News Summary
Generated by OK AI. Editorially reviewed.- गायक पुष्पन प्रधानले भारतको दिल्लीमा काम गर्न जाने नेपालीको कथा समेटिएको नयाँ गीत दिल्ली सार्वजनिक गरे।
यो हप्ता धेरै प्रकारका गीतहरू आए । लामो समयदेखि जसलाई सुन्न श्रोताहरूले खोजिरहेका थिए, उनीहरूले पनि गीत निकाले । जस्तो, पुष्पन प्रधान, सुजन चापागाईं, सज्जनराज वैद्य आदि । हामीले उनीहरू सहित अन्य नयाँपुराना कलाकारहरूको गीतलाई एकीकृत गर्दै यो हप्ताको फ्राइडे प्लेलिस्ट तयार गरेका छौं:
दिल्ली : पुष्पन प्रधान
नेपाली संगीतमा पुष्पन प्रधानको फरक पहिचान छ । उनी मुद्दाविशेष गीत गाउँछन् । यो गीतमा पनि उनले भारतको राजधानी दिल्लीलाई एउटा पात्र बनाएर गाएका छन् । यो गीत उनी स्वयंले भोगेको, देखेको घटनाबाट प्रेरित भएर गाएको उनले खुलाएका छन् । आज पनि धेरै नेपालीहरू काम गर्न दिल्ली जान्छन् । तर, दिल्ली उनीहरूको धेरै कुराहरूको साक्षी बन्न पुग्छ । यी र यस्तै कुरा यो गीतमा छ ।
मिठ्ठो झुक्कायो मलाई त्यो मोरीले हेर
घरको न घाटको बनाई छाडिदियो हेर…
उसले भनी दिल्ली जाऊ, पैसा कमाऊ घर पठाऊ
त्यै मोरीको भरमा परी छोडी आएँ प्यारो गाउँ
आमा भन्थे नजाऊ, ऊ चाहिँ भन्थी जाऊ जाऊ
के भोगिराछु के बताउँ
ए राम राम
बिच्चामा आएछु यो ठाउँ….
जुनी : सज्जनराज वैद्य
करिब चार महिना पछि सज्जनले निकालेको यो गीत ‘जुनी’को भिजुअल अत्यन्तै राम्रो छ । स्वस्तिमा खड्का फिचर गरिएको भिडियोमा सञ्जन स्वयं पनि देखिएका छन् । फरक-फरक कालखण्डको समयमा प्रेम भाव एउटै हुन्छ भन्ने देखाइएको भिडियोग्राफीले गीतलाई पक्कै पनि सहयोग गरेको छ ।
गीत मात्र सुन्ने हो भने सञ्जनले नयाँ स्वाद ल्याउन भने सकेका छैनन् । बरू यो गीतमा पनि उनले आफ्ना पुराना हिट गीतहरूको सहायता लिएका छन् । यो गीत उनका सदावहार गीतहरूकै निरन्तरताझैं लाग्छ ।
मायालु बोलन बोल
भोलि खै के होला, नहोला
छ आज त तिमीलाई यो बाचा तिम्रै हुँ मायालु सधैं अब त
स्वर्गझैं तिम्रो बोलीमा खोजिरहुँ ईश्वरलाई
तिम्रो रचनाको अभिन्दन यात्रा बन्नलाई
गाजले सुनचरी : सुजन चापागाईं
शास्त्रीय संगीत र रक विधाको मिश्रण भएको यो गीतमा सुजन चापागाईंले फेरि आफूलाई प्रमाणित गरेका छन् । उनका हरेक गीतहरू अत्यन्तै पृथक हुने गरेका छन् । यसमा पनि सुजनले पृथक धुन लिएर आएका छन् । यो विधामा आफूलाई अत्यन्तै सहज हुने उनले एकफेर बताएका थिए । गीतमा आफ्नो प्रेमको संसारको वर्णन गरिएको छ । हर्क साउदको शब्द रहेको गीतमा नेपाल, भारतसहित मध्य एसियामा पाइने गाजले सुनचरीलाई बिम्ब बनाएर धेरै कुरा भनिएको छ ।
संसार हाम्रो हेरन राम्रो
सुसेली दिने हावाको लहर
खुसी म छु धेरै यो पल हो मेरै
उडाइलाने मनैको लहर
चिटिक्क : दिल्ली फोबो
रक शैलीको यो गीत एउटा प्रेमीको प्रशंसा हो । त्यसमा प्रेमीसँग राखेको केही इच्छा, आशा र आकांक्षाहरू गाइएको छ । शब्द र संगीत प्रशान्त शर्मा र दिल्ली फोमोको रहेको यो गीतका अन्तराहरूबीच संगीतका केही भाग अत्यन्त राम्रा छन् । त्यसमा संगीतवादकहरूले आफ्नो कौशल देखाएका छन् । तर, मुलत: रमाइलो भाव दिने गीत हो यो ।
चिटिक्क परेकी
फूलबुट्टा भरेकी
तरुनी मोरीलाई लैजान पाए
हेर न मोरीको लजाउने बानी
गुलाबी ओठमा चुम्न पाए…
नजरा : नवाज अन्सारी
नेपाली र्याप सिनमा नाम चलेका र्यापर हुन्, नवाज अन्सारी । अङ्ग्रेजी भाषाका अत्याधिक शब्द र फास्ट फ्लो उनको पहिचान जस्तै हो । यस पटकको गीत नवाज धेरै सफ्ट सुनिएका छन् । यो गीतमा उनले मेलोडी पनि गाएका छन् । सिताशासँग सहकार्य गरिएको यो गीतमा र्याप र मेलोडी दुवै सुन्न सकिन्छ । गीतका केही भाग हिन्दी भाषामा समेत गाइएको छ ।
मनै त हो : ड्राइ स्कङ्क
रक/हार्ड कोर रकको फ्यान हुनुहुन्छ भने ड्राइ स्कङ्कको यो गी तपाईंको प्लेलिस्टमा थपिन सक्छ । गीतमा हामीले गितारका हेभि रिफ र ड्रम बिटहरू सुन्न सक्छौं । ती मेलोडियस हुनुका साथै एउटा हार्डकोर रकको पूरा भाव महुसस गर्न सकिन्छ । त्यसमा हामीलाई गायकीले पनि पछुतो बनाउँदैन।
अन्धविश्वासमा हिँडिरहेको छु म
नराम्रो बाटोलाई अपनाई सही बनाउँदै छु म
रानी फूलैमा : दिपक घर्ती मगर
नीता थापा मगर, सुनिता थापा मगर, कमल घर्ती मगर र दीपक घर्ती मगरको स्वर रहेको यो गीत लोक भाकामा आधारित गीत हो । गीतको म्युजिक भिडियोमा अस्मिता बुढा मगर, अजय पुन मगर लगायतको अभिनय देख्न सकिन्छ । गीतले आफ्नो प्रेम, प्रेमिकाको बारेमा केही कुरा भन्छ । मगर संस्कृति देखाइएको यो गीतमा दोहोरी भाकामा गीत गाइएको छ ।
यी बाहेक तपाईंले मार्ब सुब्बाको ‘भित्री कुरा’. ‘शब्दकारको ‘परमार्थ’, आजै र राति (म्युजिक नेपाल – भिडियो भर्सन), ज्यानको तिर्खालाई (काजी फिल्म), पुराना कुरा (उल्टोपाल्टो – फ्यानमेड भिडियो), दी इलिमेन्ट्सको रुखको चरी (अनप्लग्ड) लगायतका गीतहरू प्लेलिस्टमा थप्न सक्नुहुन्छ ।
(फ्राइडे प्लेलिस्ट अनलाइन खबरको साप्ताहिक श्रृंखला हो । यसमा पछिल्ला साताहरूमा रिलिज भएका नयाँ गीतको चर्चा गरिन्छ । कलाकारहरूबारे जानकारी दिइन्छ । ती गीतलाई तपाईंले आफ्नो प्लेलिस्टमा राख्न सक्नुहुन्छ । यो श्रृंखला सम्पूर्ण श्रोतामा सम्पर्पित छ ।)
प्रतिक्रिया 4