News Summary
Generated by OK AI. Editorially reviewed.- रुकुमपूर्वमा स्वास्थ्य अवस्था गम्भीर बनेका दुई गर्भवती महिलाको आइतबार हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत पठाइएको छ।
- राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दुवै महिलालाई थप उपचारका लागि सुर्खेतस्थित प्रादेशिक अस्पतालमा रिफर गरिएको हो।
- पाठेघरबाहिर गर्भ रहेका कारण अत्यधिक रक्तस्रावको जोखिम देखिएपछि विशेषज्ञ उपचारका लागि उनीहरूको उद्धार गरिएको चिकित्सकले बताए।
२८ असार, रुकुमपूर्व । रुकुमपूर्वमा जटिल स्वास्थ्य अवस्था भएका दुई गर्भवती महिलाको आइतबार हेलिकप्टरमार्फत उद्धार गरी थप उपचारका लागि सुर्खेत पठाइएको छ।
पुथाउत्तरगङ्गा गाउँपालिका–५ की २३ वर्षीया मनकी पुन र सोही गाउँपालिका-८ की ३४ वर्षीया सम्झना पुन बोहरालाई रुकुमपूर्व अस्पताल, रुकुमकोटबाट प्रादेशिक अस्पताल, कालागाउँ सुर्खेत रिफर गरिएको हो ।
दुवै महिलाको स्वास्थ्य अवस्था गम्भीर बनेपछि सुविधा सम्पन्न अस्पतालमा तत्काल उपचार आवश्यक रहेको चिकित्सकको सिफारिसपछि जिल्ला प्रशासन कार्यालयको पहलमा राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत हेलिकप्टरको व्यवस्था गरी उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी कोपिला राईले जानकारी दिइन् ।
रुकुमपूर्व अस्पतालका प्रमुख डा. कृष्ण खरालका अनुसार दुवै महिलामा पाठेघरबाहिर गर्भ बसेर फुट्ने जोखिमका कारण पेटभित्र अत्यधिक रक्तस्राव हुने अवस्था देखिएको थियो । यस्तो अवस्थामा तत्काल शल्यक्रिया र विशेषज्ञ उपचार आवश्यक पर्ने भएकाले उनीहरूलाई सुर्खेत रिफर गरिएको उनले बताए।
डा. खरालका अनुसार मानकी पुनको मिर्गौलामा समेत समस्या देखिएको छ । दुवै महिलाको गर्भ करिब ६–७ हप्ताको रहेको अस्पतालले जनाएको छ।
प्रतिक्रिया 4