+
+
Shares
बजेटमा शिक्षा :

विदेशी विश्वविद्यालयका क्याम्पसलाई प्रोत्साहन, पछाडि परेको समुदायलाई आवासीय विद्यालय

बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लेले भने, ‘अन्तर्राष्ट्रिय विश्वविद्यालयका क्याम्पस सञ्चालन गर्न नीतिगत प्रोत्साहन गर्ने ।’

दिनेश गौतम दिनेश गौतम
२०८३ जेठ १५ गते १९:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि शिक्षा क्षेत्रमा २ खर्ब १८ अर्ब ३० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
  • सरकारले विदेशी विश्वविद्यालयका क्याम्पस सञ्चालनमा नीतिगत प्रोत्साहन गर्ने र शैक्षिक प्रणालीको पुनर्संरचना गर्ने घोषणा गरेको छ ।
  • लक्षित विद्यार्थी छात्रवृत्तिका लागि ८ अर्ब ६० करोड रुपैयाँ विनियोजन गरिएको छ भने शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा एमबीबीएस पढाइ सुरु गरिनेछ ।

१५ जेठ, काठमाडौं । सरकारले शिक्षामा बजेट बढाएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्‌को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कूल बजेट २१ खर्ब २४ अर्ब ३४ करोड प्रस्तुत गरे । जसमध्ये शिक्षा क्षेत्रका लागि २ खर्ब १८ अर्ब ३० करोड बजेट विनियोजन गरिएको बताए । यो रकम प्रस्तावित कुल बजेटको १० दशमलव २८ प्रतिशत देखिन्छ ।

आर्थिक वर्ष २०८२/८३ मा शिक्षामा २ खर्ब ११ अर्ब १७ करोड बजेट छुट्याइएको थियो । यो वर्ष ७ अर्ब रकम बढेको छ । सरकारले गुणस्तरीय शिक्षामा जोड दिएको दाबी गरेको छ । तर बजेटसँगै घोषित शिक्षाका कार्यक्रममा प्राज्ञहरूले मिश्रित धारणा राखेका छन् ।

विदेशी विश्वविद्यालयका क्याम्पस सञ्चालनमा प्रोत्साहन

सरकारले विदेशी विश्वविद्यालयका क्याम्पस सञ्चालनमा प्रोत्साहन गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लेले भने, ‘अन्तर्राष्ट्रिय विश्वविद्यालयका क्याम्पस सञ्चालन गर्न नीतिगत प्रोत्साहन गर्ने ।’ २०८२ फागुनसम्म वैदेशिक सम्बन्धन प्राप्त क्याम्पसको सङ्ख्या नेपालमा ५७ वटा पुगेको छ ।

विदेशी विश्वविद्यालयका क्याम्पस सञ्चालन गर्न शिक्षा मन्त्रालयले अनुमति दिने गरेको थियो । यसलाई अब नीतिगत व्यवस्था गर्ने निर्णयमा सरकार पुगेको हो ।

देशका विश्वविद्यालयमा विद्यार्थी न्यून भइरहँदा विदेशीलाई प्रोत्साहन दिएकोमा प्राज्ञहरूले प्रश्न गर्दै आइरहेका छन् । ‘विदेशमा पढेर आएकाले स्वदेशीलाई कसरी मान्यता दिने ?,’ प्रा.डा. विद्यानाथ कोइरालाले व्यंग्य गर्दै भने, ‘यसमा अव्यवस्थित थियो । नीतिगत स्पष्टता दिन खोजेको देखियो । अहिले मात्र होइन पहिलाका मन्त्रीहरूले पनि खर्न खोजेका थिए ।’

अन्तर्राष्ट्रिय स्तरका उच्च श्रेणीमा रहेका विश्वविद्यालयलाई सञ्चालन गर्न नीतिगत व्यवस्था गर्ने भनिएको छ । साथै स्वदेशी र विदेशी प्राध्यापकहरूबीच प्राज्ञिक आदानप्रदान कार्यक्रम सुरु गर्ने योजना सरकारको छ ।

तर, विदेशी क्याम्पसलाई सम्बन्धन अनुमति दिँदा पारदर्शी बनाउनु पर्ने मत राख्छन् प्रा.डा. बालचन्द्र लुईंटेल । ‘कस्तोलाई दिने, कस्तोलाई नदिने भनेर छुट्याउनु पर्छ । पारदर्शी प्रक्रिया अपनाउनु पर्छ,’ उनले भने । यसअघि सम्बन्धन दिने प्रक्रियामा विवाद हुने गरेको थियो । त्यसैले प्राज्ञहरूले पारदर्शितामा जोड दिएका हुन् ।

‘अघिल्ला सरकारले ल्याएका बजेट पनि नराम्रा थिएनन् । कार्यान्वयन नभएको हो । यसपटक शिक्षकको मनोबल बढाउने खालको छ । तलब बढाएपछि काम लगाउन सकिन्छ,’ प्रा.डा. लुईंटेलले भने, ‘शिक्षामा सुशासन ल्याउने हाने भने सुधार गर्न सकिन्छ । दरबन्दी मिलान र विद्यालयलाई चाहिने स्रोत भयो भने हुन्छ ।’

प्रणालीगत पुनर्संरचना

शैक्षिक इकोसिस्टममा प्रणालीगत पुनर्संरचना गर्ने घोषणा सरकारले गरेको छ । ‘राष्ट्रिय विद्यालय नक्साङ्कन र पूर्वाधार अडिट, शिक्षक क्षमता परीक्षण, एआई तथा एड–टेक तत्परता मूल्याङ्कन समेतका आधारमा नवप्रवर्तन तथा सिप केन्द्रित शिक्षा विस्तार गर्न विद्यालय शिक्षामा लगानी बढाउने छौं,’ बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लेले भने ।

विद्यालय केन्द्रित प्रणालीमा रूपान्तरण गर्दै शैक्षिक गुणस्तर अभिवृद्धि र पूर्वाधार निर्माणमा अभिभावकीय सहयोग स्वीकार गर्ने नीति सरकारले लिएको छ । ‘विद्यालय व्यवस्थापन समितिलाई गुणस्तरीय शिक्षा सुनिश्चितताको माध्यम बनाउने छौँ । सम्पूर्ण शैक्षिक संस्थामा सफा शौचालय अभियान सञ्चालन गर्नेछौं,’ उनले भने ।

सरकारले गुणस्तरीय शिक्षामा जोड दिएको छ । मुलुकभरका सामुदायिक विद्यालयहरूको पूर्वाधार आवश्यकताको म्यापिङ गर्न १ अर्ब रुपैयाँ विनियोजन गरिएको छ । विभिन्न प्रदेशका सामुदायिक विद्यालयमा कक्षा ५ देखि कक्षा ८ सम्म अध्ययनरत विद्यार्थी तथा शिक्षक विद्यार्थी आदानप्रदान कार्यक्रम सञ्चालन गरिने भएको छ ।

आवासीय विद्यालय सञ्चालन

सरकारले आवासीय विद्यालय सञ्चालनमा जोड दिएको छ । ‘मानव विकास सूचकाङ्कमा पछाडि परेका समुदायको आधारभूत शिक्षामा पहुँच सुनिश्चित गर्न आवासीय विद्यालय सञ्चालन गर्नेछौं। यस कार्यक्रम चितवन जिल्लाको चेपाङ समुदायबाट सुरु गर्नेछौं,’ अर्थमन्त्री वाग्लेले भने ।

दुर्गम क्षेत्रमा शिक्षा तथा स्वास्थ्य पूर्वाधार निर्माण र सेवा विस्तारमा सघाउ पुर्‍याउन निजी क्षेत्रले प्रदान गर्ने शिक्षा तथा स्वास्थ्य सेवामा न्यूनतम दरमा समता शुल्क लगाउने सरकारले घोषणा गरेको छ ।

छात्रवृत्ति र सङ्गीत, कला तथा साहित्य अध्ययनमा जोड

विद्यालयतहदेखि उच्च शिक्षासम्मका लक्षित विद्यार्थी छात्रवृत्तिका लागि ८ अर्ब ६० करोड रुपैयाँ विनियोजन गरिएको छ । सरकारले सङ्गीत, कला तथा साहित्यसम्बन्धी अध्ययनलाई देशैभर प्रबर्द्धन गर्ने घोषणा गरेको छ ।

राजगुठी लगतमा दर्ता रहेको त्रिपुरेश्वर महादेव मन्दिर परिसरमा गुठी रिसर्च इन्स्टिच्युट एवं एथ्नोम्युजिकोलोजी सेन्टर स्थापनाका लागि सहयोग गर्ने घोषणा सरकारले गरेको छ ।

विश्वविद्यालयलाई शैक्षिक, प्रशासनिक तथा वित्तीय स्वायत्तता प्रदान गरी लागत साझेदारी मोडेलमा सञ्चालन गर्न कानुनी प्रबन्ध मिलाउने योजना सरकारको छ ।

विदेशमा रहेकाले उच्च शिक्षा अध्ययन गर्न सक्ने

वैदेशिक रोजगारीमा रहेका युवालाई खुला विश्वविद्यालय अन्तर्गत अध्ययनको अवसर प्रदान गर्ने घोषणा सरकारले गरेको छ । अहिले पनि विदेशमा रहेका नेपालीले खुला विश्वविद्यालयमा अनलाइनबाट पढिरहेका पनि छन् ।

सुदूरपश्चिम प्रदेशको गेटास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा शैक्षिक सत्र २०८३/८४ देखि एमबीबीएस लगायत चिकित्सा शिक्षाका चारवटा विधामा कार्यक्रम सञ्चालन गर्ने घोषणा सरकारले गरेको छ ।

उच्च शिक्षालाई अनुसन्धान, नवप्रवर्तन, ज्ञान उत्पादन र राष्ट्रिय क्षमता निर्माणको केन्द्रका रूपमा पुनर्संरचना गर्ने घोषणा सरकारले गरेको छ । चिकित्सा, नर्सिङ, सूचना प्रविधि लगायत उच्च शिक्षाका विभिन्न विधामा हाल लगाइएको कोटालाई चालु आर्थिक वर्षभित्र पुनरावलोकन गरी उल्लेख्य वृद्धि गर्ने घोषणा अर्थमन्त्री वाग्लेले गरे ।

लेखक
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?