१४ जेठ, खोटाङ । लाउडा विमान खरिद प्रकरणको विरोधका क्रममा २५ वर्षअघि खोटाङमा भएको गोली काण्डका घाइतेले हालसम्म क्षतिपूर्ति पाएका छैनन् ।
लाउडा विमान खरिद प्रकरणविरुद्ध २०५८ जेठ १३ गते दिक्तेलमा मसाल जुलुस प्रदर्शन गर्ने क्रममा प्रहरीको गोली लागेर चार जना घाइते भएका थिए । उनीहरूले हालसम्म क्षतिपूर्ति पाउन नसकेका हुन् ।
आन्दोलनका क्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका दीपनारायण रिजाल, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका दीपेन्द्र राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका विद्यामनि तामाङ र केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाका प्रताप राई घाइते भएका थिए ।
प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका चार जनालाई जनही एक लाख रुपैयाँ क्षतिपूर्ति दिन राष्ट्रिय मानव अधिकार आयोगले २०७९ वैशाख ८ गतेको निर्णयअनुसार २०७९ जेठ १७ गते नेपाल सरकारसमक्ष सिफारिस गरेको थियो ।
सिफारिस गरेको चार वर्ष बित्दासमेत घाइतेहरूले राज्यबाट क्षतिपूर्ति नपाएको पीडित रिजालले गुनासो गरे । घटना भएकै महिना घाइतेले गोली चलाउने दोषी प्रहरीलाई कारबाही गर्न तथा क्षतिपूर्ति दाबी गर्दै आयोगसमक्ष उजुरी दिएका थिए ।
तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले अनियमित रूपमा लाउडा विमान खरिद गर्ने निर्णय गरेपछि त्यसविरुद्ध ६ वाम घटकले आन्दोलन गरेका थिए । सो अन्तर्गत खोटाङमा एमाले र जनमोर्चाले विरोधस्वरूप मसाल जुलुस प्रदर्शन गरेका थिए । त्यही क्रममा प्रहरीले अन्धाधुन्ध गोली चलाउँदा चार विद्यार्थी घाइते भएका थिए । घाइतेमध्ये प्रतापको २०६२ माघ २८ गते मृत्यु भइसकेको छ ।
लाउडा प्रकरणको २५ वर्ष पुगेको दिन पारेर बुधबार दिक्तेलमा अन्तर्क्रिया तथा घाइतेका परिवारबीच पुनर्मिलन कार्यक्रम गरिएको थियो । होटल शुभदिन परिवारको आयोजनामा चारै जना घाइतेको परिवार, प्रत्यक्षदर्शी एवं नेताहरूलाई ए कठाउँमा भेला गरेर अन्तर्क्रिया गरिएको हो ।
लाउडा विमान खरिद प्रकरणमा करोडौं भ्रष्टाचार भएको दाबी गर्दै तत्कालीन प्रधानमन्त्रीको राजीनामा माग्दै साँझमा निकालिएको मसाल जुलुसमाथि दिक्तेलको हाटडाँडा पुगेर फर्किने क्रममा जिल्ला प्रहरी कार्यालय अगाडि गोली चलाइएको थियो ।
मसाल जुलुस प्रदर्शनका क्रममा दीपेन्द्रको दुवै खुट्टा र हात, दीपनारायणको बायाँ खुट्टा, विद्यामनिको बायाँ खुट्टा र प्रतापको बायाँ हातको पाखुरामा गोली लागेको थियो । गोली लाग्दा दीपेन्द्रको खुट्टा छियाछिया भनेको थियो । अहिले पनि उनको खुट्टामा गोलीको गहिरो खत देख्न सकिन्छ ।
घटनाका बेला विद्यार्थी राजनीतिमा संलग्न दीपनारायण र दीपेन्द्र हालसम्म राजनीतिमै सक्रिय छन् । उसबेला ११ वर्षका विद्यामनि कक्षा ६ र ८ वर्षका प्रताप युकेजीमा अध्यनरत थिए । लाउडा प्रकरणमा प्रदर्शनकारीमाथि गोली चलाएको घटनालाई जिल्लामा दिक्तेल गोली काण्डका रूपमा चिन्ने गरिन्छ ।
क्याप्सन: लाउडा प्रकरणमा घाइते भएका दीपनारायण रिजाल (दायाँ) र दीपेन्द्र राई परिवारका साथ ।
प्रतिक्रिया 4