+
+
Shares

रमेश लेखकको क्षेत्रका सभापतिको जिम्मेवारी खोसियो, अद्यावधिकको जिम्मा उपसभापतिलाई

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १२ गते ८:२५

१२ जेठ, काठमाडौं । नेपाली कांग्रेसले पूर्वगृहमन्त्री रमेश लेखकको निर्वाचन क्षेत्रका सभापति केशव चन्दको जिम्मेवारी खोसेको छ ।

क्रियाशील सदस्यता अद्यावधिकमा असहयोग गरेको भन्दै पार्टीले कञ्चनपुर–३ का क्षेत्रीय सभापति चन्दको जिम्मेवारी खोसेको हो ।

उनले अद्यावधिकको काम अघि नबढाएपछि कांग्रेसले उपसभापति पदमराज अवस्थीलाई जिम्मेवारी दिएको छ ।

पार्टीले खटाएका केन्द्रीय प्रतिनिधिहरू नरेन्द्रप्रसाद भट्ट र पदमराज पन्तले क्षेत्रीय उपसभापति अवस्थीलाई अद्यावधिकको काम अघि बढाउन भन्दै पत्र दिएका छन् ।

‘कञ्चनपुर–३ मा नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने कार्यको संयोजन गर्न जरा अभियान निर्देशिकाको दफा ११ अनुसार तपाईंलाई जिम्मेवारी दिइएको छ,’ पत्रमा भनिएको छ ।

पत्रमा क्षेत्रीय कार्यसमितिको विस्तृत बैठक आह्वान गरेर २१ जेठभित्र क्षेत्रअन्तर्गत गर्ने सबै वडाहरूको क्रियाशील सदस्यता अद्यावधिक काम सम्पन्न गर्न पनि पत्रमा भनिएको छ ।

यसैबीच अद्यावधिकको जिम्मेवारी खोसिएपछि क्षेत्रीय सभापति चन्दले सानातिना कुराले नडगमगाउने प्रक्रियता दिएका छन् । ‘कांग्रेसका लागि लडेका हौं । सानोतिनो कुराले डग्मगाउँदैनौं,’ उनले भने, ‘अझ सशक्त भएर लड्ने छौं । निष्ठा र नैतिकता मा अट्ल छौं ।’

उनले पदको राजनीतिभन्दा माथि रहेको भन्दै एक माघले जाडो नसकिने टिप्पणी पनि गरे । ‘पदको लालचको राजनीतिभन्दा माथि छौं । पार्टी एकता नै हुन्छ,’ चन्दले भने, ‘हतारमा रहेका साथीहरूलाई सल्लाह– एक माघले जाडो सकिन्न, फेरि माघ आउँछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?