News Summary
Generated by OK AI. Editorially reviewed.- फिफा विश्वकप २०२६ को अवसरमा नेटफ्लिक्सले ११ जुनदेखि नयाँ भिडियो गेम 'फिफा विश्वकप : लञ्च इडिशन' सार्वजनिक गर्ने भएको छ ।
- फिफा अध्यक्ष जियानी इन्फान्टिनोले भने, 'यो सहकार्य विश्वभरका अरबौं फुटबल समर्थकसम्म पुग्ने हाम्रो लक्ष्यतर्फको महत्वपूर्ण कदम हो ।'
- यो गेम खेल्नका लागि नेटफ्लिक्स सदस्यता र मोबाइल फोन भए पुग्नेछ ।
२२ जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ सुरु भएसँगै नेटफ्लिक्सले फुटबल समर्थकहरूका लागि नयाँ भिडियो गेम ‘फिफा विश्वकप : लञ्च इडिशन’ सार्वजनिक गर्ने भएको छ ।
डेल्फी इन्टर्याक्टिभले विकास तथा प्रकाशन गरेको यो खेल जुन ११ देखि नेटफ्लिक्स सदस्यहरूका लागि विशेष रूपमा उपलब्ध हुनेछ । फिफाका अनुसार खेलले विश्वकपको उत्साह, रोमाञ्च र प्रतिस्पर्धात्मक अनुभवलाई सरल तथा मनोरञ्जनात्मक ढंगले प्रस्तुत गर्नेछ ।
यो गेम सिक्न सजिलो तर उत्कृष्ट रूपमा खेल्न चुनौतीपूर्ण बनाइएको छ । खेलाडीहरूले एक्लै वा साथीहरूसँग अनलाइन खेल्न सक्नेछन् । खेल्नका लागि नेटफ्लिक्स सदस्यता र मोबाइल फोन भए पुग्नेछ ।
फिफा अध्यक्ष जियानी इन्फान्टिनोले नेटफ्लिक्स र डेल्फी इन्टरएक्टिभसँगको सहकार्यलाई फुटबल गेमिङ क्षेत्रमा फिफाको नवप्रवर्तन अभियानको महत्वपूर्ण उपलब्धि बताएका छन् ।
उनले भने, ‘यो सहकार्य विश्वभरका अरबौं फुटबल समर्थकसम्म पुग्ने हाम्रो लक्ष्यतर्फको महत्वपूर्ण कदम हो । पुनः परिकल्पना गरिएको यो खेलले डिजिटल फुटबलको नयाँ युगको सुरुवात गर्नेछ । नेटफ्लिक्स सदस्यहरूले यसलाई निःशुल्क खेल्न पाउनेछन्, जुन फिफाका लागि ऐतिहासिक उपलब्धि हो ।’
कसरी खेल्ने ?
‘फिफा विश्वकप : लञ्च इडिशन’ मा मोबाइल फोन नै कन्ट्रोलरको रूपमा प्रयोग हुनेछ भने टेलिभिजन स्टेडियमको रूपमा काम गर्नेछ ।
खेल्नका लागि प्रयोगकर्ताले टिभीमा रहेको गेम्स ट्याबमा गएर गेम चयन गर्नुपर्नेछ । त्यसपछि देखिने क्यूआर कोड मोबाइलबाट स्क्यान गरी कन्ट्रोलर सेटअप गरेपछि खेल सुरु गर्न सकिनेछ ।
यो गेम नेटफ्लिक्सका सबै सदस्यता योजनामा समावेश हुनेछ ।
नेटफ्लिक्स गेम्स प्रमुख एलेन तस्कनले विश्वकप २०२६ लाई वर्षकै सबैभन्दा ठूलो सांस्कृतिक कार्यक्रममध्ये एक भन्दै समर्थकहरूले आफ्नै घरबाट खेलमार्फत त्यसको अनुभव लिन सक्ने बताए ।
खेलमा केके समावेश छन् ?
जुन ११ मा विश्वकपसँगै सार्वजनिक हुने गेममा प्रतियोगितामा सहभागी सबै ४८ टोली, १,२४८ खेलाडी र १६ स्टेडियम समावेश गरिएका छन् । खेलका दृश्यहरू अमेरिका, मेक्सिको र क्यानडाका विश्वकप रंगशालामा आधारित हुनेछन् ।
कुन–कुन देशमा उपलब्ध हुनेछ ?
खेलको सीमित परीक्षण संस्करण जुन ४ देखि ब्राजिल र जर्मनीमा सुरु भएको छ ।
पूर्ण संस्करण भने जुन ११ देखि अमेरिका, क्यानडा, बेलायत, फ्रान्स, इटाली, मेक्सिको, स्पेन, अस्ट्रेलिया लगायतका देशमा उपलब्ध हुनेछ । फिफाले आगामी दिनमा थप देशहरूमा पनि सेवा विस्तार गरिने जनाएको छ ।
‘लञ्च इडिशन’ भनेको के हो ?
फिफाका अनुसार ‘लञ्च इडिशन’ खेलको प्रारम्भिक संस्करण हो, जसमा छिटो खेल्न मिल्ने, ऊर्जावान र मनोरञ्जनमुखी अनुभवलाई प्राथमिकता दिइएको छ ।
विश्वकप अगाडि बढ्दै जाँदा र खेलाडीहरूको समुदाय विस्तार हुँदै जाँदा नेटफ्लिक्सले थप सुविधाहरू, जटिलता, प्राविधिक सुधार तथा नयाँ अपडेटहरू समावेश गर्दै जाने जनाएको छ ।
प्रतिक्रिया 4