरल भएपछि पूर्वमुख्यमन्त्री राई रोस्ट्रम घेराउ गर्ने कार्यक्रम अन्तर्गत नै त्यहाँ पुगेको बताउँछन् ।
उनले नीति तथा कार्यक्रम पारित गर्दा सभामुख विष्टमा सत्तापक्षको छाया देखिएपछि पासको प्रक्रिया सच्याउन आग्रह गरेको बताए ।
‘हाम्रो कार्यक्रम रोस्ट्रम घेर्ने नै थियो । बोल्नका लागि त्यहाँ पर्याप्त समय पाइएन, पाएको भए बोल्ने र घेर्ने सबै काम सँगै हुन्थ्यो होला,’ उनले भने,‘ रोस्ट्रम घेर्न गएकै हो ।’
मंगलबार सभामुख विष्टले प्रतिपक्षीलाई संशोधनको समय नदिई नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको घोषणा गरेका थिए । सोही क्रममा प्रतिपक्षी दलले उठेर विरोध जनाए । विरोधका क्रममा प्रतिपक्षी सांसद र सभामुखबीच सवाल जवाफ भयो । बुधबार बसेको बैठकमा पनि सोही विषयमा विवाद भयो । विवाद भएपछि सभामुख विष्टले बैठक स्थगित गरेका थिए ।
पूर्वमुख्यमन्त्री राई सभामुख विष्टले विधि र स्थापित संसदीय प्रचलनभन्दा बाहिर गएर काम गरेको बताउँछन् ।
‘सभामुखको इन्टेन्सन भन्दा पनि अज्ञानता वा सत्तापक्षको दबाब थाम्न नसकेर उहाँले विधि मिचिरहनुभएको छ,’ उनले भने,‘ हिजो संशोधनको समय पनि दिइएन र आज विरोधका बाबजुद प्रक्रिया अघि बढाइयो ।’
सदनबाट पारित भएको नीति तथा कार्यक्रमलाई ‘सर्वसम्मति’ साटो बहुमतको प्रक्रियाबाट भन्नुपर्ने उनको माग छ । ‘हामीले पारित गर्ने प्रक्रियाभित्रै विरोध गरेका हौँ । विरोध हुँदाहुँदै सभामुखले सर्वसम्मतिले पारित भयो भन्नु गलत छ,’ उनले थपे, ‘हाम्रो माग यति हो कि त्यसलाई सर्वसम्मति नभनी ‘बहुमत’ ले पास भएको भनियोस् ।’
उनले हामी ७२ घण्टा अगाडिको स्थितिमा (संशोधन) फर्कन नखोजे पनि प्रक्रियागत त्रुटि सच्याउनुपर्छ भन्ने पक्षमा उभिएको बताए ।
प्रतिक्रिया 4