+
+
Shares

पहिरोले मेची राजमार्ग अवरुद्ध

रासस रासस
२०८३ असार २९ गते १०:३०
Photo Credit : RSS

२९ असार, इलाम । निरन्तरको वर्षाले मेची राजमार्ग र झापासँग जोड्ने दुवै वैकल्पिक सडक बन्द भएपछि इलाम, पाँचथर र ताप्लेजुङको आवागमन ठप्प भएको छ । यातायात अवरुद्ध भएसँगै बिरामी, यात्रु र मालबाहक ढुवानीसमेत प्रभावित बनेका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मी भण्डारीका अनुसार इलाम नगरपालिका–९ राजदुवालीमा पुरानै पहिरो थप धस्सिएर सडक बगेपछि कुनै पनि प्रकारका सवारीसाधन सञ्चालन गर्न सकिने अवस्था छैन ।

‘गोदक–जोगमाई–तिल्केनी सडकमा रहेको डाइभर्सनमाथिबाट बाढी बगेपछि यो वैकल्पिक मार्ग पनि बन्द भएको छ’, उनले भने, ‘केचना–कञ्चनजङ्घा मार्गअन्तर्गत पुवाखोलाको डाइभर्सन डुबानमा परेपछि उक्त सडकबाट यातायात सञ्चालन हुन सकेको छैन ।’

डिभिजन सडक कार्यालय इलामका प्रमुख पवन भट्टराईले वर्षा रोकिएका बेला सडक मर्मतको काम भइरहे पनि लगातारको वर्षाले काम प्रभावित भएको बताए । जोगमाई र पुवाखोलामा बेलीब्रिज जडानको तयारी रहे पनि भारतबाट सामग्री र प्राविधिक आउने मिति अझै निश्चित नभएकाले तत्काल समाधान हुने अवस्था नरहेको उनको भनाइ छ ।

यातायात अवरुद्ध भएपछि इलाममा मालवाहक सवारीसाधन प्रवेश गर्न नसकेको इलाम उद्योग वाणिज्य सङ्घले जनाएको छ । सङ्घका अध्यक्ष चेतनाथ पौडेल (कृष्ण)का अनुसार व्यवसायीले साना सवारीमा सामान ओसारेर दैनिक आवश्यकताको जोहो गरिरहेका थिए, तर वैकल्पिक मार्गसमेत बन्द भएपछि इन्धन र खाद्यान्नको अभाव हुन सक्ने जोखिम बढेको छ ।

मेची क्षेत्रको मुख्य जीवनरेखा मानिने मेची राजमार्गको राजदुवाली खण्ड विगत तीन वर्षदेखि बर्खायाममा निरन्तर पहिरोको उच्च जोखिममा पर्दै आएको छ । करिब आधा किलोमिटर सडक बारम्बार धस्सिने समस्याले यस वर्ष पनि यातायात सञ्चालनमा गम्भीर असर पुर्याएको छ । पुवाखोला र कोल्बुङ क्षेत्रमा समेत पहिरोको जोखिम कायम रहेकाले थप वर्षा भए आवागमन अझ प्रभावित हुन सक्ने स्थानीयको भनाइ छ ।

सडकको दुःखले यातायात व्यवसायी पीरमा छन् । ‘हरेक दिन सडक खुल्छ कि भन्ने आशामा निस्कन्छौँ । तर पानी परेपछि फेरि सबै बन्द हुन्छ’, इलाम नगरपालिका–७ का सवारी चालक निङ्मा शेर्पाले भने, ‘गाडीको किस्ता, इन्धन र घरखर्च धान्नै गाह्रो भएको छ ।’

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?