News Summary
Generated by OK AI. Editorially reviewed.- दैलेखको चामुण्डाबिन्द्रासैनीमा १८ असारमा कर्णाली नदीमा खसेको फोर्स गाडी र बेपत्ता दुई यात्रुको आठ दिनसम्म पनि खोजी कार्य जारी छ।
- दुर्घटनाग्रस्त गाडी खोजी गर्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका १७६ सुरक्षाकर्मीसहित गोताखोर र ड्रोन टोली परिचालन गरिएको छ।
- कर्णाली प्रदेशमा पछिल्लो १२ वर्षमा ६ हजार ६२ सवारी दुर्घटना हुँदा एक हजार ३७४ जनाले ज्यान गुमाएको प्रहरीको तथ्याङ्कले देखाएको छ।
२६ असार, सुर्खेत । सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको फोर्स गाडी गत साता कर्णाली नदीमा हेलियो । कर्णाली प्रदेश–०२–००१ ख १०५५ नम्बरको फोर्स गत असार १८ गते दैलेखको चामुण्डाबिन्द्रासैनी–७ साँगेतडा सडकबाट कर्णाली नदीमा खसेको थियो ।
उक्त दुर्घटनाको ८ दिन बितिसक्दा पनि दुर्घटनाग्रस्त गाडी फेला परेको छैन । जिल्ला प्रहरी कार्यालय दैलेखले तीन दिन पछि फोर्स गाडीमा सवार पाँच जना यात्रुको सनाखत गर्यो । जसमा कालिकोटको पचालझरना गाउँपालिका–१ का जोखे तिरुवाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार, दुर्घटनापछि भीरमा अड्किएको अवस्थामा तिरुवाको शव फेला परेको थियो । त्यस्तै दुर्घटनापछि बेपत्ता भएकी अर्की यात्रु कालिकोटको रास्कोट नगरपालिका–२ निवासी १८ वर्षीया सिर्जना खड्काको शव एक साता पछि भेटियो ।
असार २३ गते साँझ ४ बजेतिर कर्णाली नदीको छालमा घोप्टो अवस्थामा सृजनाको शव फेला पर्यो भने आज (शनिबार) मात्रै गाडीका चालक सुर्खेतको पञ्चपुरी नगरपालिका–माझिगाउँ बस्ने तुलाराम सुवेदी फेला परेका छन् । अरू दुई जना यात्रु अझै बेपत्ता छन् ।

१८ गते बिहान करिब ११:३० बजे दुर्घटना भएको फोर्स सडकबाट झन्डै ४ सय मिटर तल कर्णाली नदीमा खसेको थियो ।
दुर्घटनाको दिनभर घटनास्थलमा गोताखोरको टिम पुग्न सकेन । जिल्ला प्रहरी कार्यालय दैलेख र आसपासका प्रहरी चौकीबाट केही सुरक्षाकर्मी खटिएका थिए । तर उक्त सुरक्षा टोलीसँग कर्णाली नदीमा हेलिएको फोर्स खोज्ने र उद्धार गर्ने आवश्यक उपकरण थिएन ।
नदीमा अत्यधिक बहाव र धमिलो पानीका कारण खोजी कार्य चुनौतीपूर्ण बनेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी जयराज सापकोटा बताउँछन् ।
उनका अनुसार हालसम्म दुर्घटना स्थलदेखि तलका सम्भावित क्षेत्रमा नियमित खोजी भइरहे पनि गाडी फेला परेको छैन । ‘कर्णाली नदीको बहावलाई मध्यनजर गर्दै सीमावर्ती जिल्लाका नदी तटीय क्षेत्रमा समेत समन्वयात्मक रूपमा खोजी कार्य तीव्र पारेका छौँ’ उनले भने ।
उनका अनुसार, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले हेलिकोप्टर, ड्रोन तथा जल उद्धार टोली परिचालन गरेर खोजीलाई निरन्तरता दिएका छन् । डिआइजी सापकोटाले १७६ जना सुरक्षाकर्मी परिचालन गरिएको बताए ।
नेपाली सेनाले दुर्घटना स्थलदेखि बर्दियासम्मको कर्णाली नदी क्षेत्रमा करिब ७० जना सैनिक परिचालन गरेको उत्तर पश्चिम पृतना हेडक्वार्टरले जनाएको छ ।
सशस्त्र प्रहरीका ३६ र नेपाल प्रहरी ७० जनासहित गोताखोर तथा विपद् उद्धार टोली खटिएका छन् । तर पनि अझैसम्म गाडी नत यात्रु नै फेला परेका छन् ।
देशै स्तब्ध बनाउने दुर्घटना
५ चैत २०६६ मा कालिकोटबाट सुर्खेत फर्कँदै गरेको काँक्रेविहार यातायातको ना.३ ख ५८६८ नम्बरको यात्रुवाहक बस दैलेखको किटु भीरमा चट्टानमा ठोक्किएर कर्णाली नदीमा खस्यो । त्यो दुर्घटनामा ४१ जनाले ज्यान गुमाए । त्यो मुलुककै लागि कहालीलाग्दो क्षण थियो ।
किटु बस दुर्घटनालाई कर्णाली राजमार्ग सञ्चालनमा आएपछिको सबैभन्दा ठूलो र बीभत्स दुर्घटना मानिन्छ । बसमा मालिक, गाडी चालकसहित ५० जना सवार थिए । साँघुरो र चिप्लो बाटोमा ब्रेक फेल भएपछि बस सडकबाट कर्णाली नदीमा खसेको थियो ।
000
मुटु हल्लाउने अर्को घटना थियो २७ असोज २०७८ को । त्यस दिन दसैँ बिदामा घर फर्किएका विद्यार्थी चढेको भे १ ख ३१६७ नम्बरको बस मुगुको छायाँनाथ रारा नगरपालिका–७, पिनाटपने खोलामा खस्दा ३३ जनाले ज्यान गुमाएका थिए ।
फूलपातीका दिन नेपालगन्जदेखि सुर्खेत हुँदै मुगुको सदरमुकाम गमगढी जाँदै गरेको बस भिरालो कच्ची बाटोबाट २०० मिटर तल खस्दा २४ जनाको घटनास्थलमै र अन्यको उपचारका क्रममा निधन भएको थियो । दसैैैंको मुखमा भएको दुर्घटनाले मुगुवासीलाई मात्रै शोकमा डुबाएन, देशै स्तब्ध बन्यो ।
त्यसको दुई महिनापछि नै २०६८ मंसिरमा कालिकोटको सेराबाडा बिर्तामोडमा बस दुर्घटना हुँदा २८ जनाले ज्यान गुमाएका थिए । सोही वर्ष भएका अरू दुर्घटनामा पनि धेरैले ज्यान गुमाएका थिए । त्यस वर्ष जुम्लाको गाडगडेनीमा १३, दैलेखको खड्कीमा १४ र सुर्खेतको कल्याणकामा १५ को मृत्यु भएको थियो । ट्राफिक प्रहरीको भनाइमा, यी मृत्युको कारण साँघुरो सडक, आवश्यक सङ्केत चिह्नहरू नहुनु र गाडीको क्षमता र यात्रुको संख्यामा सन्तुलन नमिल्नु थियो ।
000
कर्णाली राजमार्ग मात्र होइन, भेरी कोरिडोरको अवस्था पनि उस्तै छ । २०७१ मंसिर पहिलो साता जाजरकोट सदरमुकाम खलङ्गाबाट सुर्खेतको राकम जाँदै गरेको ना ३ ख १४०८ नम्बरको बस भेरी नदीमा खस्दा ४७ जनाको मृत्यु भएको थियो ।
साबिकको भुर गाविसमा यात्रुवाहक बस सडकबाट झन्डै ५० मिटर तल भेरी नदीमा खस्दा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने दर्जनौँ घाइते भएका थिए ।
दुर्घटनामा एउटै गाउँका १२ जना र एकै परिवारका पाँच जना नदीमा बेपत्ता भएका थिए । बेपत्तामध्ये अधिकांश वैदेशिक रोजगारीका लागि काला पहाड जान हिँडेका थिए ।

000
२९ भदौ २०६० मा सुर्खेत–सल्यान खडकखण्डबाट यात्रुवाहक बस भेरी नदीमा खस्दा ४३ जनाको मृत्यु भएको थियो । १९ जना घाइते भएका थिए । सुर्खेतको छिन्नुबाट सल्यानको सल्ली बजार जाँदै गरेको बस भेरी नदीमा खस्दा कम्तीमा ४३ जनाको मृत्यु भएको समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा समेत प्रकाशित भएका थिए ।
000
२०७१ सालमा जुम्लाको रारालिहीमा बस दुर्घटना हुँदा दुधे बालकसहित १८ जनाको ज्यान गयो । उक्त बस सडकभन्दा २०० मिटर तल तिला नदीमा खसेको थियो । यी घटना कर्णाली प्रदेशमा भएका केही ‘ठूला’ दुर्घटना हुन् । यी घटनाले कर्णालीको सडक दुर्घटनाको चित्र प्रस्तुत गर्छ ।
कर्णाली राजमार्गमा बेला–बेला हुने यस्ता ठूला दुर्घटनाले देशलाई नै स्तब्ध बताउँछ । यहाँ हुने सडक दुर्घटनाबारे थुप्रै गीत बने, कथा लेखिए । तर, अवस्था उस्तै छ । मुलुकलाई नै भाव विह्वल बनाउने यी दुर्घटनाले भूपी शेरचनको कविता ‘घुम्ने मेचमाथिको अन्धो मान्छे’ झैँ सत्ताको कुर्सीमा बसेका शासकहरूलाई कहिल्यै छुन सकेन ।
000
२०६३ सालपछि शान्ति प्रक्रिया सुरु भएसँगै कर्णाली राजमार्गको ट्रयाक खुल्यो । त्यसको एकाध वर्ष पछि भेरी कोरिडोर अन्तर्गत सुर्खेत–जाजरकोट–डोल्पा सड्क खण्डको ट्रयाक खुलेको थियो । घर आँगनमा मोटरबाटो पुग्दा कर्णालीवासीमा खुसीको सिमै थिएन ।
‘एकतिर १० वर्षे माओवादी विद्रोह सकिएको थियो । त्यति नै बेला अर्कोतिर घर आँगनमै मोटरबाटो पुगेको थियो,’ नलगाड–८, जाजरकोटका गमबहादुर खत्री (५२) भन्छन्, ‘गाउँमा अब विकास आयो भनेर हामी सबै खुसी भयौँ । तर गाउँ नै सोखमा डुबाउने दुर्घटनाले हुन थाले । विकास होइन् काल (मृत्यु) आएको रहेछ ।’
कर्णालीमा पछिल्लो दुई दशक यता नागरिक अपेक्षा विपरीत दुर्घटना र क्षतिको ‘ग्राफ’ बढ्न थालेको देखिन्छ ।
कतिसम्म भने चाडबाडको समयमा सिङ्गो कर्णाली शोकमा डुब्नुपर्ने अवस्था छ । अहिलेसम्म हजार माथिको मृत्यु, हजार भन्दा बढी घाइते र थुप्रै अङ्गभङ्ग भएका छन् । कर्णाली क्षेत्रको विकास समृद्धिको मार्ग मानिएको यो ‘राजमार्ग’ ले अहिले नयाँ नाम पाएको छ– मृत्यु मार्ग ।

विश्व बैंकको आर्थिक सहयोगमा ट्रयाक खोली सञ्चालनमा आएको २० वर्ष भयो । तर कर्णाली राजमार्गको स्तरोन्नति वा पुनर्निर्माणमा सिंहदरबारको नजर पर्न सकेको छैन । सडक निर्माण त परको कुरा संघीय सरकारले न्यूनतम कामचलाउ सडकको स्तर कायम राख्न समेत सकिरहेको छैन ।
कतिसम्म भने कर्णालीका राजमार्ग र करिडोरमा सामान्य सडक संकेत चिह्नहरू समेत छैनन् । राजमार्गले कर्णालीको सुर्खेत, दैलेख, कालिकोट, जुम्ला हुँदै कर्णाली नदीको किनारै किनार भएर मुगु जोडेको छ ।
तर, २३२ किलोमिटर लामो यो राजमार्ग गुणस्तर र सुविधाका दृष्टिले ‘राजमार्ग’ नै होइन, पहाडमा हतार हतारमा खनिएको ट्रयाक मात्रै हो ।
यातायात सुविधाका लागि आतुर कर्णालीवासीका लागि यो मृत्यु मार्ग भएको छ । दुर्घटना अन्यत्र पनि हुन्छन् । तर कर्णाली राजमार्गमा हुने दुर्घटनाको स्वतन्त्र अध्ययन अहिलेसम्म भएको छैन । तर जानकारहरू भने, कमजोर पूर्वाधारमा गर्नुपर्ने यात्राका कारण धेरैले ज्यान गुमाउनु परेको दाबी गर्छन् ।
राजधानी र प्रदेश सदरमुकाम वरपर पिचमाथि पिच गर्ने संघीय सत्तालाई कर्णालीवासीको यो दु:ख नियाल्ने फुर्सद पनि छैन ।
१२ वर्ष : साढे १३ सय बढीको मृत्यु
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट प्राप्त विवरण अनुसार पछिल्लो १२ वर्षको ११ आर्थिक वर्षमा मात्रै कर्णालीमा ६ हजार ६२ सवारी दुर्घटना भएका छन् ।
यी दुर्घटनामा ज्यान गुमाउनेको संख्या एक हजार ३७४ रहेको छ । यस्ता दुर्घटनामा परी ७ हजार ८३९ कर्णालीवासी गम्भीर घाइते भएका छन् । यी दुर्घटनाको सामाजिक, मानवीय र भौतिक क्षतिको हिसाबकिताब गर्नै कठिन छ ।
प्रदेश ट्राफिक प्रहरीको तथ्याङ्कले भन्छ, प्रदेशमा बर्सेनि सडक दुर्घटनाको ‘ग्राफ’ बढ्दो छ । तर, न्यूनीकरणमा कसैले चासो दिएको छैन । ‘सवारी दुर्घटना न्यूनीकरणमा कुनै निकायले गम्भीर पहल गरेकै छैनन्’, इन्जिनियर रमेश सापकोटा भन्छन् ।
पछिल्लो तीन आर्थिक वर्षको तथ्याङ्क केलाउँदा दुर्घटनाको दर अत्याधिक बढेको देखिन्छ । आर्थिक वर्ष २०८०/०८१ देखि २०८२/०८३ सम्मा मात्रै ४ हजार २४१ सवारी साधन दुर्घटनामा परेका छन् ।
जसमा परी ३८३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ६ हजार ३७७ कर्णालीवासी गम्भीर घाइते भएका छन् ।
यस्तो छ, पछिल्लो १० वर्षको दुर्घटनाको ग्राफ :
| आर्थिक वर्ष | मृत्यु | गम्भीर घाइते | सवारी दुर्घटना संख्या |
| २०७१/०७२ | १३९ | १७२ | १३९ |
| २०७२/०७३ | ५६ | ६५ | ७६ |
| २०७३/०७४ | ११७ | १५३ | १०१ |
| २०७४/०७५ | ९१ | १२० | ८८ |
| २०७५/०७६ | ११५ | १५० | १४६ |
| २०७६/०७७ | ९७ | १३१ | २३६ |
| २०७७/०७८ | ९८ | १६९ | २९१ |
| २०७८/०७९ | १८० | ३६२ | ४०३ |
| २०७९/०८० | ९४ | २०५ | ३४१ |
| २०८०/०८१ | ११२ | २०७७ | १४४५ |
| २०८१/०८२ | १३९ | २००८ | १२४० |
| २०८२/०८३ | १३२ | २२८१ | १५५६ (असार २२ सम्म) |
| जम्मा | १३७४ | ७८९३ | ६०६२ |
कर्णाली राजमार्ग अन्तर्गत दैलेख र कालिकोट खण्डका विभिन्न स्थानमा साँघुरा मोडहरू छन् । ‘यी मोडहरूले दुर्घटनाको जोखिम बढाएका छन्’ इन्जिनियर सापकोटा भन्छन्, ‘राजमार्गको एक मोडबाट अर्को मोडमा गाडी देख्न सकिँदैन । कर्णालीका धेरै सडकमा ट्राफिक सङ्केत पनि छैन । अनि दुर्घटना नभएर के हुन्छ ?’
साँघुरा र अप्ठ्यारा सडक, क्षमताभन्दा बढी यात्रु, पुराना गाडी, ट्राफिक नियमको बेवास्ता लगायत कारण कर्णालीका राजमार्गहरूमा दुर्घटना बढिरहेको कर्णाली प्रदेश प्रहरी कार्यालयका निमित्त प्रवक्ता एसएसपी रामप्रसाद घर्ती बताउँछन् ।
‘कर्णालीको भूगोल आफैँमा कठिन छ । सडक पनि जीर्ण हुँदा दुर्घटना रोक्ने चुनौती छ’ उनले भने, ‘तीव्र गतिका कारण पनि दुर्घटना हुने गरेको हाम्रो तथ्याङ्कले देखाउँछ ।’

कर्णालीमा पहाडी भू–भाग छ । साँघुरा सडक छन् । त्यसमाथि सवारी साधनहरूले मनपरी तरिकाले यात्रु कोच्ने गर्दछन् । बसमा भित्र मात्रै होइन, छतमा पनि खुट्टा टेक्ने ठाउँ हुँदैन । हेर्दै थाहा हुन्छ कति जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यतामा छन्, कर्णालीवासी ।
सार्वजनिक यातायातमा मात्रै होइन, मालवाहक ट्रक समेत खाली हुँदैनन् । अझ, हिजोआज त माइक्रो बस र साना सवारी साधनहरू धेरै दुर्घटनामा पर्न थालेका छन् ।
यस क्षेत्रमा विकट भूगोल, असुरक्षित सडक र मानवीय त्रुटि नै दुर्घटनाको प्रमुख कारण रहेको एसएसपी घर्ती बताउँछन् ।
‘चालक, यान्त्रिक गडबडी र सडकको अवस्था नै दुर्घटनामा प्रमुख जिम्मेवार देखिन्छन्’ अनलाइनखबरसँग कुरा गर्दै घर्तीले भने, ‘कर्णालीमा मानवीय त्रुटि नै सडक दुर्घटनाको प्रमुख कारण देखिन्छ ।’
यस बाहेक ट्राफिक नियम उल्लङ्घन, मादक पदार्थ सेवन, ओभरटेक र सवारी चलाउँदा मोबाइल फोनको प्रयोग दुर्घटनाका अरू कारण रहेको घर्ती बताउँछन् । सवारी दुर्घटनामा अन्यत्रको तुलनामा कर्णाली क्षेत्रमा मानवीय क्षति धेरै हुने गरेको प्रहरीको तथ्याङ्कले देखाउँछ ।

‘दुर्घटना भएकै बेला उद्धार गर्न सकिए, धेरैको ज्यान जोगाउन सकिन्छ । तर, भौगोलिक बनावटका कारण कर्णालीमा तत्काल उद्धार गर्न सम्भव हुँदैन’ एसएसपी घर्तीले भने, ‘जसले गर्दा ठूला सवारी दुर्घटना हुँदा, लगभग शतप्रतिशत यात्रुको मृत्यु हुने गर्छ ।’
पछिल्लो समय राम्रो सडक भएका ठाउँमा पनि धेरै दुर्घटना बढेको एसएसपी घर्तीले बताए । ‘मदन भण्डारी र मध्य पहाडी लोकमार्गको बाटो सबैभन्दा राम्रो छ । तर सोही ठाउँमा ओभर स्पिडका कारण सबैभन्दा धेरै दुर्घटना भएको देखिन्छ,’ उनले भने, ‘कर्णालीमा चल्ने गाडीको मेकानिकल जाँच हुँदैन । कति वर्ष पुराना गाडी हुन् कसैलाई थाहा छैन । अधिकांश घटना मानवीय त्रुटिकै कारण भएको देखिन्छ ।’
कर्णालीमा धनजनको क्षति बढेपछि २०७४ फागुनदेखि कर्णाली प्रदेश सरकारले सडक सुरक्षा कार्यक्रम ल्याएको थियो । जसको मुख्य उद्देश्य कर्णाली राजमार्ग लगायत अन्य सडकमा हुने सवारी दुर्घटना न्यूनीकरण गर्नु थियो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले अघि सारेको यो कार्यक्रम तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सुरु गरेका थिए ।
सरकारका अन्य कार्यक्रम जस्तै सडक सुरक्षा कार्यक्रम पनि अलपत्र पर्यो । कार्यक्रम अन्तर्गत कर्णाली राजमार्ग (२३२ किलोमिटर), छिन्चु–जाजरकोट सडक (१०७ किलोमिटर), सुर्खेत–दैलेख सदरमुकाम (६५ किलोमिटर) र कपुरकोट–रुकुम सडकखण्ड लगायतका प्रमुख राजमार्गमा सञ्चालित बसहरूमा जिपिएस जोड्ने, प्रहरीले गस्ती गर्ने लगायतका कार्यक्रम थिए । तर, ती सबै योजना कार्यान्वयन हुन सकेनन् ।
तस्वीरहरू : यज्ञ खत्री/अनलाइनखबर, सुर्खेत



प्रतिक्रिया 4