१६ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह निर्वाचनमा पार्टीबाट उम्मेदवार हुन लिडरसीप एकेडेमीमा भर्ना भएर कोर्ष पूरा गर्नु अनिवार्य हुने बताएका छन् । शनिबार नेपाल थारु संघको प्रथम महाधिवेशन उद्घाटन सत्रमा सम्बोधन गर्दै सभापति थापाले लिडरसीप एकेडेमीको कोर्ष पूरा नगरेका नेतालाई उम्मेदवार नबनाइने बताएका हुन् ।
‘हामीले अहिले नेतृत्वको छुट्टै युनिट बनाएका छौं, लिडरसीप एकेडेमी भनेर । जसमा केही दिनमा हामी यसमा खुला आह्वान गर्छौं,’ सभापति थापाले भने, ‘७५३ पालिकामा निर्वाचन लड्न चाहना भएको कोही पनि हुनुहुन्छ म उम्मेदवार बन्न चाहन्छु भनेर, कोही दोहोरिन चाहनुभएको छ, नयाँ उम्मेदवार बन्न चाहनुभएको छ । अनिवार्य रूपमा लिडरसीप एकेडेमीमा भर्ना हुनैपर्छ । र, एउटा कोर्ष पूरा गर्नैपर्छ ।’
त्यो कोर्ष पूरा गरिसकेपछि मात्रै उम्मेदवारका लागि योग्य बन्ने उनले बताए ।
‘त्यहाँ महिला बनाउने हो भने अहिलेदेखि नै बढी भन्दा बढी महिला कोर्षमा भर्ना गराउनुपर्यो,’ उनले भने ।
यसपटक ७५३ पालिकामध्ये कम्तीमा पनि १०० वटा पालिकामा मेयर वा अध्यक्ष महिला उम्मेदवार बनाउने पार्टीको तयारी रहेको पनि सभापति थापाले बताए ।
यसमा सबै लाग्नुपर्ने उनले बताए । ‘मैले यहाँ बोलिदिए भैहाल्छ भन्ने हुन्न । अहिलेदेखि सबै लाग्नुपर्छ । मेहनत गर्नुपर्नेछ । काम गर्नुपर्छ,’ उनले भने ।
यसका लागि इलेक्सन ब्युरो बनाएको र त्यसको नेतृत्व पुष्पा भुसालले गरिरहेको उनले बताए ।
समुदायका हिसाबले पनि कांग्रेस यसपटक बढीभन्दा बढी लिएर निर्वाचनमा जाने उनले बताए ।
प्रतिक्रिया 4