+
+
Shares

मनसुनजन्य विपद् : उच्च सतर्कता अपनाउन एड्भाइजरी, क्षति न्युनीकरणको के छ तयारी ?

आइतबार राति र सोमबार पूर्वीक्षेत्र तथा मधेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गर्दै एड्भाइजरी जारी गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २८ गते १६:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपद्को जोखिम न्युनीकरण गर्न सरोकारवाला निकायहरूसँगको समन्वयलाई तीव्र बनाएको छ ।
  • प्राधिकरणका कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाले मनसुन अवधिमा जनधनको क्षति न्युनीकरणका लागि सरकार पूर्ण तयारी अवस्थामा रहेको जानकारी दिनुभयो ।
  • प्राधिकरणले जल तथा मौसम विज्ञान विभागको विशेष बुलेटिन नियमित रूपमा पालना गरी सतर्कता अपनाउन सर्वसाधारण नागरिकलाई आग्रह गरेको छ ।

२८ असार, काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपद्को जोखिमलाई न्युनीकरण गर्न सबै सरोकारवाला निकायसँगको समन्वयलाई तीव्र बनाइएको बताएको छ ।

प्राधिकरणको आईतवार बसेको बैठकमा मनसुनजन्य विपद्को तयारी र सरोकारवाला निकायले गरेका कामको प्रगति समीक्षा गर्दै विवरण संकलन अद्यावधिक गरेको हो ।

प्राधिकरणका कार्यकारी प्रमुख तथा सहसचिव प्रदीपकुमार कोइरालाले मनसुन अवधिमा जनधनको क्षति न्युनीकरणका लागि सरकार पूर्ण तयारीमा रहेको जानकारी गराए ।

असार ४ गते गृहमन्त्री सुधन गुरुङको संयोजकत्वमा बसेको बैठकले विभिन्न निकायलाई आवश्यक निर्देशन दिएको थियो । सोही निर्देशनको कार्यान्वयन अवस्था समीक्षा गर्न बैठक आयोजना गरिएको उनले बताए ।

‘हामीले सबै क्लस्टरका लिडर, को–लिडर, सडक, सिंचाईलगायत सम्बन्धित विभागका महानिर्देशक तथा विपद् सम्पर्क व्यक्तिहरूलाई बोलाएर मन्त्रीज्यूले दिएको निर्देशनअनुसार भएका प्रगतिका विवरण संकलन गरेका छौं,’ कोइरालाले भने, ‘संकलित प्रतिवेदन मन्त्रीज्यूसमक्ष पेश गर्नेछौँ । यो–यो खालको हामीले पायौँ, यति–यति काम भएको रहेछ भनेर हामीले अद्यावधिक विवरणहरू पेस गर्न बैठक बसेको हो ।’

उच्च सतर्कता अपनाउन आग्रह

हाल देशभर मनसुन सक्रिय रहेकाले जल तथा मौसम विज्ञान विभागले जारी गर्ने विशेष बुलेटिनका आधारमा प्राधिकरणले आवश्यक एड्भाइजरी जारी गरिरहेको पनि जानकारी उनले दिए ।

आइतबार राति र सोमबार पूर्वीक्षेत्र तथा मधेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गर्दै एड्भाइजरी जारी गरिएको छ ।

‘असार ५ गतेदेखि हामीकहाँ मनसुन भित्रियो, अहिले मनसुनको फेज चलिरहेको छ । हामीले जल तथा मौसम विज्ञान विभागले जुन विशेष बुलेटिन जारी गर्छ, त्यसमा हामी एड्भाइजरी पनि जारी गर्छौं । आज राति अनि भोलि पूर्वतिर र केही मधेसका केही क्षेत्रहरूमा भारी वर्षा पर्छ भन्नेछ,’ उनले भने ।

प्राधिकरणले नागरिकलाई जल तथा मौसम विज्ञान विभागको विशेष बुलेटिन तथा प्राधिकरणले जारी गर्ने एड्भाइजरी नियमित रूपमा पालना गर्न आग्रह गरेको छ । समयमै सूचना पालना गरेमा जनधनको क्षति न्युनिकरण गर्न ठूलो सहयोग पुग्ने प्राधिकरणको विश्वास छ ।

‘सोहीअनुसार हामीले एड्भाइजरी जारी गरेका छौँ, हामी अहिले टोटल हामी मनसुनकै तयारीमा छौँ । हाम्रो अपिल के भने मौसम जल तथा मौसम विज्ञान विभागको विशेष बुलेटिन र हामीले जारी गरेको एड्भाइजरी अलि राम्रोसँग हेरिदिने र त्यसअनुसार आफ्नो आचरण गरेमा हामी जन र धनको जोगाउन सफल हुन्छौँ । त्यो अभियानमा हामी लागेका र्छौं,’ उनले भने ।

विभागले गरेको मौसमको पूर्वानुमानका आधारमा आवश्यक पर्दा प्राधिकरणले निरन्तर एड्भाइजरी जारी गर्ने गरेको छ ।

मनसुन अवधिभर जोखिमको अवस्था हेरेर आवश्यक सूचना र सतर्कता जारी गर्ने गरिएको प्रमुख कोइरालाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?