२९ असार, धनकुटा । कोशी प्रदेशमा सन् २०२६ को पहिलो ६ महिनामा मानवअधिकार उल्लंघनका घटनाबाट ३३१ जना पीडित भएको तथ्यांक सार्वजनिक भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को तथ्यांकले ३३१ जना पीडित रहेको देखाएको हो ।
मानव अधिकार एलाइन्सको २७ औँ स्थापना दिवसका अवसरमा धनकुटामा आयोजित अन्तरक्रिया कार्यक्रममा इन्सेकका कोशी प्रदेशका प्रमुख मनोहर पोख्रेलले प्रदेशको पछिल्लो मानवअधिकार अवस्थाबारे जानकारी दिँदै उक्त तथ्यांक प्रस्तुत गरेका हुन् ।
उनका अनुसार यी ६ महिनाको अवधिमा महिला अधिकारसँग सम्बन्धित ६१ वटा, बाल अधिकारसँग सम्बन्धित १११ वटा तथा नागरिक अधिकारसँग सम्बन्धित १५९ वटा मानवअधिकार उल्लंघनका घटना अभिलेख भएका छन् । यी घटनाबाट कुल ३३१ जना पीडित भएको पाइएको उनले जानकारी दिए ।
यस्तै, सन् २०२५ मा कोशी प्रदेशमा मानवअधिकार उल्लंघनका घटनाबाट एक हजार ४८९ जना पीडित भएको इन्सेकले जनाएको छ । पछिल्ला वर्षहरूमा मानवअधिकार उल्लंघनका घटनामा केही सुधारका संकेत देखिए पनि महिला, बालबालिका तथा नागरिक अधिकारसँग सम्बन्धित समस्या अझै गम्भीर रहेको इन्सेकका प्रदेश प्रमुख पोख्रेलले बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री उमाकान्त गौतमले मानवअधिकारको संरक्षण र प्रवर्द्धन सरकारको प्राथमिकतामा रहेको बताए ।
प्रतिक्रिया 4