+
+
Shares

आहा ! अजिरकोटको त्यो नागेपोखरी (फोटो फिचर)

आकाश (ना) बाट बर्षेको पानी (क्यू) ले बनेको पोखरी भन्ने अर्थमा यस दहलाई नाक्यू पोखरी  भनिन्थ्यो । नाग पञ्चमीका दिन विशेष मेला लाग्न सुरु भएपछि यसको नाम नागेपोखरी हुन गयो ।

विकास मरहट्टा विकास मरहट्टा
२०८३ जेठ २१ गते १५:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अजिरकोट गाउँपालिकाले नागेपोखरी क्षेत्रलाई समेटेर बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किट ट्रेल विकास गर्न विस्तृत परियोजना प्रतिवेदन तयार गरी काम अघि बढाएको छ ।
  • डिभिजन वन कार्यालय गोरखाले सिमसार क्षेत्र तथा पर्यापर्यटन प्रवर्द्धन कार्यक्रम अन्तर्गत नागेपोखरीको संरक्षण र पूर्वाधार निर्माणका योजना अघि सारेको छ ।
  • गोरखाको अजिरकोटमा रहेको पर्यटकीय तथा धार्मिक स्थल नागेपोखरीमा बास बस्न होटल नहुँदा पर्यटकहरू एकै दिनमा फर्कनुपर्ने बाध्यता छ ।

२१ जेठ, गोरखा । अजिरकोट गाउँपालिकाको प्रमुख पर्यटकीय गन्तव्यमध्येको एक हो, नागेपोखरी ।

समुद्री सतहबाट करिब ३२ सय मिटर उचाइमा अवस्थित यस स्थल पछिल्लो समय पर्यटकको रोजाइको केन्द्रबिन्दु बन्ने गरेको छ । पालिकाका अनुसार यहाँ आन्तरिक पर्यटकहरूको चाप बढी हुन्छ ।

भच्चेकको सिरानडाँडाबाट करिब पाँच घण्टाको पैदल यात्रापछि यस ठाउँमा पुगिन्छ । यस स्थलबाट प्राकृतिक एवं मनोरम दृश्यसँगै बुद्ध र गणेश हिमाललाई नजिकबाट नियाल्न पाइन्छ ।

चार प्रकारका गुराँस (रातो, सेतो, गुलाफी र निलो) फुल्छन् । वरपर ढकमक्क फुलेको गुराँसले पोखरीको सौन्दर्यता थप बढाउँछ । ट्रेकिङ रुटको लागि प्रख्यात यस स्थलको धार्मिक एवं ऐतिहासिक महत्व पनि छ ।

‘धेरै जसो ट्रेकिङ र हाइकिङका लागि यहाँ आउँछन्,’ पालिका अध्यक्ष दिपक देवकोटाले भने, ‘कतिपय धार्मिक कार्यका लागि पनि आउनुहुन्छ ।’ उनका अनुसार, यो पोखरीको छुट्टै धार्मिक मान्यता र विश्वास छ ।

कैलाश पर्वतको गोप्य ओडारमा अमृतमय विष धारण गरेर बस्ने दुर्लभ नागदेवबाट वर्षा भएको अमृत जलले यस पोखरी बनेको भन्ने धार्मिक विश्वास रहेको उनले बताए ।

‘कैलाश पर्वतको गोप्य ओडारमा अमृतमय विष धारण गर्ने दुर्लभ नाग बस्दछन् । त्यस नागको विषको गुण वरिपरिका वनस्पतिमा समेत प्रसारण हुदाँ हिमाली भेग अद्धितीय जडीबुटीका भण्डार भएका हुन् । उक्त नगदेवबाट वर्षा भएको अमृत जलले यस पोखरी बनेको हो भन्ने जनविश्वास छ,’ उनले भने ।

आकाश (ना) बाट बर्षेको पानी (क्यू) ले बनेको पोखरी भन्ने अर्थमा यस दहलाई नाक्यू पोखरी  भनिन्थ्यो । नाग पञ्चमीका दिन विशेष मेला लाग्न सुरु भएपछि यसको नाम नागेपोखरी हुन गयो ।

यो मूलत नागदह भएपनि यसलाई नागेश्वर महादेव, नागार्जुन लगायतका विभिन्न देवीहरूको तिर्थस्थल मानिन्छ । यस स्थलमा योग, ध्यान, जप, हवन जस्ता साधना गरे दोषहरू नाश हुने धार्मिक विश्वास पनि छ । बिशेष गरी नागपञ्चमीका दिन यहाँ विशेष मेला लाग्छ ।

बास बस्नका लागि होटल/लजहरू यहाँ छैनन् । बास बस्न चाहनेले आवश्यक खाद्यान्नदेखि बासस्थानको सबै सामग्री आफूसँगै बोकेर लानुपर्छ । केही खर्कहरू भएपनि वासस्थानका लागि उपयुक्त छैनन् । त्यसैले धेरैजसो पर्यटकहरू बिहान जाने र बेलुकी फर्कने गर्छन् ।

यसस्थलमा पर्यटन प्रवर्द्धनका लागि पालिकाले बिभिन्न योजना कार्यान्वयन गरिरहेको अध्यक्ष देवकोटाले बताए । यस रूटलाई समेटेर बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किट ट्रेलको रुपमा विकास गर्ने काम भइरहेको उनले जानकारी दिए । ‘यो ट्रेल रुविनालाबाट सुरु भएर दुधपोखरी, दोर्दी हुदैँ मर्स्याङदीमा गएर टुंगिन्छ, पर्यटन बोर्डसँगको समन्वयमा यसको डीपीआर समेत गरेर काम अघि बढाइसकेका छौं,’ उनले भने ।

उक्त रूटलाई चुमनुव्रीको मनास्लु पदमार्गमा जोड्ने योजना समेत रहेको उनको भनाइ छ । खर्क सुधारसँगै खानेपानीको योजना निर्माणको काम समेत पालिकाले गरिरहेको उनले बताए ।

विभिन्न प्रकारका जडीबुटी र जीवजन्तु पाइने भएकाले अध्ययन अवलोकन मात्र नभई रिसर्चका लागि पनि यस ठाउँ उपयुक्त रहेको धारणा उनले राखे ।

जग्गा भोगाधिकारको बिषयमा केही समस्या भएकाले योजना अनुसारको काम अघि बढाउन केही कठिनाइ भएको पालिकाले जनाएको छ । समाधानका लागि आवश्यक समन्वय समेत भइरहेको बताइएको छ ।

ऐतिहासिक एवं धार्मिक महत्वको यस पोखरी संरक्षणका लागि डिभिजन वन कार्यालयले केही योजना अघि सारेको छ । पोखरी संरक्षणका लागि डिलमा ढुंगाको गारो लगाउने र पोखरी सरसफाइ गर्ने योजना रहेको कार्यालय प्रमुख मदन मोहन शाण्डिल्यले बताए ।

सिमसार क्षेत्र तथा पर्यापर्यटन प्रवर्द्धन कार्यक्रम अन्तरगत उक्त कार्य गर्न लागिएको उनले जानकारी दिए । पर्यापर्यटन प्रवर्द्धनका लागि नयाँ फुट ट्रेल, वस्ती जस्ता पूर्वाधार निर्माण गर्ने योजना समेत रहेको उनको भनाइ छ ।

लेखक
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?