+
+
Shares

मिडिया कार्यालय अगाडि अवैध पार्किङको विषय कालो अक्षरले लेखिने छ : ज्ञानेन्द्र शाही

‘घरको अगाडि पार्किङ गराएर, अल्गोरिदम फैलाएर जसरी राज्य आतंक सिर्जना गरिएको छ, यो कालान्तरमा इतिहासमा कालो अक्षरले लेखिनेछ,’ उनले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३० गते १२:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले वर्तमान सरकारले राज्य संयन्त्रको दुरुपयोग गरी आतंक सिर्जना गरेको गम्भीर आरोप लगाएका छन् ।
  • शाहीले सरकारले सञ्चारमाध्यम र प्रतिपक्षी दलका नेताका घर अगाडि अवैध पार्किङ गराई अल्गोरिदममार्फत जनमत प्रभावित पार्ने दुस्प्रयास गरेको दाबी गरेका छन् ।
  • उनले भने, ‘घरको अगाडि पार्किङ गराएर, अल्गोरिदम फैलाएर जसरी राज्य आतंक सिर्जना गरिएको छ, यो कालान्तरमा इतिहासमा कालो अक्षरले लेखिनेछ ।’

३० असार, काठमाडौं । राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारले राज्य संयन्त्र दुरुपयोग गरेर आतंक सिर्जना गरेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै शाहीले मिडिया र प्रतिपक्षी दलका नेताका घर अगाडि अवैध रूपमा पार्किङ गराउने, त्यसको भिडियो सामाजिक सञ्जालमा फैलाउने र ‘अल्गोरिदम’ प्रयोग गरेर जनमत प्रभावित पार्ने काम भइरहेको बताए ।

‘घरको अगाडि पार्किङ गराएर, अल्गोरिदम फैलाएर जसरी राज्य आतंक सिर्जना गरिएको छ, यो कालान्तरमा इतिहासमा कालो अक्षरले लेखिनेछ,’ उनले भने ।

हिजो सिंहदरबारभन्दा मान्छेको जीवन ठूलो भन्नेहरूले नै आज मान्छेको जीवनभन्दा नियम ठूलो भन्ने गरेको टिप्पणी समेत गरे ।

ट्राफिक नियम पालना नगर्दा सर्वसाधारणलाई कारवाही भइरहँदा प्रधानमन्त्री र गृहमन्त्रीलाई कारवाही किन हुँदैन भनी उनले प्रश्न गरेका छन् । प्रधानमन्त्री र गृहमन्त्रीले सिटबेल्ट नलगाई गाडी चलाउने गरेको भन्दै शाहीले उनीहरुलाई पनि कारबाहीको माग गरे ।

शाहीले दिए राजनीतिकरणको उदाहरण

शाहीले कर्णालीमा भिरमा अड्किएका नागरिकको समयमै उद्धार हुन नसक्दा मृत्यु भएको घटनाबारे सरकारसँग जवाफ माग्दा त्यसलाई राजनीतिकरण गरिएको भन्ने आरोप लगाइएको बताए । साथै उनले राजनीतिकरण भनेको केहो भन्ने उदाहरणसहित सुनाए ।

‘आफैं सरकारमा बस्ने, आफैं आफ्ना कार्यकर्ता लगाएर सञ्चारमाध्यमका कार्यालय र प्रतिपक्षका घरअगाडि अवैध पार्किङ गराउने, त्यसको भिडियो बनाएर सर्वसाधारणले गरेको भन्दै अल्गोरिदम फैलाएर मिडियाबाजी गर्ने गतिविधिलाई राजनीतिकरण भनिन्छ,’ उनले भने ।

‘पानी बाँड्न गएको हुँ भन्ने, पोशाक लगाएका विद्यार्थीलाई ढाल बनाएर लासको सिँढी चढ्दै राज्यसत्तामा पुग्ने गतिविधिलाई राजनीतिकरण भनिन्छ । भिरमा अड्किएको मान्छेलाई उद्धार गर भन्नु राजनीतिकरण होइन,’ उनले भने ।

शाहीले थप भने, ‘संसद भवन चाहिँदैन, संसद चाहिँदैन भन्दै आगो लगाउने, तर पछि त्यही संसदको चुनाव लड्ने गतिविधिलाई राजनीतिकरण भनिन्छ । आफू पदमा नहुँदा नेताको तलब हटाउनुपर्छ, अगाडि–पछाडि टाइँटाइँ र टुइँटुइँ गाडी सुरक्षाकर्मी राख्न हुँदैन भन्ने, सत्तामा पुगेपछि आफ्नै अगाडि पछाडि सुरक्षाकर्मीको लावालस्कर र प्रवृत्तिलाई राजनीतिकरण भनिन्छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?