+
+
Shares

कोशी प्रदेश : मन्त्रीसँग भनाभन भएपछि सचिवको सरुवा

मन्त्री पराजुलीले ‘सरकार र मन्त्रीभन्दा कर्मचारी बलिया छन्’ भन्दा सचिव तामाङले सरकार ‘भरे हो कि, भोलि हो’ भन्दै जवाफ फर्काएका थिए ।

हरि अधिकारी हरि अधिकारी
२०८३ जेठ २२ गते १९:५७

२२ जेठ, विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणी पराजुलीसँग विवाद गरेका प्रदेश सचिवको सरुवा भएको छ । शुक्रबार बसेको प्रदेश मन्त्रीपरिषद् बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव आस्मान तामाङलाई प्रदेश लोक सेवा आयोग सरुवा गरेको हो ।

मन्त्रीपरिषद् बैठकले तामाङको ठाउँमा सहसचिव कृष्णप्रसाद सापकोटालाई पदस्थापन गर्ने निर्णय गरेको छ ।

मन्त्रालय स्रोतका अनुसार मन्त्री पराजुली र सचिव तामाङबीच पहिलेदेखि नै तिक्तता थियो । सोमबार भने उनीहरूबीच कार्यकक्षमा नै भनाभन नै भएको थियो ।

सोमबार दिउँसो मन्त्री पराजुलीले ‘सरकार र मन्त्रीभन्दा कर्मचारी बलिया छन्’ भनेका थिए । त्यसपछि सचिव तामाङले सरकार ‘भरे हो कि भोलि हो, कहिले हो भन्ने बेला अरु के हुन्छ ?’ भन्दै जवाफ दिएका थिए । त्यसपछि उनी मन्त्री पराजुलीको कार्यकक्षबाट कड्किँदै बाहिरिएका थिए ।

मन्त्री र सचिवबीच भनाभन हुँदा नेपाल पत्रकार महासंघ कोशी प्रदेश अध्यक्ष भरत खड्का मन्त्रीको कार्यकक्षमै थिए । उनी प्रदेशका पत्रकारको बीमालगायत विषयमा छलफल गर्न पुगेका थिए ।

तामाङ मन्त्रीको कार्यकक्षबाट बाहिरिएपछि मन्त्रीसँग फोनमा पनि भनाभन भएको  स्रोतको दाबी छ । त्यसपछि  तामाङ उपसचिव अर्जुन निरौलालाई आर्थिक कारोबार बाहेकको कामकारबाही गर्नेगरी निमित्तको जिम्मेवारी दिएर बिदा बसेका थिए ।

शुक्रबार उनको सरुवा भएको हो । नयाँ सचिव सापकोटा शुक्रबार नै मन्त्रालयमा हाजिर भएका छन् । उनलाइ मन्त्री पराजुलीले स्वागत गरेका थिए ।

शुक्रबारको बैठकले महालेखा परीक्षकको आठौँ वार्षिक प्रतिवेदन २०८० लाई कोशी प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

बैठकले बहुवर्षीय आयोजनाहरूको स्रोत सहमति सम्बन्धी मापदण्डलाई स्वीकृतिको प्रक्रियामा लगेको  छ।

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?