+
+
Shares

मिडिया हाउसका गेट छेक्नेबारे सरकारी संयन्त्रलाई अघिल्लै दिन थियो सूचना

८ हजारदेखि, १०/१२ हजार रुपैयाँ क्रेनलाई तिरेर कार्यालय पुर्‍याइएका ती सवारीलाई ५०० जरिबाना तिराएर छाडिएको छ ।

नारायण अधिकारी नारायण अधिकारी
२०८३ असार ३० गते १९:०८
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंका विभिन्न मिडिया हाउसको गेट अगाडि शंकास्पद रूपमा गाडी पार्किङ गरी अवरोध सिर्जना गरिएको घटनाप्रति राज्यको संलग्नता रहेको आशंका गरिएको छ ।
  • मिडिया हाउस अगाडि गाडी पार्किङ गर्नेमध्ये एक व्यक्ति राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रवि जयसवाल रहेको खुलेको छ ।
  • प्रहरीले घटनाको विस्तृत अनुसन्धान नगरी सामान्य ट्राफिक जरिबाना तिराएर सवारी साधन छाडेपछि प्रशासनको भूमिका शंकास्पद देखिएको छ ।

३० असार, काठमाडौं । ‘ठूला मिडिया हाउसमा अवरोध गर्ने सूचना आएको छ । मान्छे खटाउनुस्, पहिचान गर्नुस् ।’

मन्त्रालयबाटै यस्तो सूचना आएपछि गुप्तचरी निकाय चनाखो भयो । र, तत्कालै ठूला मिडिया हाउसको निगरानीमा गुप्तचरी संयन्त्र खटियो ।

‘हामीलाई अवरोध हुने मात्रै भनिएको थियो । कस्तो अवरोध हुने, के हुने भन्ने थिएन । थप बुझ्ने अवस्था पनि भएन । करिब सवा ९ बजेतिरै हामीले टोली खटाएका थियौं,’ घटनाबारे जानकार अधिकारीले अनलाइनखबरसँग भने ।

अवरोध हुने भनिएकाले केही व्यक्तिहरू आउने र हुलहुज्जत गर्न सक्ने, नाराबाजी हुन सक्ने आशंका गुप्तचरी संयन्त्रको थियो । लामो समय निगरानी गर्दा पनि यस्तो हर्कत देखिएन । सूचना गलत रहेको हुन सक्ने आकलन पनि गुप्तचरी संयन्त्रले गर्‍यो ।

तर, केहीबेरमै सोमबार समाचार फैलियो– सञ्चार माध्यमको गेट अगाडि शंकास्पद गाडी पार्किङ । ‘अवरोध हुन सक्ने भनेकाले हाम्रो टोली गाडीतर्फ ध्यान नदिई व्यक्तिको निगरानीतर्फ लाग्यो । सूचना गलत नभई अवरोधको प्रक्रिया नै फरक रहेछ । पछि मात्रै हामीले थाहा पायौं,’ ती अधिकारीले शंकास्पद गाडी पार्किङको पूर्वतयारीबारे अनलाइनखबरलाई भने ।

सुरक्षा निकायलाई ९ बजे अवरोध हुन सक्ने जानकारी गराए पनि यसअघि नै अनलाइनखबर, कान्तिपुर  र हिमालय टेलिभिजनको गेट अगाडि कार पार्किङ गरिएको थियो । बाटो छेकेर कार पार्किङ गरिसकेपछि बल्ल सुरक्षा निकायलाई मन्त्रालयसम्बद्ध अधिकारीले नै जानकारी गराएको सुुरक्षा स्रोतले बतायो ।

‘अवरोध हुने भनिएपछि मिडिया हाउस अगाडि पनि गइयो । पछि गाडीको सबै विवरण पनि ल्याइयो । तर अब घटनाबारे रिपोर्टिङ कसलाई गर्ने ? जहाँबाट हामीलाई खटाइयो त्यहीं जोडिएका मान्छे देखिएपछि हामी चुप लाग्नु पर्ने परिस्थिति आयो,’ उच्च स्रोतले भन्यो ।

यो घटना विवरणले राज्य सञ्चालनमै रहेका व्यक्तिको योजनामा मिडिया हाउस अगाडि गाडी पार्किङ गर्न लगाएर अवरोध खडा गर्ने र पछि आफैं हटाउने दोहोरो चरित्र देखिएको छ ।

अझ यसमा जोडिएका व्यक्तिको पहुँच सरकार र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग देखिन्छ । कतिसम्म भने, मिडिया हाउसमा यसरी गाडी पार्किङ गर्ने व्यक्ति त रास्वपाकै नेता नै रहेको खुलेको छ ।

कान्तिपुर पब्लिकेसन्सको गेटमा शंकास्पद रूपमा राखिएको बा ०१–०३४ च ८४८० नम्बरको गाडी रास्वपाका नेता रवि जयसवालको हो । रवि केही समय अघि मात्रै रास्वपा प्रवेश गरेर सक्रिय राजनीतिमा लागेका थिए । गत जेठ ८ गते उनलाई रास्वपाले केन्द्रीय अनुसन्धान तथा अभिलेखीकरण विभागको सदस्य मनोनीत गरेको थियो ।

अनलाइनखबरदेखि हिमालय टेलिभिजनको गेट अगाडि पार्किङ गरिएका गाडी धनीको सम्बन्ध पनि सत्ता निकट व्यक्तिसँग रहेको देखिन्छ ।

राज्यको संरक्षणविना यसरी कसैले पनि जानी–जानी आफ्नो सवारी साधन मिडिया हाउसको गेटमा लगेर राख्न नसक्ने बुझाइ पूर्वडीआईजी हेमन्त मल्लको छ । अझ त्यसरी गाडी राखेको थाहा पाएर प्रहरी प्रशासनले खबर गर्दासमेत सवारी धनी लिन नआउनुले त झनै राज्य संरक्षित आतंक रहेको पुष्टि हुने उनी बताउँछन् ।

‘झुक्किएर कसैले त्यहाँ पार्किङ गरेको रहेछ भने पनि यत्रो खोजीनीति हुँदा र प्रहरीले सम्पर्क गरेर बोलाउँदासमेत गाडी लिन नआउने भनेपछि यो कसैले आफूखुसी राखेको होइन । राज्यको संरक्षण बिना यस्तो काम हुन सक्दैन,’ उनी भन्छन् ।

गत बिहीबार मुगुका २५ वर्षीय गणेश नेपालीले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि मोटरसाइकल पार्किङ गरेको विषयमा महानगर प्रहरीसँग विवाद भएको थियो । नो पार्किङमा पार्किङ गरेको भन्दै मोटरसाइकलमा ह्विल लक लगाइएपछि उत्पन्न विवादका कारण नेपालीले आत्मदाह प्रयास गरेका थिए । उपचारका क्रममा उनको वीर अस्पतालमा मृत्यु भयो ।

नेपालीले न्याय पाउनुपर्ने विषयदेखि सुकुमवासी समस्या लगायतका बारेमा मिडियाले प्राथमिकता साथ समाचार सम्प्रेषण गरेका थिए । तर ह्विल लकको विरोध गरिएको र ह्विल लक नलगाउँदा कस्तो हुन्छ भन्ने पाठ सिकाउन यस्तो गरेको हुन सक्ने आसय रास्वपाका पूर्वकेन्द्रीय सदस्य मधुसुदन ढकालले सामाजिक सञ्जालमा लेखे ।

त्यसमाथि प्रधानमन्त्री बालेन शाहका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेनद्वारा सञ्चालित ट्रोल नेपाल नामक फेसबुक पेजले यही आसयसहितको छोटो फेसबुक स्टाटस पोस्ट गरेको थियो । यी सबै घटनाक्रमले पूर्वडीआईजी मल्लको भनाइलाई थप पुष्टि गर्न सहयोग गरेको देखिन्छ ।

रास्वपा नेता रवि जयसवाललाई विभागमा मनोनीत भएको पत्र दिँदै तत्कालीन महामन्त्री भूपदेव शाह

त्यसो त, सोमबार दिनभरजसो शंकास्पद गाडी पार्किङले आतंक मच्चिएपछि पनि प्रहरी प्रशासनले घटनाबारे अनुसन्धान नगर्नुले आफैं समस्या निम्त्याउने र आफैं समाधान गरेर मौन रहेको प्रष्ट हुन्छ ।

मिडियादेखि सर्वसाधारणसमेत त्रसित बनेको यो घटनामा सामान्य ट्राफिक जरिबाना मात्रै तिराएर ती शंकास्पद गाडी छाडिएको छ । जबकि, यस्तो आतंकित पार्ने एउटै किसिमको यो प्रवृत्तिविरुद्ध प्रहरीले अनुसन्धान गरेर कारबाही गर्नुपर्ने अपरिहार्य रहेको सीआईबीमा समेत बसेर अवकाश भएका मल्ल बताउँछन् ।

‘यसमा मिडिया हाउसको मात्रै कुरा छैन । यो आतंकको असर आम सर्वसाधारण पनि परेको हुन्छ । कुनै भूमिगत गिरोहको शैलीमा यसरी आतंकित पार्नेविरुद्ध अनुसन्धान नगरी चिट मात्रै काटेर छाड्नुले राज्य नै नागरिकलाई आतंकित पार्न लागेको देखिन्छ,’ मल्ल भन्छन् ।

मिडिया हाउसकै जस्तो शैलीमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको घर अगाडि, अनामनगरस्थित भाटभटेनी अगाडि र केही सडकको बीचमा समेत गाडी राखेर सोमबार उपत्यकाको सडक अस्तव्यस्त बनाउने र नागरिकलाई त्रसित बनाउने काम भएको थियो ।

पछि यी सबै सवारीको व्यवस्थापन प्रशासन आफैंले त गर्‍यो । तर अनुसन्धान गरी कारबाही गर्ने बाटोमा भने मौन बस्यो । यो प्रवृत्तिले समस्या आफैं निम्त्याउने अनि आफैं सवारी हटाएर गर्दै मौन बस्ने प्रवृत्ति देखिएको छ ।

प्रशासनको भूमिका पनि शंकास्पद

यो घटनामा ट्राफिक प्रहरी, नेपाल प्रहरीको भूमिका पनि शंकास्पद देखिएको छ । कतिसम्म भने, अघिल्ला दिनहरूको तुलनामा सोमबार न्यून मात्रामा ट्राफिक प्रहरी सडकमा खटिएको देखिन्थ्यो ।

अघिपछिभन्दा कार्यालय समयमा धेरै जनशक्ति खटाएर ट्राफिक प्रहरीले सवारी व्यवस्थापन गर्दै आएको थियो । तर सोमबार भने त्यो देखिएन । सडकमा ट्राफिकको उपस्थिति न्यून बनाएपछि सडक अस्तव्यस्त बनेको थियो । सवारी जाम पनि भयो ।

आइतबार मात्रै न्युरोड क्षेत्रमा यस्तै अस्तव्यस्त पार्किङदेखि सडक तथा फुटपाथमै पसल राखेर हिँड्ने बाटोसमेत बन्द हुने अवस्था भएको थियो ।

सोमबार बिहानैदेखि मिडिया हाउसको गेट अगाडि बाटो नै अवरुद्ध पार्ने गरी शंकास्पद गाडी पार्किङ गरियो । यसबारे प्रहरी प्रशासनदेखि ट्राफिक प्रहरीलाई जानकारी गराउँदा यो विषय उनीहरूको प्राथमिकतामा खासै परेको देखिएन ।

अनलाइनखबरको गेटमा गाडी छोड्ने सुजन पौडेल (दायाँ) र सुनिल (बाँयाँ) ।

जेनजी आन्दोलनमा ट्राफिक प्रहरीको क्रेन जलेको, ह्विल लक लगाएर छाड्दा फेरि अर्को दुर्घटना पनि हुन सक्ने र क्रेन मगाएर लैजान समय लाग्ने जवाफ काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख तथा एसएसपी सुरेश काफ्लेले दिएका थिए ।

लामो समयपछि बल्ल क्रेनमार्फत ती सवारी तानेर लगिएको थियो । बेलुका ट्राफिक प्रहरीले यसरी अनधिकृत पार्किङ गर्नेलाई कारबाही गरिएको दाबी गर्दै सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएको थियो ।

ट्राफिक प्रहरी प्रवक्ता तथा एसपी नरेशराज सुवेदीले अनधिकृत पार्किङ गरिएका ती सवारीहरूलाई कारबाही गरिएको बताएका छन् । ‘सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ उपदफा १ (ख) अन्तर्गतको कसुर हामीले कारबाही गरेका छौं,’ प्रवक्ता सुवेदीले भने ।

यसअघि भीआईपी, भीभीआईपीहरूलाई चिट काट्दा ट्राफिक प्रहरी आफैंले प्रचारप्रसार गर्ने गरेको थियो । अनि त्यही शैलीमा यसको ग्राफिकसहित नेपाल प्रहरीले आफ्नो फेसबुक पेजबाट गाडी नम्बर र जरिबाना तिराइएका चालकको विवरणसमेत सार्वजनिक गर्दै आएको थियो ।

श्रम संस्कृति पार्टीका सांसद तथा अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)लाई चिट काट्दा पनि उनको फोटोलाई ब्लर गर्दै उनको पूरा नाम नै सार्वजनिक गरिएको थियो ।

तर, हिजो चिट काटिएका भनिएका सवारीको हकमा भने कुनै सवारी धनीको तस्वीर, गाडीको फोटो, सवारी धनीको नाम, नम्बर प्लेटसमेत सार्वजनिक गरिएको छैन । एकै प्रकृतिका घटनामा ट्राफिक प्रहरीले कसैको परिचय खुलाउने, कसैको लुकाउने गरिनाले पनि यो राज्य संरक्षित कदम रहेको आशंकालाई थप बल पुर्‍याएको छ ।

अझ अनौठो विषय त, ८ हजारदेखि, १०/१२ हजार रुपैयाँ क्रेनलाई तिरेर कार्यालय पुर्‍याइएका ती सवारीलाई ५०० जरिबाना तिराएर छाडिएको छ ।

हिजोको घटनामा न्यून उपस्थिति देखिएको ट्राफिक प्रहरी आज मंगलबार भने सडकमा राम्रैसँग उपस्थित देखिएको छ । सोमबारको तुलनामा मंगलबार सवारी जाम तथा सडक अस्तव्यस्त पनि छैन ।

लेखक
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?