+
+
Shares

गणेश नेपालीको सम्मानमा उनकै नाममा ट्राफिक अदालत सुरु गरौँ : रास्वपा सांसद खरेल

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३० गते १२:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुलभ खरेलले ट्राफिक प्रहरीको जरिवाना र कारबाहीविरुद्ध उजुरी गर्न छुट्टै ट्राफिक अदालत स्थापना गर्नुपर्ने माग गरेका छन्।
  • उनले भने, 'गणेश नेपालीका लागि असली न्याय तब हुन्छ, जब हामीले उहाँकै नाममा एउटा ट्राफिक कोर्टको स्थापना गर्छौं।'
  • खरेलले ट्राफिक प्रहरीलाई अनिवार्य बडी क्यामेरा जडान गर्न र जरिवानालाई चुनौती दिने स्वतन्त्र सुनुवाइ संयन्त्रको व्यवस्था गर्न सरकारसँग जोडदार माग गरेका छन्।

३० असार, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुलभ खरेलले ट्राफिक प्रहरीले गर्ने जरिवाना र कारबाहीविरुद्ध उजुरी सुन्न छुट्टै ट्राफिक अदालत स्थापना गर्न माग गरेका छन्। हालै काठमाडौँमा आत्मदाह गरेका मुगुका युवा गणेश नेपालीको सम्मान र असली न्यायका लागि उनकै नाममा उक्त अदालत स्थापना गर्नुपर्ने सांसद खरेलको प्रस्ताव छ।

सोमबार संसदीय समितिको बैठकमा बोल्दै सांसद खरेलले ट्राफिक प्रहरीले काटेको चिटका कारण नागरिकले असन्तुष्टि जनाउँदा कानुनी उपचार खोज्ने ठाउँ नभएकोतर्फ सरकारको ध्यानाकर्षण गराए। जरिवानालाई सजायको प्रकार मान्दै उनले प्रहरीले काटेको चिट चित्त नबुझे नागरिकले त्यसलाई चुनौती दिन पाउने स्वतन्त्र संयन्त्रको आवश्यकता औँल्याएका हुन्।

‘कानुनी राज्यमा सरकार वा त्यसका निकायले गरेका निर्णयहरूलाई कानुनबमोजिम च्यालेन्ज गर्न पाइन्छ। तर, तपाईं-हामीलाई ट्राफिक प्रहरीले चिट काट्यो र त्यो चित्त बुझेन भने उजुरी गर्न जाने ठाउँ कहाँ छ ?’ खरेलले भने, ‘गणेश नेपालीका लागि असली न्याय तब हुन्छ, जब हामीले उहाँकै नाममा एउटा ट्राफिक कोर्टको स्थापना गर्छौं।’

सांसद खरेलले मृतक नेपालीलाई सहिद घोषणा गर्ने, परिवारलाई रोजगारी र शिक्षा दिने जस्ता मागहरू स्थानीय सरकारले अगाडि बढाइरहे पनि दीर्घकालीन समाधानका लागि यातायात तथा सवारी व्यवस्था ऐन संशोधन गरेरै भए पनि प्रत्येक महत्त्वपूर्ण सहरमा ट्राफिक अदालत स्थापना गर्नुपर्नेमा जोड दिए।

पछिल्लो समय मन्त्रालयहरूमा बनिरहेका कानुनका मस्यौदाहरूमा जरिवाना रकम बढाउने कुरा उठिरहेको सन्दर्भ जोड्दै उनले उजुरी सुन्ने निकाय नबनाई जरिवाना मात्रै बढाउँदा भोलिका दिनमा भयावह अवस्था निम्तिन सक्ने चेतावनी दिए।

हालै सर्वोच्च अदालतले गम्भीर प्रकृतिका अपराधमा अनुसन्धान अधिकारीसमक्ष गरिने बयानको भिडियो रेकर्डिङ अनिवार्य गर्न दिएको आदेशको उदाहरण दिँदै खरेलले ट्राफिक प्रहरीको हकमा पनि प्रविधिको प्रयोग हुनुपर्ने बताए।

खरेलले चिट काट्दा ट्राफिक प्रहरीले अनिवार्य रूपमा शरीरमा क्यामेरा (बडी क्यामेरा) लगाउनुपर्ने र भोलि नागरिकले ट्राफिक अदालतमा जरिवानालाई चुनौती दिँदा प्रहरीले क्यामेराको फुटेजलाई प्रमाणका रूपमा पेस गर्नुपर्ने व्यवस्था लागु गर्न सरकारसँग जोडदार माग गरेका छन्। यसो गर्दा प्रमाण जुटाउने भार राज्यको काँधमा सर्ने र नागरिकले न्याय पाउने उनको भनाइ छ।

सांसद खरेलले समितिमा के भने ?

कानुनको कार्यान्वयन कठोर नै हुन्छ। कानुनको कार्यान्वयन कठोर गर्दै गर्दा पनि कार्यान्वयन गर्ने निकायले करुणा चाहिँ पक्कै पनि देखाउनुपर्छ। अब गणेश नेपालीको हकमा अहिले उहाँलाई सहिद घोषणा गर्नुपर्ने, परिवारलाई रोजगारी र शिक्षा दिनुपर्ने भनेर जुन माग आइरहेको छ, स्थानीय सरकारले पनि त्यो माग सम्बोधनको प्रक्रिया अगाडि बढाइरहेको छ। तर, त्योभन्दा महत्त्वपूर्ण र आजसम्म नआएको विषय, जुन कुरा सम्बोधन गर्न हामी चुकिरहेका छौँ, म त्यो विषयमा यो समितिसमक्ष सर्वप्रथम प्रकाश पार्न चाहन्छु।

त्यो विषय के हो भन्दाखेरि- कानुनी राज्यमा सरकारले गरेका निर्णयहरूलाई कानुनबमोजिम च्यालेन्ज (चुनौती) गर्न पाइन्छ। त्यही नै हो कानुनी राज्यको अवधारणा भनेको। सरकारले गरेका निर्णयहरूलाई कुनै पनि व्यक्तिले च्यालेन्ज गर्न पाउँछ।

तर, तपाईं-हामीलाई कहिलेकाहीँ प्रहरीले होस् अथवा ट्राफिक प्रहरीले कहीँकतै चिट काट्यो र त्यो चिट काटेको कुरा हामीलाई चित्त बुझेन भने हामीले उजुरी गर्न जाने ठाउँ कहाँ त ? त्यो प्रहरीले काटेको चिट त जरिवाना हो, त्यो त कसुर हो। त्यो चिटले त मलाई अपराधी ठहर गर्दै छ।

जरिवाना पनि सजायको एउटा प्रकार नै हो। भनेपछि, त्यसरी चिट काट्दै गर्दा मलाई चित्त बुझेन भने मैले उजुरी गर्न जाने ठाउँ कहाँ त ? यो विषयमा अहिलेसम्म हामीले कहीँकतै छलफल गरेका छैनौँ।

मलाई लाग्छ, गणेश नेपालीका लागि असली न्याय तब हुन्छ, जब हामीले गणेश नेपालीको नाममा एउटा ट्राफिक कोर्ट (ट्राफिक अदालत) को स्थापना गर्छौं। हामीले सबै महत्त्वपूर्ण सहरहरूमा यातायात तथा सवारी व्यवस्था ऐनलाई संशोधन गरौँ, जसले गर्दाखेरि प्रहरीले यदि हामीलाई चिट काटेको छ भने त्यसको स्वतन्त्र सुनुवाइ (इन्डिपेन्डेन्ट हियरिङ) गर्ने संयन्त्र हुनुपर्‍यो।

प्रहरीले काटेको चिटलाई हामीले च्यालेन्ज गर्ने व्यवस्था हुनुपर्‍यो। जब सरकार वा सरकारमातहतका निकायहरूले गरेका निर्णयहरूलाई हामीले कानुनबमोजिम च्यालेन्ज गर्न पाउँछौँ, तब मात्र हामी सुरक्षित भएको महसुस गर्छौं।

त्यही भएर मलाई लाग्छ, गणेश नेपालीको हकमा अहिलेसम्म माग नभएको तर हुनैपर्ने विषय यही हो। अहिले पछिल्लो चरणमा मन्त्रालयहरूमा मस्यौदा भएका विधेयकहरूमा पनि ‘अलि चर्को जरिवाना गर्नुपर्छ कि’ भन्ने कुराहरू आइरहेका छन्। यस्तो अवस्थामा हामीले ट्राफिक कोर्टको स्थापना नै गरेनौँ भने भोलिका दिनमा त्यसले कस्तो भयावह अवस्था निम्त्याउन सक्छ भन्ने कुरा पनि हामीले हेर्नुपर्छ। उहाँलाई असली न्याय तब हुन्छ, जब हामीले स्वतन्त्र रूपमा एउटा ट्राफिक कोर्टको स्थापना गर्न सक्छौँ र त्यहाँ गएर हामीलाई चित्त नबुझेका कुराहरूमा उजुरी गर्न पाउँछौँ।

हालसालै सर्वोच्च अदालतले एउटा फैसलामा (हिजोआजकै फैसला होला) के भन्यो भन्दाखेरि— अनुसन्धान अधिकारीसमक्ष गर्ने बयान, गम्भीर र जघन्य प्रकृतिका अपराधहरूमा रेकर्डिङ गर्नुपर्छ। रेकर्डिङ गरेर त्यो बयान भोलि अदालतमा पेस गर्ने गर भनेर अदालतले परमादेश जारी गरेको छ। त्यो किन गरेको भन्दाखेरि कसैलाई पनि जबरजस्ती बयान दिन बाध्य नपारियोस् भन्ने हिसाबले प्रहरीमा हुने अनुसन्धानको हकमा त्यो बोलेको छ।

त्यही भएर ट्राफिक प्रहरीले चिट काट्दै गर्दा पनि आफ्नो शरीरमा क्यामराजडित डिभाइस राख्नुपर्छ। भोलिका दिनमा हामीले त्यो ट्राफिक कोर्टमा गएर प्रहरीको कारबाहीलाई च्यालेन्ज गर्दै गर्दा ‘तिमीले त यो अपराध गर्या थियौ नि, तिमीले त यहाँ लेन मिच्या थियौ नि’ भनेर प्रहरीले आफ्नो क्यामेराको फुटेज अदालतमा लगेर पेस गर्नुपर्छ।

त्यो गर्दा मात्रै प्रमाणको भार हामीले नेपाल सरकारमा सारेका हुन्छौँ। त्यसैले, गणेश नेपालीलाई न्याय त्यो अवस्थामा मात्रै हुन्छ जब हामीले ट्राफिक कोर्ट स्थापना गर्न सक्छौँ। म नेपाल सरकारसमक्ष यो ट्राफिक कोर्ट स्थापनाका लागि जोडदार माग पनि गर्न चाहन्छु।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?