३० असार, डोटी । एउटा सानो गोठ, होचो र अँध्यारो छ । झ्याल छैन, ढोका पनि गतिलो छैन ।
त्यही गोठको एउटा कुनामा एक मानिस एक्लै कराइरहन्छन् । नाइलनको डोरी(दाम्लो)ले पशुझैँ उनको खुट्टा बाँधिएको छ । काठको एउटा फल्याक छ, त्यसैमा कम्मल बिछ्याइएको छ । उनी त्यही माथि बसिरहेका हुन्छन् ।
उनी आफ्नै तालमा आवाज निकालिरहन्छन्, बेलाबेला ताली बजाउँछन् । जे भेट्टायो त्यही मुखमा हाल्छन्, घरी चपाउँछन्, घरी थुक्छन् ।
यसरी नै चलिरहेछ एक २६ वर्षीय युवाको जीवन ।
उनी हुन्, डोटीको जोरायल गाउँपालिका–५, पातलीगाउँका ईश्वर पातली ।
घर परिवारका अनुसार उनमा जन्मजात मानसिक स्वास्थ्य समस्या छ । १२ वर्षको उमेरदेखि उनी यसैगरी गोठमा बाँधिएका छन् ।
‘जन्मिँदा नै यस्तै जन्मियो, बोल्न पनि सक्दैन, कान पनि कमै सुन्छ, कुनै चेत पनि छैन’, ईश्वरका बुवा लालबहादुर पातली दुखेसो गर्छन्, ‘सानो छँदा त च्यापेर राख्न सकिन्थ्यो । ठूलो हुँदै गएपछि हामीले सम्हाल्न नसक्ने भयौं । अनि, बाँधेर राख्नुको विकल्प हामीसँग रहेन ।’
छोरालाई यसरी बाँधेर राख्दा लालबहादुरको मन नराम्ररी भक्कानिरहन्छ ।
लालबहादुरका सात सन्तानमध्येका ईश्वर दोस्रो हुन् । दुर्गम गाउँको गरिब परिवारमा जन्मिनु ईश्वरका लागि अभिशाप भएको ठान्छन्, बुबा लालबहादुर ।

‘छोरो जन्मिँदा सुरुमा खुबै खुसी लागेको थियो । हुर्कँदै जाँदा थाहा भयो, उसमा यस्तो समस्या रहेछ । हामी खेती–किसानी गरेर गुजारा चलाउने मान्छे उपचार पनि गर्न सकेनौं,’ लालबहादुर भन्छन् ।
ईश्वर सानो छँदा लालबहादुर आफू जहाँ गयो उतै लैजाने गरेको बताउँछन् । ‘छोरै हो, यस्तो अवस्था देख्दा झन् बढी माया लाग्छ । त्यसैले अरुले केही नराम्रो भन्लान् भनेर आफैसँग बोकेर लैजान्थेँ,’ उनी सम्झन्छन्, ‘तर ठूलो हुँदै गएपछि भाग्ने, काम बिगारिदिने गर्नथाल्यो । के गर्नु, त्यसपछि बाँधेर राख्नुको विकल्प हामीसँग पनि रहेन ।’
सुरुमा केही समय ईश्वरलाई घरभित्र थुनेर राखेर प्रयास गरेको लालबहादुर बताउँछन् । ‘घरभित्रका भाँडा फुटाइदिने, ढोका फुटाइदिने, खनकुट गरेर सबै भत्काइदिनथाल्यो । केही सीप नलागेपछि यसो गर्न बाध्य भयौं,’ उनले भने ।
बुबा लालबहादुरका अनुसार उनको परिवारलाई सुरुमा मानसिक स्वास्थ्य सम्बन्धी उपचार हुन्छ भन्ने पनि थाहा थिएन । जब थाहा पाए उनले उपचार खर्चका लागि चाहिने रकम कहिल्यै जुटाउन सकेनन् ।
परिवारको गरिबीका कारण ईश्वरको जीवनको साथी त्यही गोठ बन्यो, त्यही नाइलनको दाम्लो बन्यो ।
‘आङमै दिसापिसाब गर्छ, दिसापिसाब आएको थाहा पाउन्नँ । सबै हामीले नै सफा गरिदिनुपर्छ । कहिले मैले सफा गर्छु, कहिले आमाले’, लालबहादुर भन्छन् । दिसापिसाबकै कारण पनि उनलाई एकान्तमा राख्नुपरेको उनी बताउँछन् ।
‘थालमा खाना राखिदिए दुवै हातले खान्छ । पेट भरियो भने थाल छेउमा राखेर चुपचाप बस्छ, खाना पुगेन भने थाल बजाइराख्छ । थाल बजायो भने खाना थप्नुपर्छ भन्ने बुझ्नुपर्यो’, बुबा लालबहादुर अगाडि भन्छन् ।

गतवर्ष जिल्ला सदरमुकाम सिलगढी लगेर ईश्वरको नागरिकता, राष्ट्रिय परिचय पत्र र अपाङ्गता परिपयपत्र बनाइदिएको बुबा लालबहादुर बताउँछन् । ‘अपाङ्गता परिचय पत्रको आधारमा उनले सामाजिक सुरक्षा भत्ता त आउन थालेको छ । तर त्यो पैसाले उपचार गर्न सकिने अवस्था छैन,’ उनले भने ।
आफ्नो उमेरमा त जसोतसो अपाङ्ग छोरालाई स्याहार गरेर राखेका छन् लालबहादुर दम्पतीले । यसपछि कसले गरिदेला भन्ने चिन्ता छ उनीहरूलाई ।
‘म ६२ वर्ष पुगिसके । आमा (गंगादेवी) पनि ५५ वर्ष भईसक्यो’, उनी भन्छन्, ‘अब त हामीलाई दिसापिसाब सफा गर्न पनि नसक्ने हुनथाल्यौँ ।’
बुबा लालबहादुर छोराको उपचारका लागि कसैले सहयोग गरिदिएहुन्थ्यो भन्ने अपेक्षा राख्छन् । तर, हालसम्म कसैसँग सहयोग माग्न भने सकेका छैनन् ।
अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन, २०७४ को दफा २(ख) ले मानसिक समस्या भएका व्यक्तिहरूलाई पनि अपाङ्ग मानेको छ । सोही ऐनको दफा ३५ मा सरकारले मानसिक वा मनोसामाजिक अपाङ्गता भएका व्यक्तिलाई सामुदायिक अस्पताल वा स्वास्थ्य केन्द्रमा राखी उपचार गराउने व्यवस्था मिलाउने र निजलाई औषधी तथा परामर्श नि:शुल्क उपलब्ध गराउने भन्ने व्यवस्था गरेको छ ।
तर, ईश्वरलाई भने यो कानुनले हालसम्म पनि छोएको छैन ।
प्रतिक्रिया 4