News Summary
Generated by OK AI. Editorially reviewed.- कान्तिपुर थिएटरमा आजदेखि मञ्चन हुने नाटक ‘महाभारत’ मार्फत चर्चित हास्यकलाकार मनोज गजुरेलले पहिलो पटक नाट्य अभिनयमा डेब्यू गर्दैछन् ।
- भारतीय लेखक कुलदीप कुणालको नाटकलाई नवीन भट्टले नेपाली रूपान्तरण तथा निर्देशन गरेका हुन् भने यसमा वरिष्ठ कलाकार रमेश बुढाथोकीको पनि अभिनय छ ।
- यो नाटक ७ असारसम्म हरेक दिन साँझ ५ः१५ बजे मञ्चन हुनेछ भने सार्वजनिक बिदाका दिन अतिरिक्त शो पनि सञ्चालन गरिनेछ ।
काठमाडौं । ‘सेतो धरती’को सफल मञ्चनपछि कान्तिपुर फिल्म एकेडेमीको नाटकघर कान्तिपुर थिएटरले आजदेखि अर्को नाटक ‘महाभारत’ मञ्चन सुरु गर्दैछ ।
यो नाटकबाट हास्यव्यंग्य विधाका चर्चित कलाकार मनोज गजुरेल पहिलो पटक नाट्य अभिनयमा डेब्यू गर्दैछन् । वरिष्ठ कलाकार तथा निर्देशक रमेश बुढाथोकी र सुवर्ण थापाको अभिनयले पनि नाटकलाई थप अपेक्षित बनाएको छ ।
सन्दीप श्रेष्ठ, प्रतीक चौधरी, सुपज्ञा शर्मा लगायत अन्य २० जना कलाकार पनि मञ्चमा देखिँदैछन् । भारतीय प्रसिद्ध लेखक कुलदीप कुणालको नाटकलाई नवीन भट्टले नेपाली रूपान्तरण, डिजाइन तथा निर्देशन गरेका छन् ।
नाटक अनुवाद प्रकाश दाहालले गरेका हुन् भने सेट डिजाइन तुफान थापा, लाइट डिजाइन दीपेश गजुरेल, सङ्गीत संयोजन तथा गायन अनुप तिमिल्सिना, कोरियोग्राफी अनिष क्षेत्री र निर्माण रमेश पुरीले गरेका छन् ।
७ असारसम्म हरेक दिन (बुधबार बाहेक) साँझ ५ः१५ बजे नाटक मञ्चन हुनेछ । सार्वजनिक बिदाको दिन अतिरिक्त शो दिउँसो १ः१५ बजे पनि हुनेछ । ५०० र १००० रुपैयाँ टिकट दर तोकिएको नाटक विद्यार्थीले सीमित कोटामा ३०० रुपैयाँमै हेर्न पाउने जनाइएको छ ।
कान्तिपुर थिएटरको वेबसाइट तथा सामाजिक सञ्जालमा दिइएको लिंकमार्फत दर्शकले टिकट बुक गर्न सक्ने उल्लेख छ । रेखा थापा, जीवन लुइँटेल, सनिशा भट्टराई, बेनिशा हमाल लगायत कलाकारलाई लिएर थिएटरले यसअघि नाटक मञ्चन गरिसकेको छ ।
थिएटरले यसअघि ‘मीरा’, ‘शिरीषको फूल’, ‘महारानीको जात्रा’ र ‘सेतो धरती’ मञ्चन गरिसकेको छ । ‘महाभारत’पछि थिएटरले सुविन भट्टराईको उपन्यास ‘समर लभ’मा आधारित नाटक पनि मञ्चन गर्ने घोषणा गरिसकेको छ ।
प्रतिक्रिया 4