२३ असार, कर्णाली । असार १८ गते कर्णाली नदीमा बेपत्ता भएको गाडीमा सवार एकजनाको शव कैलालीमा भेटिएको छ ।
मोहन्याल गाउँपालिका–६ कैलालीमा भेटिएको शव पहिचान गर्दा पचालझरना गाउँपालिका–९ कालीकोटका मेखे तिरुवा रहेको खुलेको प्रहरीले जनाएको छ ।
मेखेका छोरा रवीन्द्र तिरुवाले आफ्ना बुबाको शव सनाखत गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी श्रवणकुमार बिकले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय चिसापानी कैलालीका प्रमुख प्रहरी निरीक्षक मीरा खड्काले पनि शव ६२ वर्षीय मेखे तिरुवा नै रहेको पुष्टि गरेकी छन् ।
डीएसपी बिकका अनुसार मृतक मेखेसहित उक्त गाडीमा रास्कोट नगरपालिका–२ खड्कागाउँका सिर्जना खड्का, पञ्चपुरी नगरपालिका–८ सुर्खेत माझीगाउँका चालक तुलाराम सुवेदी, सहचालक रामप्रसाद सुवेदी सवार रहेको खुलेको छ । उनीहरू भने अझै पनि बेपत्ता छन् ।
असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको कप्र ०२–००१ ख १०५५ नम्बरको गाडी दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङगेतडामा दुर्घटना भएको थियो । सडकबाट उक्त गाडी कर्णाली नदीमा खसेर यात्रुसहित बेपत्ता भएको थियो ।
बेपत्ता व्यक्तिहरूसहित गाडीको खोजीमा ‘रिभर भेहिकल म्याग्नेट’, ‘सोनार’, ‘ड्रो’ न र ‘बोरेस्कोप क्यामरा’ सहितको उच्च प्रविधियुक्त गोताखोर टोली, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना गरेर करिब १०० जना जनशक्ति पाँच दिनदेखि परिचालन गरिएको छ । –रासस
प्रतिक्रिया 4