+

इंग्ल्यान्डकी पूर्व कप्तान हिथर नाइटले गरिन् सन्यासको घोषणा

२०८३ असार  २८ गते १७:३८ २०८३ असार २८ गते १७:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इंग्ल्यान्ड महिला क्रिकेट टोलीकी पूर्व कप्तान हिथर नाइटले १६ वर्ष लामो अन्तर्राष्ट्रिय क्रिकेट यात्राबाट सन्यासको घोषणा गरेकी छन्।
  • नाइटले सन् २०१७ को एकदिवसीय विश्वकपमा इंग्ल्यान्डलाई उपाधि जिताउनुका साथै क्रिकेटका तीनै स्वरूपमा शतक प्रहार गर्ने पहिलो इंग्लिस खेलाडी बन्ने कीर्तिमान कायम गरेकी थिइन्।
  • ‘यो निर्णयबाट म सन्तुष्ट छु र अबको यात्राका लागि उत्साहित छु’ भन्दै नाइटले लर्ड्स मैदानबाटै आफ्नो अन्तर्राष्ट्रिय करियरमा पूर्णविराम लगाएकी छन्।

२८ असार, काठमाडौं । इंग्ल्यान्ड महिला क्रिकेट टोलीकी पूर्व कप्तान हिथर नाइटले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेकी छन् ।

३५ वर्षीया नाइटले भारतविरुद्ध लर्ड्समा जारी टेस्ट खेलसँगै आफ्नो १६ वर्ष लामो अन्तर्राष्ट्रिय क्रिकेट यात्रामा पूर्णविराम लगाउने भएकी हुन् । यसअघि इंग्ल्यान्डकी ब्याटर ट्यामी ब्युमन्टले पनि यही खेलपछि अन्तर्राष्ट्रिय क्रिकेट छाड्ने घोषणा गरेकी थिइन् ।

सन् २०१० मा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेकी नाइटले इंग्ल्यान्डका लागि कीर्तिमानी ३२० खेल खेलेकी छन् । उनले १५ टेस्ट, १६० एकदिवसीय र १४५ टी-२० अन्तर्राष्ट्रिय खेल खेलेकी हुन् ।

नाइटले सन् २०१६ मा चार्लोट एडवर्ड्सपछि इंग्ल्यान्डको कप्तानी सम्हालेकी थिइन् । उनको नेतृत्वमा इंग्ल्यान्डले सन् २०१७ मा घरेलु मैदानमा एकदिवसीय विश्वकपको उपाधि जितेको थियो । लर्ड्समै भएको फाइनलमा इंग्ल्यान्डले भारतलाई हराउँदै उपाधि जितेको थियो ।

नाइटले इंग्ल्यान्डलाई १९९ अन्तर्राष्ट्रिय खेलमा नेतृत्व गरिन् । उनको नौ वर्ष लामो कप्तानी यात्रा सन् २०२५ को एसेज शृंखलामा इंग्ल्यान्डले व्यहोरेको भारी हारपछि अन्त्य भएको थियो ।

उनकै कप्तानीमा इंग्ल्यान्ड सन् २०१८ को टी-२० विश्वकप र सन् २०२२ को एकदिवसीय विश्वकपको फाइनलसम्म पुगेको थियो । तर दुवै फाइनलमा इंग्ल्यान्ड अस्ट्रेलियासँग पराजित भएको थियो ।

सन् २०२० मा नाइटले अर्को ऐतिहासिक उपलब्धि हासिल गरेकी थिइन् । उनी टेस्ट, एकदिवसीय र टी-२० अन्तर्राष्ट्रिय क्रिकेट तीनै स्वरूपमा शतक बनाउने इंग्ल्यान्डकी पहिलो खेलाडी बनेकी थिइन् । पुरुष वा महिला क्रिकेटमा इंग्ल्यान्डका कुनै पनि खेलाडीले त्यसअघि यो उपलब्धि हासिल गरेका थिएनन् ।

सन्यास घोषणा गर्दै नाइटले इंग्ल्यान्डका लागि क्रिकेट खेल्न पाएको यात्राप्रति आफू निकै आभारी रहेको बताएकी छन् ।

‘१६ वर्षसम्म ड्रेसिङ रुम र त्यहाँका मानिसहरू मेरो जीवनको निरन्तर हिस्सा बने । ती सम्झना, अनुभव र मानिसहरूले मलाई आजको व्यक्ति बनाउन मद्दत गरेका छन्’ नाइटले भनिन्, ‘यो निर्णयबाट म सन्तुष्ट छु र अबको यात्राका लागि उत्साहित छु ।’

उनले ऐतिहासिक लर्ड्स मैदानमा आफ्नो अन्तर्राष्ट्रिय यात्रा अन्त्य गर्न पाउनु विशेष रहेको पनि बताइन् ।

अन्तर्राष्ट्रिय क्रिकेटबाट अलग भएपछि नाइटले व्यवस्थापकीय भूमिकामा पनि आफ्नो यात्रा अघि बढाउनेछिन् । उनी यसअघि नै द हन्ड्रेडको टोली लन्डन स्पिरिट महिला टोलीको महाप्रबन्धक नियुक्त भइसकेकी छन् ।

सन्यास घोषणा हिथर नाइट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय