News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री बालेन शाहले नेपालको सीमा विवादबारे भारत र चीनबाहेक इंग्ल्यान्डसँग पनि कुरा गरिएको बताएका छन् ।
- ब्रिटिश इन्डिया छोड्दादेखिको समस्या भएकाले सीमा विवादमा इंग्ल्यान्डले पनि सरोकार राख्नुपर्ने प्रधानमन्त्रीको भनाइ छ ।
- भारतले मात्र नभई नेपालले पनि भारतको जग्गा मिचेको जानकारी आफूले पाएको भन्दै उनले साथीको रुपमा समस्याको समाधान खोजिने बताए ।
१७ जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले नेपालको विवादित भूभागबारे भारत र चीनका साथै इंग्ल्याण्डसँग पनि कुरा गरेको बताएका छन् । आज प्रतिनिधि सभा बैठकमा सांसदका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले सो जानकारी गराएका हुन् ।
‘भारत र चीनमात्रै नभइ इंग्ल्यान्ड सरकारसँग पनि कुरा गरेका छौं,’ प्रधानमन्त्री शाहले भने, ‘उहाँहरू ब्रिटिश इन्डिया छाड्दैगर्दाको समस्या अहिलेसम्म भइरहेको हुँदा यसमा इंग्ल्यान्डले पनि सरोकार राख्नुपर्छ भन्ने हाम्रो मान्यता हो ।’
एमाले सांसद पद्मा अर्यालले नेपालको भूमि प्रयोग भारत र चीनले व्यापारिक मार्ग खोलेको विषयमा सरकारको धारणा मागेकी थिइन् ।
सोहीक्रममा प्रधानमन्त्री बालनले यसबारे नेपाल सरकारले भारतलाई डिप्लोमेटिक नोट पठाएको र भारतबाट त्यसको जवाफ पनि आइसकेको जानकारी दिए । ‘त्यो जवाफमा दुवै सरकारले आफ्नो इतिहासविद् राखेर भूमिसम्बन्धी जानकारी भएका व्यक्तिहरू राखेर टेबल टकमार्फत समाधान गर्ने कुरा भएको छ,’ उनले भने ।
‘नेपालले पनि भारतको जग्गा मिचेको थाहा पाएँ’
भारतले मात्र नभई नेपालले पनि भारतको जग्गा मिचेको जानकारी आफूले पाएको उनले बताए । ‘तपाईंहरुलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि प्रधानमन्त्री भएपछि नै थाहा पाएँ,’ प्रधानमन्त्री शाहले भने, ‘भारतले नेपालको जग्गा मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ । यो कुरा चाहिँ अँस्ती भर्खर मात्र थाहा पाइयो ।’
यो समस्याको समाधान साथीको रुपमा खोज्ने उनले बताए । उनले भने, ‘दुईटै देशले अध्ययन गरेर, हामीले मिचेको छौं वा हाम्रो मिच्नुभएको छ वा के छ, त्यसलाई बसेर एउटा साथीको रुपमा समाधान गर्ने हामीले सोच राखेका छौं ।’
प्रतिक्रिया 4