१४ जेठ, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सात विषयगत उपसमिति गठन गरेर संयोजकहरू चयन गरेको छ ।
सभापति गगनकुमार थापाको उपस्थितिमा बुधबार बेलुकी सम्पन्न प्रशिक्षण प्रतिष्ठानको तेस्रोत बैठकले विषयगत उपसमिति गठन गरेर संयोजकहरू चयन गरेको हो ।
कांग्रेसले प्रतिष्ठानका प्रमुख एवं पार्टी उपसभापति विश्वप्रकाश शर्माको सभापतित्वमा बसेको बैठकले गरेको निर्णयहरू बिहीबारमात्रै सार्वजनिक गरेको छ ।
कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा हस्ताक्षरित विज्ञप्तिमा बैठकले अर्थ योजना : पार्टीको नीति, दृष्टि र योजना उपसमिति गठन गरेर केन्द्रीय सदस्य प्रा. डा. गोविन्दराज पोख्रेललाई संयोजक चयन गरेको छ ।
जलवायु परिवर्तन सचेतना उपसमिति संयोजकमा रोशनी गिरी, नवयुवा भावना, मुद्दा र अन्तरपुस्ता संवाद तथा समन्वय उपसमितिमा मीनबहादुर भाम र अनौपचारिक क्षेत्रका श्रमिक ः नीति र न्यायसम्बन्धी उपसमितिमा महेन्द्र यादवलाई संयोजक चयन गरिएको दुलालले जानकारी दिए ।
बैठकले उमंग लोहनीलाई बाल अधिकार उपसमिति, गोपालप्रसाद पोखरेललाई सार्वजनिक सेवा प्रवाह ः नीति र थिती संवाद उपसमिति र अञ्जु झालाई गैर सरकारी संस्था नीति संवाद र समन्वय उपसमिति संयोजक बनाएको छ ।
बुधबारको बैठकबाट चयन भएका संयोजकहरूले प्रतिष्ठानको आगामी चौथो बैठकमा प्रारम्भिक अवधारणा र कार्ययोजना पेश गर्ने बताइएको छ ।
बैठकमा उपप्रमुख मधु आचार्यले आन्तरिक आचारसंहितासम्बन्धी प्रस्ताव पेश गरेका थिए । यस्तै दोस्रो बैठकबाट चयन भएका ६ जना संयोजकहरूले आफ्नो अवधारणा र कार्ययोजना प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया 4