+

कर्णालीमा क्रिकेटको स्थायी संरचना बनाउँछौं : मुख्यमन्त्री कँडेल

२०८३ जेठ  २२ गते ९:२४ २०८३ जेठ २२ गते ९:२४
कर्णालीमा क्रिकेटको स्थायी संरचना बनाउँछौं  : मुख्यमन्त्री कँडेल

२२ जेठ, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा स्थायी प्रकृतिको क्रिकेट मैदान बनाउन सरकार तत्पर रहेको बताएका छन् ।

अन्डर–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको शुक्रबार वीरेन्द्रनगरमा उद्घाटन गर्दै मुख्यमन्त्री कँडेलले प्रदेशमा क्रिकेटका स्थायी संरचना निर्माणमा आफूहरू केन्द्रित हुने बताए । ‘अहिले खेल भइरहेका मैदानहरू अस्थायी हुन्, क्यान र प्रदेश सरकारको सहकार्यमा सुविधाजनक क्रिकेट मैदान बनाउने छौं’, मुख्यमन्त्री कँडेलले भने ।

उनले कर्णालीलाई खेल क्षेत्रको हब बनाउनका लागि सीमित स्रोत र साधनबिच पनि प्रदेश सरकारले खेल पूर्वाधारहरू निर्माण गरिरहेको बताए ।

मुख्यमन्त्री कँडेलले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका लागि कर्णाली प्रदेश सरकार तत्पर रहे पनि संघीय सरकारका कारण ढिलो भइरहेको समेत बताए । ‘हामी १० औं राष्ट्रिय खेलकुद प्रतियोगीताका लागि पूर्ण तयारीमा छौं’, मुख्यमन्त्री कँडेलले भने, ‘केन्द्र सरकारका कारण समयमै १० औँ खेल प्रतियोगिता आयोजना हुन सकेको छैन ।’

उनले संघीय सरकारले कर्णालीलाई बजेटमा जहिल्यै उपेक्षा गर्ने गरिएको बताउँदै वर्तमान सरकारले पनि त्यसैलाई निरन्तरता दिएको बताए । ‘अक्षरमा कर्णाली प्रदेश भनेर धेरै आउँछ, अङ्क आइपुग्दा टिठ लाग्दो हुन्छ । अहिलेको संघीय सरकारले पनि त्यसैको निरन्तरता दियो,’ उनले भने ।

नेपाल क्रिकेट संघका केन्द्रीय उपाध्यक्ष रोशन सिंहले कर्णालीबाट महिला क्रिकेटको विकास गर्नका लागि कर्णालीमा छनोट प्रतियोगिता आयोजना गरिएको बताए । ‘पूर्वाधार र खेलाडी अभाव झेलिरहेको कर्णालीबाट महिला क्रिकेटको राष्ट्रिय प्रतियोगिता आयोजना गर्नुको खास अर्थ छ’, उनले भने, ‘क्यानको उद्देश्य कर्णालीबाट क्रिकेटको विकास गर्नु हो ।’

क्यानका कोषाध्यक्ष एवम् कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले कर्णालीमा खेलकुद पर्यटनको उच्च सम्भावना रहेको बताए । उनले क्यानले कर्णालीमा क्रिकेटको विकासका लागि महत्त्वपूर्ण कामहरू गरिरहेको बताउँदै आगामी दिनका पनि यसलाई निरन्तरता दिने बताए ।

उनले प्रदेश सरकारले क्रिकेटका पूर्वाधार निर्माण गरिदिए त्यसको संरक्षण, रेखदेख र थप समृद्ध बनाउनका लागि क्यानले सहयोग गर्ने बताए । उनले कर्णालीमा आयोजना भइरहेको राष्ट्रिय महिला अन्डर–१९ प्रतियोगिताबाट राष्ट्रिय टीमको छनोट गरिने र सोही टिमले सन् २०२७ मा आयोजना हुने विश्वकपमा सहभागिता जनाउने जानकारी दिए ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोली तथा खेलाडीहरूका लागि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताको विजेता टोलीले नगद पाँच लाख र उपविजेता टोलीले तीन लाख प्राप्त गर्नेछन् ।

व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द सिरिज) लाई ४० हजार, उत्कृष्ट ब्याटलाई २५ हजार, उत्कृष्ट बलरलाई २५ हजार र प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’लाई जनही तीन हजार प्रदान गरिने छ ।

कर्णाली प्रदेश क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय