News Summary
Generated by OK AI. Editorially reviewed.- सङ्घीय र प्रदेश सरकारका योजनाहरूबाट पाँचथर जिल्लामा २ सय ८५ किलोमिटर सडक कालोपत्र भएको छ ।
- पूर्वाधार कार्यालयका प्रमुख शैलेन्द्र कुमार सिंहका अनुसार प्रदेश सरकारमार्फत पाँचथरका ग्रामीण क्षेत्रमा ६० किलोमिटर सडक कालोपत्र भएको छ ।
- कुम्मायक गाउँपालिकाका अध्यक्ष बम लावतीले भने, "हामीलाई कालोपत्र सडकले सुविधा दिएको छ ।"
१६ जेठ, पाँचथर । पूर्वी पहाडी जिल्ला पाँचथरका विभिन्न गाउँहरूसम्म कालोपत्र सुविधा बढेको छ । प्रदेश सरकार र सङ्घीय सरकारका योजनाले विभिन्न गाउँमा कालोपत्र सडक पुगेको हो ।
सडक कालोपत्र भएसँगै गाउँमा सुविधा पुगेको छ । आवागमन, समान ओसार पसारमा सजिलो भएको देखिन्छ ।
मेची राजमार्ग, मध्यपहाडी लोकमार्ग, तमोर करिडोर, प्रदेश सरकारको सडकसहित पाँचथरमा २ सय ८५ किलोमिटर सडक बनेको छ । यसका साथै, विभिन्न ग्रामीण बजार भित्र र सदरमुकाम आसपासमा पनि थोरै थोरै किलोमिटरका कालोपत्र सडक बनेका छन् ।
गाउँसम्म कालोपत्र सडक बनेसँगै यातायातमा सुविधा थपिएको देखिन्छ । प्रदेश सरकार बनेपछि पूर्वाधार कार्यालयबाट विभिन्न सडक बनेका छन् ।
ग्रामीण क्षेत्र जोड्ने गरी प्रदेश सरकार मार्फत ६० किलोमिटर कालोपत्र बनेको पूर्वाधार कार्यालय पाँचथरका प्रमुख शैलेन्द्र कुमार सिंहले जानकारी दिए । ‘विभिन्न बहुवर्षीय आयोजना सम्पन्न भएका छन । हामीले बनाएका सडकले गाउँहरू जोडेका छन’, उनले भने, ‘विपद्को पुनः निर्माण र क्रमशः कालोपत्र गर्ने सडकलाई पूर्णता दिन आवश्यक छ ।
प्रदेश सरकारबाट लखुवादोभान–मौवा १५ किलोमिटर, यासोक–तमोर करिडोर १३ किलोमिटर, फिदिम– फालोट १०, लुम्फाबुङ–नवमीडाँडा १४ किलोमिटर, फिदिम–रानीटार ७ दशमलव ५ किलोमिटर सडक कालोपत्र भएको छ ।
मेची राजमार्गले पाँचथरका अधिकांश ग्रामीण क्षेत्र जोड्छ । पाँचथरमा ८९ किलोमिटर मेची राजमार्ग रहेको छ । यस्तै, तमोर करिडोरको पाँचथर खण्डक ५१ किलोमिटर कालोपत्र भएको छ । तमोर आसपासका गाउँ तमोर करिडोरले जोडेको छ भने यो तराइ र सुविधा सम्पन्न सहर जोड्ने छोटो बाटो हो ।
राष्ट्रिय गौरवको आयोना मध्यपहाडी लोकमार्गको २० किलोमिटर कालोपत्र भएको छ । सडक डिभिजन इलामले यासोक–उत्तरे १२, दशमी आरुबोटे १२ दशमलव २ किलोमिटर कालोपत्र गरेको छ ।
फिदिम फालोट सडकको नागिन–सिदिन–प्राङबुङ २५ किलोमिटर र मायालु मोड नवमिडाडाँ १५ किलोमीटर आरसीआईपिले कालोपत्र गरेको छ । ग्रामीण क्षेत्रसम्म कालोपत्र पुगेसँग विभिन्न ठाउँका बासिन्दाले सुविधा पाएको देखिन्छ ।
‘हामीलाई कालोपत्र सडकले सुविधा दिएको छ । फिदिमबाट यासोक, उत्तरे–यासोक र तमोर करिडोरको कालोपत्रले हामीलाई सुविधा दिएको छ’ कुम्मायक गाउँपालिकाका अध्यक्ष बम लावती भन्छन्, ‘सडक कालोपत्र भएपछि सुविधा पुग्नेनै भयो । विकासको मुख्य आधारनै सडक भएकाले अन्य विकासका गतिविधि सञ्चालन गर्न पनि सहज भएको छ ।’
जोरपोखरी–काउले–मेमेङ सडकको एकलेनमा १२ किलोमिटर कालोपत्र भएको छ । पछिल्लो समयमा इन्धनको मूल्य बढेर यो काम रोकिएको छ । यो सडक ३० किलोमिटर कालोपत्र गर्ने गरी काम अघि बढाइएको थियो ।
‘ठेक्का लागेका सडक कालोपत्र भइसक्दा पाँचथरमा सडक पूर्वाधार विकासले फड्को मार्ने देखिन्छ । विपद्ले दु:ख दिइरहे पनि सडक स्तरोन्नतिको कामले पनि गति लिएको छ’, सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भटराई भन्छन्, ‘पहाडका गाउँ गाउँमा सडक पुग्नु निक्कै सुखद हो । बनेका सडकलाई संरक्षण गर्दै लैजानु पर्छ ।’
ठेक्का लागेका सबै सडक पुरा हुने हो भने पाँचथरका धेरै ठाउँमा कालोपत्र पुग्ने देखिन्छ । तमोर करिडोरको हाङठुवा–अमरपुर, मध्यपहाडी चिवाभञ्ज्याङ–थर्पु, राँके भेडेटार सडकको राँके–रवि–वुधवारे खण्ड, जोरपोखरी–फालोट, फिदिम फालोटको प्राङबुङ खण्ड कालोपत्रको काम सक्ने हो भने धेरै ठाउँमा सुविधा पुग्ने देखिन्छ ।
यी सडकको काममा भने ढिलाइ भइरहेको छ । पछिल्लो वर्ष भने प्रदेश र संघ सरकारले थप बाटो कालोपत्र गर्नका लागि बजेट छुट्याएका छैनन् ।
प्रतिक्रिया 4