News Summary
Generated by OK AI. Editorially reviewed.- परराष्ट्र मन्त्रालयले राजदूत नियुक्तिको सिफारिसका लागि पहिलोपटक निर्देशिका बमोजिम योग्यता तोकेर खुला दरखास्त आह्वान गरेको छ ।
- राजदूत बन्नका लागि कम्तीमा ३५ वर्ष उमेर पूरा भएको, स्नातक तह उत्तीर्ण र अंग्रेजी भाषाको राम्रो ज्ञान भएको नेपाली नागरिक हुनुपर्नेछ ।
- इच्छुक उम्मेदवारले आउँदो जुन ५ भित्र आवेदन दिनुपर्नेछ भने संसदीय सुनुवाइको अनुमोदनपछि राष्ट्रपतिबाट राजदूत नियुक्त हुने व्यवस्था छ ।
१४ जेठ, काठमाडौं । सरकारले राजदूत नियुक्तिको सिफारिसका लागि पहिलोपटक खुल्ला दरखास्त आह्वान गरेको छ । मन्त्रालयले आउँदो जुन ५ भित्र इच्छुक व्यक्तिले दरखास्त दिनुपर्नेछ । मन्त्रालय दरखास्तका लागि चाहिने योग्यता र कार्य क्षेत्रसहितको निर्देशिका पनि सार्वजनिक गरेको छ ।
राजदूत हुनका लागि कम्तीमा ३५ वर्ष पुरा भएको हुनुपर्नेछ । विशिष्ट श्रेणीकोसरहको यो पदका लागि कम्तीमा स्नातक तह अध्ययन गरेको हुनुपर्नेछ । स्नातक भन्दा माथिको शैक्षिक योग्यता र कार्यअनुभव योग्यतामा प्लस हुनेछ ।
परराष्ट्र मन्त्रालयका अनुसार दरखास्तहरूलाई परराष्ट्र मन्त्रालय स्क्रिनिङ गरी मन्त्रिपरिषद्मा पठाउने छ । मन्त्रिपरिषद्ले योग्यताअनुसार राजदूतको सिफारिस गर्नेछ । उक्त सिफारिस भएका व्यक्तिको संसदीय सुनुवाइ पछि राष्ट्रपतिले नियुक्त गर्नेछन् । राजदूतहरूले नियुक्तिपछि परराष्ट्र मन्त्रालयमा कार्यसम्पादन सम्झौता गरी कार्याक्षेत्रमा जानुपर्नेछ ।
मन्त्रिपरिषद् बाट स्वीकृत ‘राजदूत नियुक्ति सम्बन्धी निर्देशिका, २०७५’ (संशोधन २०७८ र २०७९) बमोजिम मन्त्रालयले बिहीबार यो दरखास्त आह्वान गरेको हो ।
के-के छन् योग्यता र सर्तहरू ?
निर्देशिकाको दफा ३ (छ) अनुसार राजदूत बन्नका लागि उम्मेदवारले निम्न न्यूनतम योग्यताहरू पूरा गरेको हुनुपर्नेछ ।
कम्तीमा ३५ वर्ष उमेर पूरा भएको नेपाली नागरिक हुनुपर्ने ।
नेपाल सरकारबाट मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने ।
भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी बर्खास्त नभएको र भ्रष्टाचार वा नैतिक पतन देखिने फौजदारी कसुरमा अदालतबाट सजाय नपाएको हुनुपर्ने ।
कुनै पनि विदेशी राष्ट्रको स्थायी वा अस्थायी आवासीय अनुमतिपत्र (पीआर वा ग्रीनकार्ड) नलिएको हुनुपर्ने ।
नेपालको परराष्ट्र नीति, अन्तर्राष्ट्रिय सम्बन्ध वा कूटनीतिक क्षेत्रमा अनुभव भएको र अंग्रेजी भाषाको राम्रो ज्ञान भएको हुनुपर्ने ।
प्रस्तावित मुलुकमा कुनै प्रकारको स्वार्थ नबाझिएको र अन्तर्राष्ट्रिय वा विदेशी सहायताबाट सञ्चालित गैरसरकारी संस्थामा हाल कार्यरत नरहेको हुनुपर्ने ।
यसअघि विदेशी राष्ट्रको तलब खाने पदमा नियुक्त भएको भए उक्त पद छाडेको कम्तीमा १० वर्ष पूरा भएको हुनुपर्ने ।
यसका साथै, अन्तर्राष्ट्रिय सम्बन्ध, राजनीति शास्त्र, कानुन, अर्थशास्त्र वा जनप्रशासनमा स्नातकोत्तर गरेको, कूटनीतिक वा उच्च सरकारी तथा कर्पोरेट तहमा नेतृत्वदायी भूमिका निर्वाह गरेको, र प्रस्तावित देशको भाषा जानेका उम्मेदवारलाई प्राथमिकता दिइने मन्त्रालयले जनाएको छ ।
आवेदन कसरी दिने?
योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले परराष्ट्र मन्त्रालयको वेबसाइट वा मन्त्रालयमा उपलब्ध तोकिएको फारम भरी आफ्नो विस्तृत व्यक्तिगत विवरणसहित मन्त्रीको सचिवालयमा बुझाउन वा अनलाइनमार्फत पेस गर्न सक्नेछन् ।
मन्त्रालयले प्राप्त दरखास्तहरूमध्येबाट प्रारम्भिक छनोट (सर्टलिस्ट) गरी मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ । मन्त्रिपरिषद्को निर्णयपछि संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएर सम्बन्धित देशबाट सहमति आएपछि मात्रै राष्ट्रपतिबाट राजदूतको औपचारिक नियुक्ति हुने व्यवस्था छ ।

प्रतिक्रिया 4