News Summary
Generated by OK AI. Editorially reviewed.- मेक्सिको, अमेरिका र क्यानडामा जारी विश्वकप फुटबलको रौनकका बीच विश्वप्रसिद्ध पेय पदार्थ 'टकिला' को चर्चा निकै चुलिएको छ।
- टकिला उत्पादनमा प्रयोग गरिने 'एगेभ टकिलाना' वनस्पति मेक्सिकोको सांस्कृतिक पहिचानका साथै दिगो कृषिको एक महत्वपूर्ण आधारका रूपमा स्थापित भएको छ।
- केतुकी वनस्पतिको बहुउपयोगिता बुझेर नेपाल जस्ता मुलुकले पनि आर्थिक लाभ लिन सक्ने सम्भावना रहेको डा. श्यामशरण श्रेष्ठले उल्लेख गर्नुभएको छ।
विश्वकै सर्वप्रिय विश्वकप फुटबल खेल भइरहेको छ। मेक्सिको, अमेरिका र क्यानडाका विभिन्न शहरमा उत्साहका साथ खेलहरू सञ्चालन भइरहेका छन्। नयाँ–नयाँ विश्व कीर्तिमानहरू कायम भइरहेका समाचार आइरहेका छन्। उत्साहजनक गीत–सङ्गीतबाट शुरु भएका खेलहरू झन् झन् अर्थपूर्ण र उत्साहप्रद भइरहेका छन्। खेलकुदले जीवनका लागि एउटा उत्साह थपिदिन्छ भने उद्देश्यपूर्ण जीवन बिताउनका लागि थप मदत गर्छ।
यस प्रसङ्गमा खेलहरू खेलिंदै गरेको अवस्थामा खानेकुरा तथा पेय पदार्थहरूका बारेमा पनि विभिन्न उत्साहजनक समाचार आइरहेका छन्। त्यसमा पनि विश्वविख्यात पेय पदार्थ ‘टकिला’ को चर्चा प्रखर रूपमा भइरहेको छ।
टकिलाको सुरुआती उत्पादन मेक्सिकोमा भएको हो भने यो यहाँको प्रमुख पेय पदार्थ पनि हो। एशिया तथा युरोपमा पनि प्रख्यात टकिलाको इतिहास भने झन् चाखलाग्दो छ। यस मानेमा कि यसको उत्पादनमा प्रयोग हुने बिरुवा संसारको जताततै नै पाइने, जुन सबैले सुनेको तर यसको उपयोगिताका बारेमा त्यति साह्रो प्रचार नभएकाले हो। संसारभर अहिले टकिला, मेक्सिको र फुटबलको व्यापक चर्चा छ।
टकिला आईयुसीएनको लिस्ट कन्सर्न क्याटागोरीमा रहेको वनस्पति केतुकीबाट उत्पादन हुन्छ। यसको वैज्ञानिक नाम ‘एगेभ अमेरिकाना’ हो। मेक्सिकोमा नीलो एगेभ (एगेभ टकिलाना) टकिलाका लागि प्रयोग गरिने वनस्पति हो। यी रसिला हुन्छन्। यसको गुलाब जस्तो आकारमा वृद्धि हुन्छ। पातहरू बाक्ला र फराकिला हुन्छन्। पातको चौडाइ ४०० सेन्टिमिटरसम्मको हुन्छ।
काँडेदार पातहरूको फराकिलो झुन्ड जमिननेर पुगेपछि नाटकीय रूपमा केन्द्रबिन्दु सिर्जना गर्छ। काण्ड छोटो र अस्पष्ट हुन्छ। पातहरू साधारणतया ३० देखि ४० वटा वा सोभन्दा बढी हुन्छन्। रङ खैरो र हरियो हुन्छ भने किनारामा तीखा काँडाहरू तथा टुप्पोमा बाक्लो काँडा हुन्छ। फूलहरू धेरैजसो १० वर्षमा एक पटक मात्र फुल्छन् जुन दुर्लभ मानिन्छ।

फूल फुल्दा केन्द्रबाट अग्लो डाँठ निस्केर ७६० से.मी. उचाइसम्म पुग्छ। डाँठमा पहेंला ठूला फूलहरूको समूह हुन्छ। फूल फुलेपछि यो बिरुवा मर्छ। यसको फल क्याप्सुलमा हुन्छ भने सानो र कालो बीउ हुन्छ।
न्यानो, शुष्क हावापानी र राम्रो पानी निकास भएको ठाउँमा यो प्रशस्त पाइन्छ। यसले खडेरीपूर्ण घामको जोखिम समेत सहन सक्छ। यसको उत्पत्ति अमेरिका र मेक्सिकोमा भएको हो। चिनीको विकल्पमा पनि यो प्रयोग गरिन्छ। डाँठको मुनि मीठो तरल पदार्थ जम्मा भएको हुन्छ, यसलाई महपानी भनिन्छ। यसैबाट पल्क भन्ने पेय पदार्थ उत्पादन गरिन्छ। घाउ निको पार्न र जलेको ठाउँमा उपचार गर्न यसको प्रयोग गरिन्छ। सापोनिन भन्ने पदार्थ पाइने हुनाले यो बिरुवा साबुन बनाउन पनि प्रयोग हुन्छ।
टकिला एगेभ टकिलानाबाट बन्छ। यो ठूलो र नीलो खैरो रङको हुन्छ। यो द्रुत गतिमा बढ्न सक्ने वनस्पति हो। सातौंदेखि चौधौं वर्षमा बिरुवाको पिना हटाएर टकिला उत्पादन गरिन्छ। पिना ४० देखि ९० प्रतिशतसम्म उत्पादन हुन्छ। पातहरू निकालेपछि इनुलिनलाई चिनीमा रूपान्तरण गर्न आवश्यक मात्रामा ताप दिइन्छ। त्यसपछि भुटेको कोरलाई थिचेर चिनीयुक्त तरल पदार्थ निकालिन्छ र फर्मेन्टेसन प्रक्रियाबाट टकिला तयार गरिन्छ। टकिला ५१ प्रतिशत एगेभ चिनी र ३९ प्रतिशत अन्य चिनीबाट तयार गरिन्छ।
यो फाइबर बनाउनका लागि साथै एक लोकप्रिय मिठाई बनाउनका लागि प्रयोग गरिन्छ। माटोको क्षय रोक्न यसको प्रयोग गरिन्छ भने अन्नबालीहरू जनावरहरूबाट जोगाउन छेकबारका रूपमा पनि प्रयोग गरिन्छ। यसका फाइबरहरू विभिन्न प्रकारका कपडा, धागो र डोरी बनाउन प्रयोग गरिन्छ।
मेक्सिकोको पेय पदार्थहरूको पैठारीमा दोस्रोमा टकिला रहेको छ। यो प्रत्येक वर्ष बढ्दो क्रममा रहेको छ भने विश्वका १४१ देशमा यसको बिक्रीवितरण हुने गरेको छ। अमेरिकाले सबैभन्दा बढी टकिला किन्छ भने दोस्रोमा जापान र तेस्रोमा स्पेन रहेको छ। पहिलो नम्बरमा भने यहाँ सबैभन्दा बढी बियरको बिक्रीवितरण हुन्छ।
मेक्सिकोमा यसलाई कृषिमा मकै र सिमी सँगसँगै उत्पादन गरिन्छ। उत्पादन र धेरै प्रयोग हुने कारणले दिगो कृषि क्षेत्रको विकासको पर्यायका रूपमा दर्ज गरिएको छ भने रैथाने वनस्पति भएको हुँदा सांस्कृतिक पहिचानका रूपमा पनि हेरिएको छ।

केतुकीलाई बायो इन्डिकेटरका रूपमा पनि लिइन्छ। यसमा अन्तर्निहित जैविक कार्यक्षमताले गर्दा सुख्खा र अर्धसुख्खा क्षेत्रको वातावरणीय गुणस्तर मापनलाई प्रत्यक्ष रूपमा प्रतिबिम्बित गर्दछ।
नेपाल जस्ता धेरै देशमा खेर फालिएको केतुकीको यी बहुउपयोगिता बुझेपछि भने यसबाट प्राप्त गर्न सकिने आर्थिक लाभहरू हामी जस्ता देशहरूले राम्रैसँग व्यापारिक प्रयोजनका रूपमा उपयोगमा ल्याउन सक्नेछौं। संसारकै लोकप्रिय खेलकुदमध्येको फुटबल चलिरहेको परिप्रेक्ष्यमा हामीले पनि हाम्रो देशमा के टकिला उत्पादन गरी बेचबिखन गर्न सक्छौं त ?
प्रतिक्रिया 4