News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालमा चालु आर्थिक वर्षमा फलफूल खेतीको क्षेत्रफल र उत्पादन वृद्धि भई क्रमशः १ लाख ४६ हजार ९ सय ३२ हेक्टर र १५ लाख ५० हजार ६ सय २५ टन पुग्ने प्रक्षेपण छ ।
- स्याउको व्यावसायिक विकासका लागि राष्ट्रिय फलफूल विकास केन्द्र र नेपाल कृषि अनुसन्धान परिषद्को सहकार्यमा सात रैथाने तथा नयाँ जात दर्ता भएका छन् ।
- चालु आर्थिक वर्षमा करिब ४ लाख ५० हजार गुणस्तरीय फलफूलका बिरुवा उत्पादन गरी किसानलाई वितरण गर्ने सरकारको योजना छ ।
१५ जेठ, काठमाडौं । नेपालमा फलफूल खेतीको क्षेत्रफल र उत्पादनमा क्रमिक सुधार हुँदै गएको पाइएको छ ।
आर्थिक सर्वेक्षण २०८२/८३ का अनुसार आर्थिक वर्ष २०८१/८२ मा फलफूल उत्पादन र बिरुवा वितरण अवस्था सुधारोन्मुख देखिएको हो ।
गत आव २०८१/८२ मा मुलुकभरि कुल १ लाख ४३ हजार ३ सय ८३ हेक्टर क्षेत्रफलमा फलफूल खेती गरिएको थियो, जसबाट १५ लाख १२ हजार ८ सय ५ टन फलफूल उत्पादन भएको थियो ।
चालु आव फलफूल खेती गरिएको क्षेत्रफलमा सामान्य वृद्धि भई १ लाख ४६ हजार ९ सय ३२ हेक्टर पुग्ने अनुमान गरिएको छ । यसबाट उत्पादन पनि बढेर १५ लाख ५० हजार ६ सय २५ टन पुग्ने र उत्पादकत्व प्रतिहेक्टर १०.५५ टन रहने प्रक्षेपण गरिएको छ ।
फलफूल क्षेत्र विकासका लागि राष्ट्रिय फलफूल विकास केन्द्र र नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को सहकार्यमा स्याउका सात वटा स्थानीय तथा नयाँ जात दर्ता भएका छन् ।
दर्ता भएका जातमा गोल्डेन डेलिसियस, रोयल डेलिसियस, रेड डेलिसियस, रिचा रेड डेलिसियस, स्टार्स स्पर गोल्ड, स्टार क्रिमसन डेलिसियस र ब्राइट एन अर्ली छन् ।
यी नयाँ जात विस्तारसँगै स्वदेशी स्याउ उत्पादनमा थप टेवा पुग्ने विश्वास गरिएको छ ।
सरकारी फार्म केन्द्रहरूबाट फलफूलका बिरुवा उत्पादनमा पनि तीव्रता दिइएको छ । आव २०८१/८२ मा विभिन्न सरकारी फार्मबाट सुन्तला जातका १ लाख १२ हजार २ सय ३५, वर्षे फलफूलका २ लाख ४२ हजार ७ सय ८१ र हिउँदे फलफूलका ३४ हजार २ सय १२ गरी कुल ३ लाख ८९ हजार २ सय २८ बिरुवा उत्पादन भएका थिए ।
चालु आव बिरुवा उत्पादनमा १५.६१ प्रतिशतले वृद्धि गर्ने लक्ष्य राखिएको छ । यस वर्ष करिब ४ लाख ५० हजार गुणस्तरीय फलफूलका बिरुवा उत्पादन गरी किसानलाई वितरण गर्ने सरकारको योजना छ ।
प्रतिक्रिया 4