News Summary
Generated by OK AI. Editorially reviewed.- आईएमई खल्ती लिमिटेडले स्मार्ट च्वाइस टेक्नोलोजिजसँगको सहकार्यमा डिजिटल भिसा कार्ड सेवा सार्वजनिक गरेको छ।
- यो कार्डमार्फत प्रयोगकर्ताले फिजिकल कार्ड बिना नै मोबाइलबाट तत्काल सुरक्षित ई–कमर्स कारोबार गर्न सक्नेछन्।
- खल्तीका सीईओ प्रवीण रेग्मीले यो सेवाले नगदरहित अर्थतन्त्र र डिजिटल नेपाल अभियानमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।
२९ असार, काठमाडौं । आईएमई खल्ती लिमिटेड (खल्ती) ले स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) सँगको सहकार्यमा डिजिटल भिसा कार्ड सेवा सार्वजनिक गरेको छ। यो सेवा खल्ती कार्ड्स इकोसिस्टम अन्तर्गत सार्वजनिक गरिएको पहिलो कार्ड सेवा हो।
कम्पनीका अनुसार खल्ती कार्ड्स एकीकृत कार्ड प्लेटफर्म हो। यसअन्तर्गत आगामी दिनमा प्रयोगकर्ताको आवश्यकता तथा विभिन्न प्रयोगका उद्देश्यलाई मध्यनजर गर्दै थप डिजिटल तथा फिजिकल कार्ड सेवाहरू सार्वजनिक हुनेछ।
डिजिटल भिसा कार्ड सुरु भएसँगै अब खल्तीका प्रयोगकर्ताले कुनै फिजिकल कार्ड बिना नै मोबाइलबाट तत्काल सुरक्षित ई–कमर्स कारोबार गर्न सक्नेछन् । यो कार्ड प्रयोग गर्दा खल्ती वालेटमा रहेको मौज्दात रकमबाट सहज रूपमा भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ।
साथै, वालेटमा पर्याप्त मौज्दात नभएको अवस्थामा भुक्तानी प्रक्रिया पूरा गर्न लिङ्क गरिएको प्राथमिक बैंक अकाउन्टबाट रकम स्वतः भुक्तानी हुने नयाँ सुविधा पनि उपलब्ध गराइएको छ।
तीन महिनासम्म निःशुल्क र आकर्षक अफर
सेवा सुरु भएको अवसरमा खल्तीले ग्राहकका लागि विभिन्न अफर सार्वजनिक गरेको छ। सम्पूर्ण ग्राहकले पहिलो तीन महिनासम्म डिजिटल भिसा कार्ड निःशुल्क प्रयोग गर्न सक्नेछन्।
कार्ड एक्टिभेसन गरेपछि ग्राहकले १ हजार रुपैयाँ दामी पोइन्ट्स तथा १ हजार २ सय रुपैयाँसम्मका क्यासब्याक र अन्य सुविधा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार प्रत्येक ई–कमर्स कारोबारमा ०.७५ प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्न सकिनेछ।
एक मिनेटमै कार्ड तयार
खल्तीका प्रयोगकर्ताले एप भित्रै एक मिनेटभन्दा कम समयमा कार्ड एक्टिभ गरी तत्काल प्रयोग गर्न सक्नेछन् । यो कार्ड जारी भएकै दिनदेखि दराज लगायत विभिन्न ई–कमर्स प्लेटफर्म, एयरलाइन्स टिकटिङ, होटल तथा ट्राभल बुकिङ, फुड डेलिभरी तथा भिसा भुक्तानी स्वीकार गर्ने जुनसुकै अनलाइन सेवामा सहज रूपमा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ।
सेवा सार्वजनिक गर्दै खल्तीका सीईओ प्रवीण रेग्मीले खल्ती डिजिटल भिसा कार्डले नगदरहित अर्थतन्त्र निर्माण, औपचारिक डिजिटल कारोबार वृद्धि, ई–कमर्स क्षेत्रको विस्तार तथा डिजिटल फाइनान्सियल लिटरेसीको प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।
उनले यस सेवाले डिजिटल नेपाल अभियानको लक्ष्यलाई व्यवहारमा कार्यान्वयन गर्दै हरेक नेपालीलाई डिजिटल पेमेन्ट इकोसिस्टमसँग जोड्ने अवसर प्रदान गर्ने बताए।
प्रतिक्रिया 4