२८ असार, काठमाडौं । नेपालको शेयर बजार पछिल्लो समय निरन्तर ओरालो लागिरहेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २ हजार ६ सय बिन्दुमा झरेसँगै बजार ६ महिनायताकै न्यून स्तरमा पुगेको हो।
नयाँ सरकार गठन र शेयर बजारमैत्री नीतिहरूको घोषणापछि बजारमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिए पनि लगानीकर्तामा उत्साह देखिन सकेको छैन। बरु बजारमा निराशा बढेको तथ्यांकले देखाउँछ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह नेतृत्वमा सरकार बनेपछि शेयर बजार उकालो लाग्ने अपेक्षा गरिएको थियो। निर्वाचनअघि रास्वपाले आफ्नो वाचा पत्रमा समेत शेयर बजार सुधारका लागि विभिन्न नीतिगत प्रतिबद्धता जनाएको थियो। तर सरकार गठन भएको भोलिपल्टदेखि नै बजार घट्न थालेको थियो।
बालेन सरकारले शपथ लिनुभन्दा अघिल्लो दिन अर्थात् चैत १२ गते नेप्से परिसूचक २ हजार ९ सय ५०.१६ बिन्दुमा पुगेको थियो। तर त्यसयता बजार निरन्तर ओरालो लाग्दै शुक्रबारसम्म आइपुग्दा नेप्से २ हजार ६ सय बिन्दुमा झरेको छ।
यस आधारमा हेर्दा बालेन सरकार गठन भएयता मात्रै नेप्से परिसूचक करिब ३५० अंकले घटेको छ। शेयर बजारका लागि यो ठूलो गिरावट हो।
नेप्से २ हजार ६ सय बिन्दुमा झरेसँगै यो पछिल्लो ६ महिनायताकै न्यून स्तर हो। गत पुस ९ गते नेप्से २ हजार ५ सय ९७ बिन्दुमा बन्द भएको थियो। त्यसयता शुक्रबार पुन: बजार २ हजार ६ सय बिन्दुको आसपासमा आएको हो।
यस अवधिमा नेप्से परिसूचक उच्चतम २ हजार ९ सय ७० बिन्दु (चैत ११ गते) सम्म पुगेको थियो। तर त्यसपछि भने बजार लगभग निरन्तर घट्दो क्रममा रहेको छ।
बजेट र मौद्रिक नीतिले पनि जगाउन सकेन उत्साह
नेप्सेको कारोबार प्रवृत्ति हेर्दा बजेटपछि नै बजारमा गिरावट आएको देखिन्छ। लगानीकर्ताले लामो समयदेखि माग गर्दै आएको पुँजीगत लाभ करलाई अन्तिम करका रूपमा कानुनी मान्यता दिनुपर्ने माग थियो।
व्यवहारमा पुँजीगत लाभ कर नै अन्तिम करका रूपमा लिइए पनि कानुनी रूपमा स्पष्ट व्यवस्था नभएको भन्दै लगानीकर्ताले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग माग राखेका थिए।

लगानीकर्ताको मागअनुसार नै अर्थमन्त्री वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत पुँजीगत लाभ कर नै अन्तिम कर हुने व्यवस्था गरेका थिए। तर त्यसपछि पनि शेयर बजारमा अपेक्षित सुधार आउन सकेन।
बजेटमार्फत शेयर बजार सुधारका लागि भन्दै सरकारले १० वटा नीतिगत व्यवस्था गरेको थियो। गैरआवासीय नेपाली (एनआरएन)को लगानी भिर्त्याउनेदेखि नेप्सेको पुनर्संरचनासम्मका विषय बजेटमा समेटिएका थिए। तर बजारमा त्यसको प्रभाव भने देखिन सकेन।
अर्थमन्त्री वाग्लेले बजेट प्रस्तुत गर्नुअघि जेठ १३ गते नेप्से ५ अंकले बढेर २ हजार ७ सय ८२ बिन्दुमा बन्द भएको थियो। जेठ १५ गते बजेट सार्वजनिक भएपछि लगानीकर्ताले बजार सकारात्मक सर्किटसम्म पुग्ने अनुमान गरेका थिए। तर त्यसको विपरीत बजार घट्न थाल्यो।
बजेटपछिको पहिलो कारोबार दिनमै नेप्से २६.७२ अंकले घटेर २ हजार ७ सय ५५ बिन्दुमा झरेको थियो। बजेटपछि मात्रै नेप्से करिब ८६ अंकले घटिसकेको छ।
नेपाल शेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डेका अनुसार बजेटमा शेयर बजार सुधारका लागि सकारात्मक व्यवस्था भए पनि व्यवसायीहरूमाथि भएको धरपकडका कारण लगानीकर्तामा अन्योल सिर्जना भएको हो।
“धरपकडका कारण लगानीकर्तामा अब के हुन्छ, कुन कम्पनी प्रभावित हुन्छ भन्ने अन्योल भयो। बजार जहिले पनि ठूला लगानीकर्ताले चलाउने हो। ठूला लगानीकर्ता नै आत्तिएपछि बजेटपछि बजार बढ्न सकेन,” पाण्डेले भने।
बजेटपछि शेयर बजार नबढेपछि लगानीकर्ताको ध्यान नेपाल राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतितर्फ केन्द्रित भएको थियो। तर मौद्रिक नीतिले पनि शेयर बजारका लागि अपेक्षित सम्बोधन गर्न नसकेको लगानीकर्ताको बुझाइ छ।
राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमा शेयर धितो कर्जाका विषयमा कम्पनीको वित्तीय अवस्था र नेटवर्थलाई आधार बनाएर कर्जा विस्तार गर्ने व्यवस्था गरिएको छ। तर यसले पनि बजारमा सकारात्मक प्रभाव पार्न सकेको छैन।
राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले असार २३ गते मौद्रिक नीति सार्वजनिक गरेका थिए। मौद्रिक नीति सार्वजनिक भएयता तीन दिन मात्रै कारोबार भएको छ। तर तीनै दिन बजार घटेको छ।
मौद्रिक नीति आएयता मात्रै नेप्से परिसूचक ५१ अंकले घटेको छ। मौद्रिक नीति सार्वजनिक हुनुअघिल्लो दिन नेप्से २ हजार ६ सय ५१ बिन्दुमा पुगेको थियो। त्यसपछि निरन्तर घट्दै शुक्रबार २ हजार ६ सय बिन्दुमा आइपुगेको हो।
नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जिवी नेपालका अनुसार मौद्रिक नीतिमा कम्पनीको अवस्थाका आधारमा कर्जा विस्तार गर्ने नीति लिइएकाले त्यसको प्रभाव शेयर बजारमा परेको हो।
“नेपालको शेयर बजारमा करिब ७० प्रतिशत हिस्सा बैंक तथा वित्तीय संस्थाको छ। राष्ट्र बैंकले लिने नीतिले बजारमा ठूलो प्रभाव पार्छ,” नेपालले भने।
उनका अनुसार लगानीकर्ताले राम्रा–नराम्रा सबै कम्पनीका शेयर खरिद गरेर राखेका थिए। तर कमजोर कम्पनीको शेयर धितो राखेर कर्जा पाउन कठिन हुने भएपछि त्यसको असर बजारमा परेको हो।
पाही इन्भेष्टमेन्ट प्रालि (ब्रोकर नम्बर ७६)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) कमल धिताल पनि मौद्रिक नीतिमा शेयर बजारका लागि विशेष व्यवस्था नआएकाले लगानीकर्ता निराश भएको बताउँछन्।
“मौद्रिक नीतिमा शेयर बजारका लागि खासै केही आएन। अहिले लगानीकर्ताको ध्यान धितोपत्र बोर्डतर्फ केन्द्रित भएको छ,” धितालले भने।
नेप्सेको प्रवृत्तिले पनि यही देखाउँछ। बजेटअघि र मौद्रिक नीति आउनुअघिसम्म उतारचढावबीच नेप्से करिब २१ अंक मात्रै घटेको थियो। तर मौद्रिक नीति आएपछिका तीन कारोबार दिनमै नेप्से ५१ अंकले घटेको छ।
अध्यक्ष पाण्डेका अनुसार मौद्रिक नीतिले शेयर बजारका लागि सकारात्मक व्यवस्था नगरे पनि नकारात्मक नीति नल्याएका कारण अहिलेको गिरावटको मुख्य कारण मौद्रिक नीति मात्रै भने होइन।
उनका अनुसार नेप्से २ हजार ६ सय बिन्दुको आसपास आएपछि लगानीकर्ताले नाफा सुरक्षित गर्न थालेका कारण पनि बजारमा बिक्रीको दबाब बढेको हो।
“असार मसान्तको समय भएकाले लगानीकर्तालाई बिक्री गर्नुपर्ने दबाब छ। ब्रोकरहरूले पनि सेटलमेन्टका लागि शेयर बिक्री गर्न भनिरहेका छन्। अहिले ब्रोकरहरूले पर्याप्त लिमिट नदिएका कारण पनि बजार प्रभावित भएको हो,” पाण्डेले भने।
शेयर बजार धेरै हदसम्म हल्ला र मनोविज्ञानबाट पनि प्रभावित हुने भएकाले अहिलेको अवस्था आएको पाण्डेको भनाइ छ।
— न्युज एजेन्सी नेपाल
प्रतिक्रिया 4