News Summary
Generated by OK AI. Editorially reviewed.- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय सरकारले प्रदेशको क्षेत्राधिकारमाथि हस्तक्षेप गरेको गुनासो गरे ।
- संघीय सरकारले सल्लाहविना नयाँ सवारी दर्ता रोक्न परिपत्र गर्दा प्रदेशको आम्दानीमा प्रभाव परेको उनले बताए ।
- “यातायात प्रदेशको क्षेत्रधिकारमा पर्छ, संघीय सरकारले नयाँ दर्ता बन्द गर्याे, सल्लाहविना । यसले प्रदेशको आम्दानीमा प्रभाव पार्छ,” उनले भने ।
१२ जेठ, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय सरकारले प्रदेशको क्षेत्राधिकारमाथि प्रहार गरिरहेको गुनासो गरेका छन् । प्रदेशको बजेट निर्माणका लागि सांसदसँग सुझाव संकलन गर्न आयोजित कार्यक्रममा उनले प्रदेशको क्षेत्राधिकारमाथि केन्द्रले हस्तक्षेप गरेको गुनासो गरेका हुन् ।
संघीय सरकारले केही दिनअघि नयाँ सवारी दर्ता नगर्न परिपत्र गरेको थियो । प्रदेशको क्षेत्राधिकार रहेको सवारीदर्तामा संघीय सरकारले एक्कासी हस्तक्षेप गरी दर्ता रोकेको उनले बताए ।
‘यातायात प्रदेशको क्षेत्रधिकारमा पर्छ, संघीय सरकारले नयाँ दर्ता बन्द गर्याे, सल्लाहविना, यसले प्रदेशको आम्दानीमा प्रभाव पार्छ,’ उनले भने, ‘हाम्रा हातखुट्टा बाधिँदैछन् ।’
संविधानले नै दिएको अधिकार संघीय सरकारको परिपत्रका कारण प्रभावित भएको उनले बताए । संघीय सरकारले प्रदेशका क्षेत्रधिकारका अन्य विषयमा पनि हस्तक्षेप गरिरहेको उनको भनाइ छ ।
मन्त्री र सचिवस्तरीय निर्णय भन्दै प्रदेश कानुन र संविधानको भावना विपरीत परिपत्र आइरहेका छन्, जसले गर्दा प्रदेश सरकार दबाबमा छ ।
संघीय सरकारले पठाएको परिपत्र कर्मचारीले सहजै मान्ने तर प्रदेशको कानुन कार्यान्वयनमा अटेरी गर्ने पारिपाटी देखिएको गुनासो मुख्यमन्त्रीले निकटस्थहरुसँग गरिरहेका छन् ।
प्रतिक्रिया 4