१६ जेठ, ललितपुर । नेपाल पत्रकार महासंघ ललितपुर शाखाले प्रकाशन गरेको ‘ललितपुरको पत्रकारिता इतिहास’ पुस्तक शनिबार विमोचन गरिएको छ ।
नेपाल पत्रकार महासंघ ललितपुर शाखाको २५औँ वार्षिक साधारण सभाका अवसरमा आयोजित कार्यक्रममा पूर्वप्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले पुस्तकको विमोचन गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै राउतले पुस्तकलाई ललितपुरको पत्रकारिता क्षेत्रको महत्वपूर्ण दस्तावेजको रूपमा व्याख्या गर्दै यसको प्रकाशनका लागि शाखालाई धन्यवाद दिए । लोकतान्त्रिक व्यवस्थामा पत्रकारले वाक तथा अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गर्दै नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनले बताए ।
सोही अवसरमा पत्रकारिता क्षेत्रमा योगदान पुर्याएका सात जना पत्रकारलाई विभिन्न पुरस्कारबाट सम्मान गरिएको थियो । राजधानी दैनिकका डिल्ली आचार्य र रातोपाटीका नरेश ज्ञवालीलाई हीरा–सिद्धि क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो । उनीहरूलाई लामो समयदेखि पत्रकारितामार्फत समाज परिवर्तनका लागि उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै सम्मान गरिएको हो ।
यस्तै, नयाँ सडक दैनिकका ज्ञानप्रसाद पौडेललाई धर्मरत्न शाक्य जीवन्त पत्रकारिता पुरस्कार तथा नेपालखबरका जनार्दन पोखरेललाई राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो ।
दियोपोष्टकी रीता बुढाथोकीलाई क्यान्सर रोगसम्बन्धी सचेतनामूलक पत्रकारितामा योगदान पुर्याएको भन्दै सम्राट आचार्य स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो ।
यसैगरी, नेपाल टेलिभिजनका ईश्वर महर्जन र मिडियासञ्चार डटकमका केदारनाथ दाहाललाई ललितपुरका विषयवस्तु उजागर गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै ललितपुर पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ ललितपुर शाखाका अध्यक्ष रामहरि कार्कीले शाखाले विगत डेढ वर्षको अवधिमा पत्रकारहरूको वृत्ति विकासका लागि विभिन्न तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरेको जानकारी दिए ।
प्रतिक्रिया 4