News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीको कोशी प्रदेश पहिलो अधिवेशनमा केन्द्रको निर्देशन विपरीत नेतृत्व चयनका लागि प्यानल बनेको छ ।
- सभापति उम्मेदवार गोमा तामाङले, “आउनुहोस् स्वतन्त्र चुनाव लडौँ, तर एउटा व्यक्तिलाई अथवा कुनै प्यानल बनाएर माननीयहरु हिँड्छन् भने कोशी प्रदेशले स्वीकार्दैन,” भनिन् ।
- मोरङको विराटचोकमा नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा जम्मा ७०२ मत खसेको छ ।
२८ जेठ, विराटनगर । रास्वपा कोशी प्रदेशको पहिलो अधिवेशनमा केन्द्रको निर्देशन विपरीत प्यानल बनेको छ ।
पार्टी केन्द्रले प्यानल बनाउन निषेध गरेको थियो । कोशी प्रदेशका जिल्ला अधिवेशनमा प्यानल बनाउन नदिइए पनि प्रदेश अधिवेशनमा भने प्यानल नै बनेको हो ।
मोरङको बिराटचोकमा जारी पहिलो अधिवेशनमा नयाँ नेतृत्वका लागि बुधबार राति मतदान भयो । मतदानका क्रममा प्रतिनिधिसभा सदस्य र केही केन्द्रीय नेताको पहलमा प्यानल बनेको थियो ।
सभापतिमा निवर्तमान कार्यवाहक सभापति गोमा तामाङ (सरिन तामाङ), चन्द्रकुमार गौली, खगेन्द्र कटुवाल, चन्द्रबहादुर राईले उम्मेदवारी दिएका थिए । राईको तर्फबाट प्यानल बनाएर लिष्ट बाँडिएको थियो ।
सांसदहरुले संगठन विथोल्न खोजेको आरोप
मतदानका लागि लाइनमा बसेका प्रतिनिधिलाई प्यानलको लिष्ट बाँडिएपछि अधिवेशन स्थलमा केही समय विवाद पनि भयो । सभापतिको उम्मेदवार गोमा तामाङले स्टेजबाट गुटबन्दी नगर्न सांसद र केन्द्रीय नेताहरुलाई चेतावनी पनि दिइन् । ‘आउनुहोस् स्वतन्त्र चुनाव लडौँ, तर एउटा व्यक्तिलाई अथवा कुनै प्यानल बनाएर माननीयहरु हिँड्छन् भने कोशी प्रदेशले स्वीकार्दैन,’ उनले भनेकी थिइन्, ‘केही माननीयले संगठन बिथोल्ने प्रयास गर्दैछन्, व्यक्ति जिताउन माननीय लाग्छन् भने ती माननीयलाई कोशी प्रदेशमा निषेध गर्छु म ।’ तर ती ‘माननीय’ को हुन् भन्ने औपचारिक रुपमा खुलिसकेको छैन ।

उनले संगठन बिथोल्न सांसद नबनाएको बताउँदै आफ्नो ठाउँमा बस्न चेतावनी दिएकी थिइन् ।
तामाङले आफूले प्यानल नबोकी हिँडेको दाबी गरिन् । तर उनको पक्षमा पनि चिट भने बाँडिएको प्रतिनिधिहरु बताउँछन् । ‘अलिक बढी लिष्ट चन्द्रबहादुर राईको तर्फबाट बाँडियो, सरिन तामाङको तर्फबाट पनि चिट पनि आएको थियो,’ नयाँ नेतृत्वका लागि मतदान गरेर फर्किएका एक प्रतिनिधिले भने, ‘मानयीयहरुको एउटा टिम चन्द्र राईको पक्षमा देखियो ।’
गणेश कार्कीको असन्तुष्टि
निर्वाचनको क्रममा गुटबन्दी देखिएपछि रास्वपा सांसद गणेश कार्कीले सार्वजनिक रुपमा असन्तुष्टि जनाएका छन् । ‘चुनावमा प्यानल छैन, राम्रो कुरा हो । तर केही व्यक्ति उम्मेदवारका लागि भोट माग्दै गरेको देखेँ । प्यानलको सुरूवात यहिँदेखि हुने हो । उम्मेदवारले मात्र आफ्ना लागि भोट मागौँ । दोस्रो व्यक्तिले अर्कोको लागि भोट माग्दै, पम्प्लेट बोक्दै नहिँडौँ,’ उनले भनेका छन्, ‘रास्वपा सप्तकोशी भइसकेको छ । यसको महानता र विशालतामा गौरव गरौँ, देशका लागि उपयोग गरौँ ।’
उनले नीतिको राजनीति गर्न आग्रह पनि गरेका छन् । ‘कोशीले नेताको राजनीति गर्यो । नेताको नामले राजनीति गर्यो,’ उनले भने, ‘अब नीतिको राजनीति गरौँ । राष्ट्रिय नीतिका लागि कोशीले नेतृत्व लिन सक्ने गरी, उदाहरण बनाउन सक्ने गरी राजनीति गरौं ।’
प्रदेशका निवर्तमान महामन्त्री तथा सांसद लालविक्रम थापा भने निर्वाचनमा गुटबन्दी गरेको उजुरी निर्वाचन समितिमा नआएको बताउँछन् । ‘बाहिर हल्लाको विषय जानकारी भएन, तर निर्वाचन समितिमा कसैको उजुरी आएको छैन’, उनले भने, ‘उजुरी आए छानबिन हुन्छ ।’
लोकतन्त्रमा मत माग्न पाउने अधिकार सबैलाई हुने बताउँदै उनले प्यानल बनेको उजुरी नआएको बताए ।
थापाका अनुसार निर्वाचन क्षेत्रबाट २८, समावेशी १५ सदस्य र एक जना सभापतिका लागि बुधबार मतदान भएको थियो । निर्वाचनमा ७०२ मत खसेको थियो । आज मतगणना हुनेछ ।
कुनै एक उम्मेद्वारले ५० प्रतिशत मत प्राप्त नगरे सभापतिको लागि पहिलो र दोस्रो स्थानको मत ल्याउने बीचमा दोस्रो चरणको मतदान हुने विधानमा व्यवस्था छ ।
प्रतिक्रिया 4