News Summary
Generated by OK AI. Editorially reviewed.- फिफा विश्वकप २०२६ को सेमिफाइनलमा साविक विजेता अर्जेन्टिना र इंग्ल्यान्ड आमनेसामने हुँदैछन् ।
- आफ्नो अन्तर्राष्ट्रिय करियरमा पहिलोपटक इंग्ल्यान्डविरुद्ध खेल्न लागेका ३९ वर्षीय लियोनल मेसीका लागि यो खेल निकै महत्त्वपूर्ण मानिएको छ ।
- विश्व फुटबल इतिहासमा अर्जेन्टिना र इंग्ल्यान्डको प्रतिद्वन्द्विताले विशेष अर्थ राख्ने गर्दछ ।
२८ असार, काठमाडौं । फुटबल मैदानमा लियोनल मेसीले गर्न बाँकी काम अब सायदै होला ।
आठपटकका बालोन डी’ओर विजेता । विश्वकप विजेता कप्तान । अर्जेन्टिनाका लागि सर्वाधिक खेल खेल्ने र सर्वाधिक गोल गर्ने खेलाडी । विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता ।
तर २० वर्षभन्दा लामो अन्तर्राष्ट्रिय यात्रामा मेसीले अहिलेसम्म नगरेको एउटा काम छ– इंग्ल्यान्डविरुद्ध खेल्नु । अब त्यो प्रतीक्षा सकिँदैछ ।
फिफा विश्वकप २०२६ को सेमिफाइनलमा साविक विजेता अर्जेन्टिना र इंग्ल्यान्ड आमनेसामने हुँदैछन् । एटलान्टामा हुने यो खेलले फाइनल पुग्ने टोलीको टुंगो मात्र लगाउने छैन, विश्व फुटबलको सबैभन्दा चर्चित प्रतिद्वन्द्वितामध्ये एकमा नयाँ अध्याय पनि थप्नेछ ।
र, त्यो अध्यायको केन्द्रमा हुनेछन् ३९ वर्षीय मेसी ।
अर्जेन्टिनाका लागि दुई सयभन्दा बढी खेल खेल्दै १२५ गोल गरिसकेका मेसीले आफ्नो देशका लगभग सबै ठूला प्रतिद्वन्द्वीको सामना गरेका छन् । ब्राजिल, उरुग्वे, फ्रान्स, जर्मनी, नेदरल्यान्ड्स, स्पेन र इटालीविरुद्ध उनी मैदान उत्रिएका छन् । तर इंग्ल्यान्डसँग कहिल्यै खेलेका छैनन् ।
संयोगले मेसीको अन्तर्राष्ट्रिय करियरको सम्भावित अन्तिम विश्वकपमै त्यो अवसर आएको छ । त्यो पनि सामान्य खेलमा होइन, विश्वकपको सेमिफाइनलमा ।
मेसीलाई रोक्न सकिन्छ ?
यस विश्वकपमा आठ गोल गरेका मेसी फ्रान्सका किलियन एमबाप्पेसँगै गोल्डेन बुटको दौडमा शीर्ष स्थानमा छन् ।
क्वाटरफाइनलमा स्विट्जरल्यान्डविरुद्ध भने उनी पहिलोपटक गोल गर्न असफल भए । तर अर्जेन्टिनाले अतिरिक्त समयमा ३–१ को जित निकाल्दै अन्तिम चारमा स्थान बनायो ।
मेसी अहिले पहिलेजस्तो लगातार दौडिँदैनन् । विपक्षीलाई पछ्याउँदै आफ्नो क्षेत्रमा फर्किने काम पनि कम गर्छन् । खेलका कतिपय समयमा उनी मैदानमा हिँडिरहेको जस्तो देखिन्छन् ।
तर उनी हेर्छन् । ठाउँ खोज्छन् । प्रतीक्षा गर्छन् । र सही समय आएपछि खेल बदल्छन् ।
इंग्ल्यान्डका पूर्वखेलाडी तथा विश्लेषक मिका रिचर्ड्सका अनुसार मेसीलाई व्यक्तिगत रूपमा निगरानी गर्नु लगभग असम्भव छ ।
उनले मेसी सामान्य खेलाडी पुग्न नहुने खाली ठाउँमा पुग्ने, सही समयमा सक्रिय हुने र आफ्नो उत्कृष्ट प्राविधिक क्षमता तथा खेल बुझाइले क्षणभरमै खेल बदल्न सक्ने बताएका छन् ।
पूर्वइंग्ल्यान्ड कप्तान वायन रुनीको बुझाइ पनि उस्तै छ । रक्षात्मक रूपमा मेसीले अर्जेन्टिनालाई धेरै सहयोग नगरे पनि निर्णायक क्षणमा उनको निर्णय क्षमता नै सबैभन्दा ठूलो खतरा रहेको रुनी बताउँछन् ।
त्यसैले इंग्ल्यान्डका लागि मेसीलाई रोक्ने काम एउटा खेलाडीको मात्र हुने छैन ।
निरन्तर ध्यान । खेलाडीबीच संवाद । र मेसी कुन ठाउँमा पुग्दैछन् भन्ने प्रत्येक क्षणको निगरानी । एउटा सानो गल्ती पर्याप्त हुन सक्छ ।
किनकि मेसीलाई पूरा खेल चाहिँदैन । उनलाई खेल बदल्न केवल एउटा क्षण भए पुग्छ ।

अर्जेन्टिनाले चाहेको प्रतिद्वन्द्वी नै इंग्ल्यान्ड ?
अर्जेन्टिना र इंग्ल्यान्डबीचको सम्बन्ध सामान्य फुटबल प्रतिद्वन्द्विताभन्दा धेरै गहिरो छ ।
दुई देशबीचका खेलले विश्वकप इतिहासमा केही यस्ता क्षण दिएका छन्, जुन आज पनि फुटबल समर्थकले बिर्सिएका छैनन् ।
त्यो हो सन् १९८६ को विश्वकप क्वाटरफाइनल । डिएगो म्याराडोनाको चर्चित ‘ह्यान्ड अफ गड’ गोल ।
त्यसको केही मिनेटपछि म्याराडोनाले इंग्ल्यान्डका खेलाडीलाई एकपछि अर्को गर्दै छक्याएर गरेको विश्वकप इतिहासकै उत्कृष्टमध्ये एक गोल ।
१२ वर्षपछि सन् १९९८ को विश्वकप । डेभिड बेकह्यामको रातो कार्ड । अर्जेन्टिनाको पेनाल्टी सुटआउट जित । त्यसपछि सन् २००२ मा बेकह्यामकै पेनाल्टी गोलमा इंग्ल्यान्डको बदला ।
अर्जेन्टिना र इंग्ल्यान्ड भिड्दा इतिहास, भावना र तनाव सँगै मैदानमा उत्रिन्छन् । तर यी दुई टोलीबीच पछिल्लो भेट भएको पनि झन्डै २१ वर्ष भइसकेको छ ।
सन् २००५ मा जेनेभामा भएको मैत्रीपूर्ण खेलमा इंग्ल्यान्डले अर्जेन्टिनालाई ३–२ ले हराएको थियो । माइकल ओवेनले अन्तिम समयमा दुई गोल गर्दै इंग्ल्यान्डलाई रोमाञ्चक जित दिलाएका थिए ।
मेसी त्यतिबेला अर्जेन्टिनाको राष्ट्रिय टोलीमा आइसकेका थिए । तर आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेलमै रातो कार्ड पाएपछि निलम्बनमा रहेकाले इंग्ल्यान्डविरुद्ध मैदान उत्रिन पाएनन् ।
त्यसपछि दुई देश कहिल्यै भिडेनन् । अब, दुई दशकपछि, मेसी र इंग्ल्यान्डको बाटो विश्वकपको सबैभन्दा ठूलो मञ्चमा जुधेको छ ।
इंग्ल्यान्डविरुद्ध खेलेर मात्रै करियर सक्नुपर्थ्यो !
दक्षिण अमेरिकी फुटबलका जानकार टिम भिकरीका अनुसार अर्जेन्टिनाले चाहेको सेमिफाइनल नै यही थियो ।
उनको भनाइमा दुई सयभन्दा बढी अन्तर्राष्ट्रिय खेल खेलेका मेसीले अर्जेन्टिनी समर्थकले सबैभन्दा ठूलो प्रतिद्वन्द्वीमध्ये एक मान्ने इंग्ल्यान्डविरुद्ध नखेली आफ्नो अन्तर्राष्ट्रिय करियर अन्त्य गर्नु अपूरो कथा जस्तै हुने थियो ।
स्विट्जरल्यान्डविरुद्धको क्वाटरफाइनलमै अर्जेन्टिनी समर्थकले इंग्ल्यान्डलाई लक्षित गर्दै गीत गाउन थालिसकेका थिए ।
अब एटलान्टामा त्यो आवाज अझ ठूलो हुनेछ ।

इंग्ल्यान्ड विरुद्ध ऐतिहासिक गोलको खोजी
मेसीको अन्तर्राष्ट्रिय गोल तथ्यांक हेर्दा कुनै पनि प्रतिद्वन्द्वी सुरक्षित देखिँदैन । उनले बोलिभियाविरुद्ध १२ खेलमा ११ गोल गरेका छन् । भेनेजुएलाविरुद्ध सात र इक्वेडरविरुद्ध पनि सात गोल छ ।
उरुग्वेविरुद्ध छ तथा ब्राजिलविरुद्ध पाँच गोल गरेका मेसीले युरोपेली शक्तिविरुद्ध पनि आफ्नो प्रभाव छाडेका छन् ।
क्रोएसिया, स्विट्जरल्यान्ड र फ्रान्सविरुद्ध तीन–तीन गोल गरेका छन् । फ्रान्सविरुद्धका तीनमध्ये दुई गोल सन् २०२२ को विश्वकप फाइनलमा आएका थिए ।
एकपटकभन्दा बढी सामना गरेका देशमध्ये कतार मात्र यस्तो टोली हो, जसविरुद्ध मेसीले गोल गर्न सकेका छैनन् ।
अब सूचीमा नयाँ नाम थपिँदैछ– इंग्ल्यान्ड ।
इंग्ल्यान्डले मेसीलाई पहिलो भेटमै रोक्ला ? वा ३९ वर्षीय अर्जेन्टिनी महान् खेलाडीले अर्को देशलाई आफ्नो गोलको सूचीमा थप्लान् ?
म्याराडोनाबाट मेसीसम्म
३९ वर्षअघि म्याराडोनाले इंग्ल्यान्डविरुद्ध विश्वकप इतिहासकै अविस्मरणीय प्रदर्शन गरेका थिए । अब अर्जेन्टिनाको अर्को महान नम्बर १० इंग्ल्यान्डको सामना गर्दैछन् ।
मेसीका लागि यो पहिलो इंग्ल्यान्ड भेट हो र, सम्भवतः अन्तिम पनि ।
दाउमा विश्वकप फाइनलको टिकट छ । गोल्डेन बुटको दौड छ । लगातार दोस्रो विश्वकप जित्ने सपना छ । अर्कोतिर इंग्ल्यान्ड ६० वर्षपछि विश्वकप उपाधि जित्ने अभियानमा छ ।
इतिहासले यी दुई देशलाई फेरि एउटै मैदानमा ल्याएको छ । यसपटक म्याराडोना छैनन्, बेकह्याम छैनन्, तर मेसी छन् ।
र विश्वकपले फेरि अर्जेन्टिना र इंग्ल्यान्डलाई एउटा यस्तो रात दिएको छ, जहाँ केवल एउटा खेलको नतिजा होइन– फुटबल इतिहासको अर्को अध्याय लेखिनेछ ।
प्रतिक्रिया 4