२९ असार, हेटौंडा । वर्षाका कारण बाढी, पहिरो तथा खोलानालामा पानीको बहाव बढेपछि हेटौंडा र काठमाडौं जोड्ने दुई प्रमुख सडकखण्ड अवरुद्ध भएका छन् ।
मकवानपुरमा आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण कान्तिलोकपथ (हेटौंडा-ठिंगन-सातदोबाटो खण्ड) र छोटो मार्ग (हेटौंडा-कुलेखानी-सिस्नेरी-फर्पिङ-बल्खु खण्ड) अवरुद्ध भएको हो ।
ती सडकखण्डमा यातायात प्रभावित भई उच्च जोखिमको अवस्था सिर्जना भएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जानकारी दिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले यी दुई प्रमुख सडकखण्डमा सोमबार साँझ ५ बजेपछि सवारीसाधन सञ्चालनमा रोक लगाएको सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए ।
प्रशासनले लगातारको वर्षाले सडक यातायात उच्च जोखिममा परेकाले सम्बन्धित निकाय, यातायात व्यवसायी, चालक तथा सर्वसाधारणलाई तोकिएको स्थान र समयसम्म सवारीसाधन सञ्चालन नगर्न तथा सुरक्षित स्थानमा रहन अनुरोध गरेको हो ।
सूचनाअनुसार हेटौंडा-टिंगन-बागमती-ललितपुर सडकखण्डको चौघडा क्षेत्रमा असार २९ गते साँझ ५ बजेदेखि अर्को सूचना जारी नभएसम्म सवारीसाधन सञ्चालन रोकिएको छ ।
यस्तै, हेटौंडा–भैंसे–भीमफेदी–देउराली–सिस्नेरी–काठमाडौं सडकखण्डको चेकिटोल, हेटौंडा क्षेत्रमा असार २९ गते साँझ ५ बजेदेखि असार ३० गते बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको सहायक प्रजिअ जोशीले बताए ।
प्रतिक्रिया 4