News Summary
Generated by OK AI. Editorially reviewed.- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युक्रेनमाथि पुनः अर्को ठूलो आक्रमणको तयारी गरिरहेको चेतावनी दिएका छन्।
- गत साता रुसले युक्रेनमा आणविक क्षमतायुक्त ओरेश्निकी मिसाइलसहित ९० वटा मिसाइल र ६०० वटा ड्रोन प्रहार गरेको थियो।
- राष्ट्रपति जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पत्र लेख्दै प्याट्रियट मिसाइल रक्षा प्रणाली र थप गोलाबारुद उपलब्ध गराउन आग्रह गरेका छन्।
१६ जेठ, काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युक्रेनमाथि पुनः एक पटक अर्को ठूलो आक्रमणको तयारी गरिरहेको जानकारी दिएका छन्।
रुसले नयाँ र भीषण आक्रमणको तयारी गरिरहेको गुप्तचरी सूचना प्राप्त भएको उल्लेख गर्दै उनले शुक्रबार ढिलो गरी सामाजिक सञ्जालमार्फत आफ्ना नागरिकहरूलाई हवाई आक्रमणको साइरन सुन्नासाथ सुरक्षित स्थानमा जान र सतर्क रहन आग्रह गरेका छन्। आफ्नो देशको वायुसेना र आकाशको रक्षा गर्ने सुरक्षाकर्मीहरू चौबिसै घण्टा तैनाथ रहने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।
रुसले गत साताको अन्त्यमा किभ क्षेत्रलाई लक्षित गरी ९० वटा मिसाइल र ६०० वटा ड्रोन सहित आणविक क्षमतायुक्त ओरेश्निकी मिसाइल प्रहार गरेलगत्तै जेलेन्स्कीको यो चेतावनी आएको हो।
रुसले सन् २०२४ मा पहिलो पटक डिप्रोमा प्रयोग गरेको यो मध्यम दूरीको ब्यालिस्टिक मिसाइलको पछिल्लो प्रहारलाई लिएर युरोपेली नेताहरूले रुसको कडा आलोचना गरेका छन्।
यसैबीच, जेलेन्स्कीले अमेरिका समक्ष प्याट्रियट मिसाइल रक्षा प्रणाली थप उपलब्ध गराउन आफ्नो मागलाई पुनः दोहोर्याएका छन्। ब्यालिस्टिक मिसाइल, क्रुज मिसाइल, ड्रोन र विमानहरूलाई आकाशमै ध्वस्त पार्न यो प्रणाली प्रयोग गरिन्छ।
जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पत्र लेख्दै यस प्रणालीका लागि थप गोलाबारुद उपलब्ध गराउन आग्रह गरेका छन्। अस्तित्वको लडाइँ लडिरहेको राष्ट्रका लागि मिसाइल विनाको प्याट्रियट ब्याट्रीहरू हेर्नु भन्दा पीडादायी कुरा अरू केही नहुने उनले पत्रमा उल्लेख गरेका छन्।
(एजेन्सीहरूको सहयोगमा)
प्रतिक्रिया 4