+
+
Shares

आज विश्व वातावरण दिवस : किन मनाइन्छ ? कहिलेदेखि मनाउन थालियो ?

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २२ गते ६:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालमा आज \'समृद्ध भविष्यको आधार : जलवायु एवं प्रकृतिमैत्री विकास\' भन्ने मूल नाराका साथ विश्व वातावरण दिवस २०२६ मनाइँदैछ ।
  • दिवसका अवसरमा ललितपुरमा आयोजना हुने विशेष समारोहमा कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरी प्रमुख अतिथिका रूपमा सहभागी हुनेछिन् ।
  • संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९७२ मा गरेको निर्णयअनुसार सन् १९७३ देखि हरेक वर्ष जुन ५ मा विश्व वातावरण दिवस मनाउन थालिएको हो ।

२२ जेठ, काठमाडौं । विश्व वातावरण दिवस २०२६ आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । ‘समृद्ध भविष्यको आधार : जलवायु एवं प्रकृतिमैत्री विकास’ मूल नारासहित सप्ताहव्यापी रूपमा दिवस मनाउन लागिएको हो ।

दिवसका अवसरमा वातावरण विभागले ललितपुरमा विशेष कार्यक्रम आयोजना गर्दैछ । विश्व वातावरण दिवसको मुख्य समारोहमा कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरी प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम छ ।

वातावरण विभागले विभिन्न सरकारी निकाय, विकास साझेदार, वातावरणविद् तथा सरोकारवाला कार्यक्रममा उपस्थिति हुने जनाएको छ ।

विभागका महानिर्देशक ज्ञानराज सुवेदीले वातावरण संरक्षण, जलवायु परिवर्तनका चुनौती सामना तथा प्रकृतिमैत्री विकास प्रवर्द्धनका विषयमा जनचेतना अभिवृद्धि गर्न विश्व वातावरण दिवस विशेष रूपमा मनाउन लागिएको जानकारी दिए ।

विश्व वातावरण दिवसका अवसरमा देशभर विभिन्न जनचेतनामूलक तथा वातावरण संरक्षणसम्बन्धी कार्यक्रम सञ्चालन गरिने विभागले जनाएको छ ।

यस्तो छ जुन ५ मा विश्व वातावरण मनाउनुको कारण

सन् १९७२ को जुन ५ देखि जुन १६ सम्म संयुक्त राष्ट्रसङ्घको महासभाले स्विडेनको स्टकहोममा पहिलो पटक विश्व वातावरण सम्मेलन आयोजना गरेको थियो । वातावरण संरक्षणका लागि विश्वका देशहरू एकै ठाउँमा उभिएको त्यो पहिलो ठूलो ऐतिहासिक पाइला थियो । त्यही सम्मेलनको सम्झना र महत्त्वलाई कदर गर्दै संयुक्त राष्ट्रसंघले जुन ५ लाई ‘विश्व वातावरण दिवस’ को रूपमा मनाउने घोषणा गरेको थियो । त्यसको अर्को वर्ष, अर्थात् ५ जुन १९७३ मा पहिलो पटक आधिकारिक रूपमा यो दिवस मनाउन सुरु गरिएको हो ।

नेपालमा विश्व वातावरण दिवस औपचारिक र संस्थागत रूपमा सन् १९८० र १९९० को दशक (वि.सं. २०३७–२०४७ तिर) देखि व्यापक रूपमा मनाउन थालिएको हो ।

सुरुवाती दिनहरूमा वन तथा वातावरण मन्त्रालय र केही सीमित गैरसरकारी संस्थाहरूले मात्र कार्यक्रम गर्थे भने, अहिले नेपालका विद्यालय, स्थानीय तह, युवा क्लब तथा समुदायस्तरमै पनि वृक्षारोपण, सरसफाइ र सचेतना कार्यक्रमहरू गरेर यो दिवस उत्सवका रूपमा मनाइन्छ ।

विश्व वातावरण दिवस मनाउनुको उद्देश्य

यस दिवस मनाउनुको मुख्य उद्देश्य मानव र प्रकृतिबीचको सम्बन्धलाई मजबुत बनाउनु र वातावरण संरक्षणका लागि विश्वभर चेतना फैलाउनु हो ।

हामीले गरिरहेका मानवीय क्रियाकलापहरू (जस्तै: वनविनाश, बढ्दो प्रदूषण, प्लास्टिकको जथाभाबी प्रयोग) का कारण पृथ्वीको तापक्रम बढिरहेको छ, जलवायु परिवर्तन भइरहेको छ र जैविक विविधता संकटमा परेको छ । त्यसैले, पृथ्वीलाई आउँदो पुस्ताका लागि बस्न योग्य बनाउन, प्राकृतिक स्रोतहरूको सही सदुपयोग गर्न र नीति निर्माताहरूदेखि सर्वसाधारणसम्मलाई आफ्नो जिम्मेवारी बोध गराउन यो दिवस मनाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?