News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपाका सचेतक प्रकाशचन्द्र परियारले सञ्चारगृहमाथिको अवरोध र त्रासलाई प्रेस स्वतन्त्रतामाथिको आक्रमण भएको बताउनुभयो ।
- परियारले लोकतन्त्रको सुदृढीकरणका लागि स्वतन्त्र र जिम्मेवार पत्रकारिता अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।
- उनले सञ्चारमाध्यमलाई निर्बाध काम गर्ने वातावरण सिर्जना गर्न सरकार र गृह प्रशासनको ध्यानाकर्षण गराउनुभयो ।
३० असार, काठमाडौं । रास्वपाका सचेतक प्रकाशचन्द्र परियारले सञ्चारगृहमाथि हुने कुनै पनि प्रकारको अवरोध र त्रासको प्रयास प्रेस स्वतन्त्रतामाथिको आक्रमण भएको बताएका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा विशेष समयमा बोल्दै उनले संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रताको रक्षा गर्न सरकार गम्भीर हुनुपर्ने बताएका हुन्।
आफू एउटा सांसद र आमसञ्चारको विद्यार्थीका रूपमा मात्र नभई नेपालको संविधानको प्रस्तावनामै सुनिश्चित गरिएको पूर्ण प्रेस स्वतन्त्रताको पहरेदार र वकालतकर्ताका रूपमा सदनमा उभिएको उल्लेख गर्दै परियारले राजधानीका एक अग्रणी सञ्चारमाध्यमको मुख्य प्रवेशद्वारमा गाडी पार्किङ गरी आवतजावत ठप्प पार्ने प्रयासको कडा शब्दमा भर्त्सना गरे ।
उनले सत्यसँग डराउनेहरूले मात्र यस्ता गतिविधि गर्ने भन्दै सत्यलाई ढाकछोप गर्न खोज्नु ‘हत्केलाले सूर्य छेक्न खोज्नु’ जस्तै भएको बताए। ‘हिजो निरंकुश शाही कालमा, तत्कालीन राजा ज्ञानेन्द्र शाहको सैनिक शासनमा बन्दुक बोकेका सेनाहरू समाचार कक्ष भित्रै पसेर समाचार सेन्सर गर्दथे। त्यतिबेला नझुकेको नेपाली सञ्चाररमाध्यम, आज सडकमा दुई-चारवटा गाडी तेर्स्याएर तर्सिन्छ र ?’
परियारले नेपाली पत्रकारिताले विभिन्न राजनीतिक उतारचढाव र कठिन परिस्थितिको सामना गर्दै वर्तमान अवस्था हासिल गरेको स्मरण गराए ।
उनले निरंकुश शाही शासनका बेला तत्कालीन राजा ज्ञानेन्द्र शाहको सैनिक शासनमा बन्दुकधारी सेना समाचार कक्षमै प्रवेश गरेर समाचार सेन्सर गर्ने गरेको इतिहास स्मरण गर्दै त्यस्तो दमनका बीच पनि नझुकेको नेपाली पत्रकारिता आज सडकमा केही गाडी तेर्स्याएर तर्सिने अवस्था नरहेको बताए ।
उनले ‘ओखलीमा टाउको हालेपछि मुसलको के डर’ भन्ने उखान उल्लेख गर्दै शाहीकालका बन्दुकधारी सेनाले रोक्न नसकेको नेपाली पत्रकारितालाई आज सडकमा अवरोध सिर्जना गरेर गलाउन खोज्नु दिवास्वप्न मात्र हुने टिप्पणी गरे।
उनले राष्ट्रिय स्वतन्त्र पार्टी लोकतन्त्र, विधिको शासन र पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा चट्टानझैँ उभिएको दल भएको उल्लेख गर्दै सत्ता वा स्वार्थका कारण प्रेसमाथि कुनै पनि प्रकारको दबाब, त्रास वा अराजकता सिर्जना हुन नहुने बताए ।
लोकतन्त्रको रक्षा गर्न प्रेस स्वतन्त्रताको प्रतिरक्षा आवश्यक रहेको उल्लेख गर्दै उनले त्यसका लागि आफ्नो दल सधैं अग्रपङ्क्तिमा रहने प्रतिबद्धता जनाए।
परियारले सञ्चारमाध्यमभित्र पनि सुधार आवश्यक रहेको स्वीकार गरे। उनले महात्मा गान्धीको भनाइ उद्धृत गर्दै ‘प्रेस एउटा ठूलो शक्ति हो, तर जसरी अनियन्त्रित पानीको भेलले गाउँ डुबाउँछ र बाली नष्ट गर्छ, त्यसैगरी अनियन्त्रित कलमले पनि विनाश निम्त्याउन सक्छ’ भन्दै स्वतन्त्र प्रेससँगै जिम्मेवार पत्रकारिताको आवश्यकता औँल्याए। उनले प्रेस सच्चिनुपर्ने ठाउँमा सच्चिनै पर्ने र त्यो पत्रकारिता क्षेत्रकै दायित्व भएको धारणा राखे।
सदनमार्फत सरकार र गृह प्रशासनको ध्यानाकर्षण गराउँदै परियारले सबै सञ्चारगृह र पत्रकारलाई त्रासरहित वातावरणमा निर्बाध रूपमा काम गर्न पाउने सुरक्षाको प्रत्याभूति तत्काल गर्न माग गरे।
उनले प्रेस ‘एक्सप्रेस’ नभई जिम्मेवार प्रेस बन्नुपर्ने उल्लेख गर्दै स्वतन्त्र र जिम्मेवार प्रेस नै लोकतन्त्रको सुदृढीकरण तथा समृद्धिको आधार भएको बताए।
प्रतिक्रिया 4