+
+
Shares
कोशी प्रदेश :

संसदीय समितिलाई टेर्दैनन् मन्त्रालयका सचिव, बैठकमा नआएपछि स्पष्टीकरण

लेखा समितिको बैठकमा अनुपस्थित भएपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिवलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

हरि अधिकारी हरि अधिकारी
२०८३ असार ५ गते १९:४०

५ असार, विराटनगर । संसदीय समितिको बैठकमा आउन अटेर गरेपछि कोशी प्रदेश सभाको सार्वजनिक लेखा समितिले प्रदेश सरकारका दुई सचिवलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

लेखा समितिको बैठकमा अनुपस्थित भएपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिवलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

समिति सभापति राजन किरातीका अनुसार समितिको शुक्रबार बसेको बैठकमा दुवै मन्त्रालयका सचिवलाई उपस्थित हुन भनिएको थियो । तर, दुवै सचिव बैठकमा उपस्थीत भएनन् । यसलाई समितिले संसदीय गरिमाको अपमानका रूपमा लिएको छ ।

समितिका सभापति किरातीले बैठकमा नआउनुको लिखित कारणसहित अर्को बैठकमा उपस्थित हुन निर्देशन दिने निर्णय गरेर शुक्रबारको बैठक स्थगित भएको बताए ।

उनका अनुसार मुख्यमन्त्रीको कार्यालयले समितिलाई अटेर गरेको पहिलो पटक भने होइन् । ‘अस्ति जेठ २७ गते महालेखा परीक्षकसहितको त्रिपक्षीय बैठकमा मुख्यमन्त्री कार्यालयका सचिवलाई बोलाउँदा उपस्थित हुनुभएन, आज बोलाउँदा पनि आउनुभएन,’ उनले भने, ‘यो त समितिलाई नै नपत्याएजस्तो भयो । संसद्लाई नै नपत्याउने विषय गम्भीर हो ।’

सचिवहरूको अनुपस्थितिले समितिको कार्यतालिका नै प्रभावित भएको उनको भनाइ छ ।

महालेखा परीक्षकको कार्यालयको सातौँ वार्षिक प्रतिवेदनमाथि मन्त्रालयगत रूपमा  दफाबार छलफलका लागि पछिल्लो तीन दिनयता समितिको बैठक नियमित बसिरहेको छ ।

समितिले २ असारमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँग छलफल गरेको थियो । ३ असारमा भौतिक पूर्वाधार विकास मन्त्रालय र ४ असारमा गते खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयसँग छलफल गरेको थियो ।

शुक्रबारको बैठक भने दुई मन्त्रालयका सचिव नआएपछि कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको किरातीले बताए ।

‘महालेखा परीक्षकको प्रतिवेदनमाथिको छलफलका लागि सेड्युल मिलाएका थियौँ, तर सचिवहरू नआएपछि बैठक स्थगित गर्नुपर्‍यो,’ उनले भने, ‘अब बैठक बस्न दुई–चार दिन समय लाग्छ ।’

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?