१७ जेठ, काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न भूभागमा बदली, वर्षा तथा हुरी चल्ने पूर्वानुमान गरेको छ ।
उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक सक्रिय रहेको न्यून चापीय रेखाको प्रभावका कारण बदली, वर्षा तथा हुरीको पूर्वानुमान गरिएको हो ।
महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका अधिकांश हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लागेको छ । तराई क्षेत्रमा आंशिक बादल लागेको छ । लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा वर्षा तथा गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहने तथा बाँकी तराई क्षेत्रमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।
मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ ।
यसैगरी, आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका हिमाली भूभागमा साधारणतया बदली रहनेछ भने पहाडी भूभाग तथा लुम्बिनी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहने जनाइएको छ । बाँकी तराई भूभागमा मुख्यतया मौसम सफा रहने महाशाखाको पूर्वानुमान छ ।
सुदूरपश्चिम र कर्णाली प्रदेशका साथै गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही तथा लुम्बिनी प्रदेशको तराई र कोशी तथा बागमती प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना पनि छ ।
महाशाखाले लुम्बिनी प्रदेशको तराई क्षेत्रका केही स्थानमा हुरी चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन र मौसमसम्बन्धी पछिल्ला सूचनामा अद्यावधिक रहन सम्बद्ध सबैमा आग्रह गरेको छ ।
प्रतिक्रिया 4