News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि मध्यपहाडी राजमार्गलाई २ अर्ब ६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
- यो बजेट पूर्वाधार विकास मन्त्रालय अन्तर्गतका छ वटा योजना कार्यालयमार्फत खर्च गरिने मन्त्रालयले जनाएको छ ।
- आन्तरिक स्रोतबाट निर्माण शुरू भएको १८ सय ७९ किलोमिटर लामो यो राजमार्गले २६ जिल्लाका २१५ बस्तीलाई जोड्नेछ ।
२६ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा मध्यपहाडी राजमार्गका लागि २ अर्ब ६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
पूर्वाधार विकास मन्त्रालयको वार्षिक विकास कार्यक्रम अनुसार सो बजेट कुल ६ वटा कार्यालयमार्फत खर्च हुनेछ । मन्त्रालयका अनुसार आगामी आवमा मध्यपहाडी राजमार्ग योजना कार्यालय फिदिमले ३२ करोड २३ लाख बजेट पाएको छ ।
रामेछाप कार्यालयले ३३ करोड ४४ लाख बजेट पाएको छ । काठमाडौं निर्देशनालयले ९ करोड ४० लाख र गोरखा कार्यालयले ५० करोड ७ लाख बजेट पाएको मन्त्रालयले जनाएको छ । पर्वत कार्यालयले ५४ करोड २० लाख र दैलेख कार्यालयले २६ करोड ६७ लाख रुपैयाँ बजेट पाएका छन् ।
नेपालमा मध्यपहाडी राजमार्ग निर्माणको सुरुवात आर्थिक वर्ष २०६४/६५ देखि भएको हो । पहाडी क्षेत्रको पूर्वमा पाँचथर जिल्लाको चियोभञ्ज्याङदेखि पश्चिममा बैतडी जिल्लाको झुलाघाटसम्म पुग्ने कुल १८ सय ७९ किलोमिटर सडक नेपाल सरकारको आन्तरिक स्रोतबाटै निर्माण थालिएको हो ।
यो राजमार्गले २६ जिल्लाका २१५ बस्तीलाई जोड्ने गरी रेखांकन गरिएको छ । राजमार्गको रेखांकन भित्र पर्ने विभिन्न जिल्लामा सरकारले १० आधुनिक शहर विकास गर्ने योजना समेत बनाएर काम गरिरहेको छ । सरकारले यो आयोजनालाई आव २०६९/७० मा राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेको थियो ।
प्रतिक्रिया 4